Comments Add Comment

खुट्टामा घाउ हुँदा आमामाथि बोक्सीको आरोप, छोराको कुटाइबाट गयो ज्यान

रामअवतार साह

१६ कात्तिक, जनकपुरधाम । भनिन्छ संसारमा सबैभन्दा नजिकको सम्बन्ध आमासँग हुन्छ । आफू भोकै बसेर भए पनि आफ्ना सन्तानलाई खुवाउने र मायाका साथ पालनपोषण गर्ने आमा नै हुन् । तर, तीनै आमालाई कतिपय सन्तानले हेलाको दृष्टिले हेर्छन् र हत्यासम्म गर्न पछि पर्दैनन् ।

सिरहामा एउटा यस्तै घटना भएको छ । यहाँका एक व्यक्तिले जसको कोखबाट जन्म लिए उनैको हत्या गरेका छन् । कर्जन्हा नगरपालिका ३ निवासी ९० वर्षीया सुदामा देवी साहलाई उनको कान्छो छोरा रामअवतार साहले बोक्सीको आरोपमा कुटपिट गरी ज्यान लिएको प्रहरीले जनाएको छ ।

केही दिन अगाडि रामअवतारकी बुहारी मनिषाको खुट्टामा घाउ भएको थियो । घाउ लामो समयसम्म निको नभएपछि आमाले नै बोक्सी लगाएर घाउ बनाएको आरोप उनले लगाए । उनले यो आरोप मात्रै लगाएनन्, निर्घात कुटपिट गर्दै दिसा खुवाउने प्रयाससमेत गरे । ‘दिसा खुवाउनै लाग्दा पुगेको प्रहरी टोलीले बचाएको थियो,’ सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले भने ।

रामअवतारलाई प्रहरीले पक्राउ गरिसकेको छ । शुक्रबार नै प्रहरीको नियन्त्रणमा आएका उनले आफ्नो अपराध पनि स्वीकार गरिसकेकाले ज्यान मुद्दा दर्ता हुने शर्माले बताए ।

सुदामाका दुई छोराहरुमध्ये दुवै अलग्गिएपछि आमा एक्लै बस्दै आएकी थिइन् । गत बुधबार कान्छो छोरा रामअवतारको कुटाइबाट सुदामा घाइते भइन् ।

तत्कालै उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल लगिएको थियो । डाक्टरहरुले उनको घाँटीको हड्डी नै बाँगिएको र यो उमेरमा उपचार हुन नसक्ने भन्दै दुई दिनपछि घर फर्काइदिएका थिए ।

शनिबार उनको स्वास्थ्य पुनः बिग्रिएपछि सिरहा जिल्ला अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment