Comments Add Comment

महंगी र कालोबजारीप्रति संसदीय समिति बेखबर !

१६ कात्तिक, काठमाडौं । चाडपर्वको समयमा बजारमा महंगी अत्यधिक बढे पनि नियन्त्रण गर्ने सरकारी निकाय र अनुगमन गर्ने संसदीय समितिहरु निष्क्रिय रहेको उपभोक्ताहरुले गुनासो गरेका छन् ।

बजारमा चामल, दाल, गेडागुडी, तरकारी, चिउराजस्ता खाद्यवस्तुको भाउ बढे पनि नियन्त्रण र अनुगमन गर्ने निकाय निष्क्रिय रहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन बताउँछन् ।

‘व्यापारीले सरकारलाई प्रभावमा पारेर हदैसम्मको ठगी गरिरहेको छ । कमसेकम मुल्यको त अनुगमन गर्नुपर्दथ्यो । त्यो पनि भएको छैन’ महर्जनको गूनासो छ ।

महंगी र कालोबजारी थाहा पाएर पनि बजार अनुगमन जाने अवस्था नरहेको संसदको उपभोक्ता हित समितिका सचिव झलक शर्मा सापकोटा बताउँछन् ।

‘फिल्डमा जान सक्दा महंगी केही हदसम्म भए पनि नियन्त्रण हुन्थ्यो तर, अवस्था क्रिटिकल छ । विगतमा जस्तो अनुगमन अहिले हुनै सक्दैन । कर्मचारीलाई कोरोना लागेको छ । माननीयलाई पनि लागेको छ’ सापकोटाले भने ।

तथापि, ‘बजार अनुगमन उपसमिति गठन’ गरेर महंगी र कालोबजारीको विषयमा छलफल भने चलाइरहेको उनले बताए ।

सचिव सापकोटा भन्छन्, ‘खाद्यान्नमा महंगीको विषयमा वाणिज्य विभागसँग छलफल भएको छ । म्याद नाघेका वस्तुको बिक्रीका विषयमा छलफल भएको छ ।’

समितिको काम दबाब दिने मात्र रहेको र त्यो काम गरिरहेको उनले बताए । सचिव सापकोटाका अनुसार समितिले अब भने दूधको र पानीको बजार मुल्य अनुगमन गर्ने तयारी गरेको छ ।

यसको अलावा, वस्तुको प्रत्यक्ष बिक्रीको नाममा नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको, म्याद नाघेको, बिग्रेको वस्तु बिक्री गरिरहेको भन्ने गुनासो पनि आएकाले अनुगमन गर्ने सचिव सापकोटा बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment