Comments Add Comment

६० बिघा चक्लाबन्दीमा सामूहिक आलु खेती, ९ सय मेट्रिक टन बीउ उत्पादन गर्ने लक्ष्य 

१७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पहिलोपटक चक्लाबन्दी अनुसार आलुको सामूहिक खेती शुरु गरिएको छ । आयात प्रतिस्थापन र बीउसमेत उत्पादनका लागि किसानलाई व्यवसायिक आलु खेती तर्फ अग्रसर गराउँदै ६० बिघा जग्गामा आलु खेती शुरु गरिएको हो ।

तिलोत्तमा नगरपालिकाको १ करोड १५ लाख, अन्तर्राष्ट्रिय दातृ निकाय युएनडिपीको ९४ लाख र किसानको ५२ लाख रुपैयाँ लागतमा सञ्चालन गरिएको आलुको बिजवृद्धि परियोजनामार्फत् किसानलाई ७५ प्रतिशत अनुदानमा बिउ, मल र कृषि उपकरण उपलब्ध गराइएको छ ।

निर्वाहमुखी खेतीप्रणालीको अन्त्य गरी चक्लाबन्दी र सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न युएनडिपीको सहयोगमा सहकारीमार्फत बिजवृद्धि परियोजना सञ्चालन गरिएको नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए ।

किसानलाई आलुखेतीको बारेमा आवश्यक ज्ञान, सीप प्रदान गर्न कृषि प्राविधिक तथा विज्ञ गरी चारजना र ‘ग्रीन भोलिन्टियर’ (स्वयंसेवक) ६ जना खटाइएको छ । सामूहिक आलु खेतीको नेतृत्व र व्यवस्थापन स्थानीय प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले गरेको छ ।

परियोजनाले समूहलाई ड्याङ्ग बनाउने, उकेरा लगाउने, फसल खन्ने लगायतका काममा प्रयोग हुने १७ लाख मूल्य बराबरका ११ वटा पावर टे«लर मेसिन उपलब्ध गराएको छ ।

व्यवसायिक खेती गर्ने किसानलाई सरकारी अनुदानमा प्राथमिकतामा राखिएको नगरप्रमुख घिमिरेले बताए । ‘घरपरिवारलाई खान पुग्ने मात्र खेती गर्ने किसानले यो वर्ष परियोजनाअन्तर्गत् सात बिघासम्मको एउटै प्लटमा आलु खेती गरेका छन्,’ नगर प्रमुख घिमिरेले भने, ‘चक्लाबन्दी र सामूहिक खेतीले उत्पादन वृद्धिमा फड्को मार्ने र नगरलाई कृषिजन्य उत्पादनमा आत्मनिर्भर बनाउने छ ।’

चक्लाबन्दी आलु खेतीमा विभिन्न वडाका २० वटा समूह आवद्ध भएका र  करिब ९ सय मेट्रिक टन बीउ र ६ सय मेट्रिक टन खाने आलु उत्पादन गर्ने लक्ष्य रहेको   सहकारी संस्थाकी अध्यक्ष सीता न्यौपानेले बताइन् । ‘अर्को वर्ष नगरभरका किसानलाई माग अनुसार आलुको बिउ उपलब्ध गराउने लक्ष्य छ,’ अध्यक्ष न्यौपानेले भनिन्, ‘हरेक वर्ष आलु लगाउने बेलामा गतिलो बिउ नपाएर किसान भौंतारिनुपर्ने समस्या अन्त्य हुने  विश्वास छ ।’

यो वर्ष बिजवृद्धिको लागि अधिकांश क्षेत्रमा पहिलो र दोस्रो पुस्ताको आलु खेती गरिएको र यो वर्ष उत्पादित आलुलाई अर्को वर्ष बीउको रुपमा बिक्री गर्नेगरी कोल्डस्टोरमा राख्नेसम्मको योजना रहेको सहकारीकी व्यवस्थापक जमुना गिरीले  बताइन् ।

यस क्षेत्रमा गुणस्तरीय बीउ उपलब्ध नभइरहेको अवस्थामा परियोजनाअन्तर्गत् उत्पादित बीउले आगामी वर्षहरुमा आलुको उत्पादन वृद्धिमा ठूलो टेवा पु¥याउने नगरपालिकाको अपेक्षा छ । निर्वाहमुखी आलु खेती गरेका किसानले मूल्य चुकाउँदा समेत गुणस्तरीय बीउ नपाउँदा लागतअनुसारको उत्पादन लिन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment