Comments Add Comment

सहकारी सञ्चालकको विवादले सर्वसाधारणको लाखौं रकम जोखिममा

१७ कात्तिक, विराटनगर । सञ्चालक समितिभित्रको विवादका कारण विराटनगरको एउटा सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकम जोखिममा परेको छ ।

विराटनगर महानगरपालिका– ५ जमुनगाछीमा रहेको जमुनेश्वर बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले बचत गरेको रकम जोखिममा परेको हो ।

सहकारीमा स्थानीय सुमन खरेल र उनको परिवारले २४ लाख रुपैयाँ हाराहारी बचत गरेको छ । तर डेढ वर्षयता आफ्नो रकम फिर्ता माग्दा नपाएको उनले बताए ।

पछिल्लो समय सहकारी बन्द गरेर अध्यक्ष र व्यवस्थापक सम्पर्कमा नआएका कारण आफ्नो बचत जोखिममा परेको उनले बताए ।

सहकारीमा जमनुगाछी कै आरती गेलाल र उनको परिवारका सदस्यले पाँच लाख रुपैयाँ बढी रकम जम्मा गरेका छन् । तर फिर्ता माग्दा नपाएको गेलालले बताइन् ।

सुमन र आरतीजस्तै ३५० जना भन्दा बढीले सहकारीमा रकम जम्मा गरेका छन् । तर सहकारीका अध्यक्ष शिव थापा र व्यवस्थापक बाबुराम पोखरेलका कारण बचत जोखिममा परेको उनीहरुके गुनासो छ ।

सहकारीले दुई वर्षदेखि लेखा परीक्षण गराएको छैन । जसका कारण सर्वसाधारणले जम्मा गरेको १ करोड २५ लाख भन्दा बढी रकम जोखिममा परेको सचिव राजेन्द्रपसाद सापकोटाले जानकारी दिए । उनका अनुसार सहकारीबाट २८ लाख हाराहारी रकम मात्रै लगानी भएको देखिन्छ ।

सहकारीमा अध्यक्ष र कार्यसमितिबीच नै विवाद छ । अध्यक्ष बाहेक अन्य कार्यसमिति सदस्य बचत फिर्ता गर्नुपर्ने पक्षमा छन् । तर अध्यक्ष भने व्यवस्थापक पोखरेलका कारण समस्या भएको भन्दै पन्छिदै आएका छन् ।

कार्यसमितिका सदस्य र पदाधिकारीले अध्यक्ष र व्यवस्थापक दुबैले बदमासी गरेको दाबी गर्छन् । सहकारीको उपाध्यक्ष बिमल खरेल र सचिव राजेन्द्रप्रसाद सापकोटाले अध्यक्षले मनोमानी गर्दा समस्या उत्पन्न भएको बताए ।

अध्यक्ष थापा, व्यवस्थापक बाबुराम पोखरेल र सह व्यवस्थापक निशा गौतमले सहकारीको रकम हिनामिना गरेको सञ्चालक समितिका कतिपय पदाधिकारीको दाबी छ ।

बन्द सटर वडा अध्यक्षको रोहबरमा खुल्यो

आन्तरिक विवादका कारण चार महिनायता बन्द रहेको सहकारीको कार्यालय सोमबार वडा अध्यक्षको उपस्थितिमा सहकारीका अध्यक्षले खोलेका छन् ।

सोमबार बिहान विराटनगर महानगरपालिका– ५ का अध्यक्ष मीनकुमार आचार्यको रोहबरमा ताला खोलिएको छ ।

वडा अध्यक्ष मीनकुमार आचार्यले सहकारी नखुल्दा बचतको हिसाब हुन नपाएको अध्यक्षले गुनासो गरेपछि आफ्नो रोहबरमा ताला खोलिएको बताए ।

सहकारीका अध्यक्ष थापाले व्यवस्थापक बाबुराम पोखरेल सम्पर्कविहीन भएका कारण बन्द भएको सहकारी वडा अध्यक्षको रोहबारमा खोलेको बताए । व्यवस्थापक सम्पर्कमा नआउँदा सर्वसाधारणको बचत तिर्न फिर्ता गर्न नसकिएको बताउँदै उनले अब काम अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment