Comments Add Comment

पूर्वराजदूत सुदको सुझाव : सीमा विवादबारे राजनीतिक तहमै कुराकानी गर्नु उचित

१७ कात्तिक, काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत राकेश सुदले सीमालगायत अन्य द्वीपक्षीय विषयहरु अत्यन्त संवेदनशील भएकाले ती विषयमा उच्च राजनीतिक तहमै कुराकानी गर्नु उचित हुने बताएका छन् ।

विदेश मामिलासम्बन्धी थिङक ट्याङक एसियन इन्स्टिच्युट फर डिप्लोमेसी एण्ड इन्टर नेशनल रिलेसन (एआईडीआईए) ले भारतको रक्षा मन्त्रालय मातहतका थिङ्क ट्याङ्क मनोहर परिकर इन्स्टिच्युट अफ डिफेन्स एनालाइसिससँगको सहकार्यमा आयोजना गरेको नेपाल–भारत सैन्य सहकार्यसम्बन्धी एक वेविनारमा बोल्दै सुदले सीमाजस्तो संवेदनशिल विषयमा राजनीतिक तहभन्दा तल छलफल गर्नु उचित नहुने धारणा राखे ।

उनले अगाडि भने,‘दुबै देशमा एकदमै सशक्त प्रजातन्त्र छ, नेपालमा पनि नयाँ संविधान जारी र निर्वाचनपछि राजनीतिक स्थायित्व छ । दुई देशका वीचमा राजनीतिक प्रकृतिको सम्बन्ध छ, जसले सेना–सेनावीचको सम्बन्ध निर्धारण गर्दछ । सीमालगायतका अन्य विवादित विषयहरुमा राजनीतिक तहमा नै छलफल हुनुपर्छ ।’

सुदले नेपाल र चीनका वीचमा विशेष गरी पछिल्ला वर्षहरुका सैन्य सहकार्य बढेको विषयमा पनि अभिव्यक्ति दिए । उनले भने, ‘भारत र चीनको सम्बन्धमा पछिल्लो समयमा आधारभूत परिवर्तन आएको छ र सो परिवर्तित सम्बन्धलाई नेपालले पहिल्याउन आवश्यक छ र त्यो कसरी पहिल्याउँछ, त्यो महत्वपूर्ण हुन्छ । विशेष गरी सन् २०१७ मा नेपाली सेना र चिनियाँ सेनाले पहिलोपटक संयुक्त अभ्यास गरेका थिए । त्यसैगरी चिनियाँ सेनाले नेपाली सेनालाई आर्थिक लगायतका अन्य सहयोगहरु गरेको छ । यदि भारत र चीनका वीचमा द्वन्द्व बढ्दै गयो भने नेपाल–चीन सैन्य सुदृढीकरणलाई भारतमा त्यति सहज रुपमा नलिइन सक्छ ।’

सो कार्यक्रममा बोल्दै नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यातले भारतीय सेनापति एमएम नरवणेको आसन्न नेपाल भ्रमणले राजनीतिक र कूटनीतिक तहमा संवादको वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए । उनले नेपाली सेनाको आधुनिकीकरण विषयमा भारतसँग सिक्न सक्ने बताए । उनले दुई देशको कूटनीतिक सम्बन्धमा सैन्य कूटनीति मेरुदण्ड भएको बताए ।

सुरक्षाविज्ञ गेजा शर्मा वाग्लेले भारतीय सेना प्रमुखको भ्रमणले दुई देशका वीचमा केही महत्वपूर्ण विषयमा वार्ताका लागि भूमिका खेल्न सक्ने बताए । उनले दुईसेनाका वीचमा रहेको विशेष सम्बन्धले समग्र नेपाल–भारत सम्बन्धलाई नै सुदृढ बनाउने बताए । वाग्लेले भने,‘यसखालको भ्रमणले राजनीतिक र कूटनीतिक तहमा विश्वासको वातावरण बनाउन सहयोग गर्छ ।’

नेपाल–भारत विज्ञ डा. निहार नायकले दुई देशवीचको सैन्य सम्बन्ध धेरै पुरानो भएको बताए । उनले भारतीय सेना प्रमुखको भ्रमणले दुई देशका वीचमा विश्वासको वातावरण बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । नायकले भने, ‘सन् २०१५ को नाकाबन्दीको हटाउनका लागि दुवै देशका सेना प्रमुखले तत्कालीन राजनीतिक संस्थापन पक्षलाई कन्भिन्स गरेका थिए । यसपटक पनि सीमा विवादपछि पहिलोपटक उच्च स्तरको भ्रमण हुन गइरहेको छ, यसले विश्वासको वातावरण बनाउन सहयोग गर्छ ।

उनले सेना प्रमुखको भ्रमणपछि दुई देशका परराष्ट्रमन्त्रीले संयुक्त रुपमा नेतृत्व गर्ने संयुक्त कमिसनको बैठक हुने पनि बताए । निहारले भने, ‘सैन्य प्रमुखको भ्रमणमा सीमाबारे कुरा नहोला तर यसले दुई देशका वीचमा असझदारी हटाउन सहयोग गर्छ, किनभने उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गर्दैछन् ।’

नायकले सैन्य कूटनीतिक दुईपक्षीय सम्बन्धको मेरुदण्ड भएको भन्दै भारतीय सेना प्रमुखको भ्रमणले सम्बन्ध सुधारमा भूमिका खेल्ने बताए ।

एआईडीआईएका प्रमुख सुनील केसीले दुई देशका सेनाका वीचमा अत्यन्त सौहाद्र्धपूर्ण सम्बन्ध रहेकाले त्यसले दुई देशको वीचमा रहेको असमझदारी हटाउन सहयोग पुग्ने बताए ।

केसीले भने, ‘सन् २०१५ को नाकाबन्दी अन्त्य गर्नका लागि दुवै देशका सेनाले महत्वपूर्ण भूमिका खेलेका थिए, यसपटक पनि उनीहरुको भूमिका अहम हुन सक्छ ।’

पूर्वराजदूत शम्भुराम सिंखडाले दुई देशको सम्बन्धलाई अझ सुदृढ गर्न आवश्यक भएको बताए । उनले भने, ‘भारतीय सेना प्रमुखको भ्रमण एकदमै महत्वपूर्ण छ । यसले कूटनीतिक र राजनीतिक तहमा वार्ताका लागि ढोका खोल्न सहयोग गर्छ ।’

भारतीय सेनाका अवकाशप्राप्त उपरथी सोकिन चौहानले दुई देशको सेनाको वीचमा एकदमै नजिकको सम्बन्ध रहेको भन्दै भारतीय सेनाले नेपाली सेनालाई जे चाहेको, त्यही दिने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment