+
+
Shares

लिमी लाप्चामा नेपाली भू-भागमै देखिन थाले चिनियाँ सुरक्षाकर्मी

हुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टेककुमार रेग्मीले पनि सो क्षेत्रमा चिनियाँ सुरक्षाकर्मीको भौतिक उपस्थिति देखिएको पुष्टि गरे ।

नरजन तामाङ नरजन तामाङ
२०८२ कात्तिक ११ गते २२:०३

११ कात्तिक, हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी लाप्चास्थित नेपाली भू–भागमै पछिल्लो समय चीनको गतिविधि र निगरानी बढेको पाइएको छ ।

नेपाली भू–भागमा नै चिनियाँ सुरक्षाकर्मीले अनुगमन र माइकिङ गरेर आवतजावतमा अवरोध गर्न थालेको स्थानीयको गुनासो छ ।

नाम्खा–६ को लाप्चा क्षेत्र (लोलुङजोङ) नेपाल र चीनबीच सीमांकनका क्रममा अस्पष्ट रहेको स्थानमध्ये एक हो ।

चिनियाँ पक्षले यो क्षेत्रलाई निषेधित भने पनि विगतदेखि नै त्यहाँ पुगेर तीर्थालुले कैलाश मानसरोवरको दूरदर्शन गर्दै आएको स्थानीय बताउँछन् ।

यही क्षेत्रमा हाल चिनियाँ पक्षको उपस्थिति बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

गत असोज ११ गते सदरमुकाम सिमकोटबाट लिमी लाप्चा हुँदै मानसरोवर–कैलाश दर्शन गर्न गएका २०–२२ जना तीर्थयात्रीमाथि पनि सादा पोशाकका चिनियाँ सुरक्षाकर्मीले माइकिङ गर्दै अघि बढ्न नदिएको सिमकोट गाउँपालिका–१ का स्थानीय अविनाश लामाले बताए ।

‘हामी आफ्नै नेपाली भू–भागभित्र थियौँ तर चिनियाँ सुरक्षाकर्मीले माइकिङ गर्दै अघि बढ्न रोक लगाए,’ लामाले अनलाइनखबरसँग भने ।

उनका अनुसार सिमकोटदेखि ४ वटा बोलेरो जीपमा सवार भएर पुगेका तीर्थयात्रीहरूलाई लिमी लाप्चा नजिकै अघि बढ्न रोक लगाइएको थियो ।

नेपाली भूमि लिमी लाप्चाबाट मानसरोवर-कैलाश दूरदर्शन गर्न पुगेका सिमकोट गाउँपालिका– ६ का राजु रावतले पनि चिनियाँ पक्षले अवरोध गरेको बताए ।

चिनियाँ पक्षहरूले माइकिङ गरेर लिमी फिर्ता जान भनेको उनले गुनासो गरे ।

‘आग्रह गरेर बल्लतल्ल दुई/दुई जनाका दरले लिमी लाप्चाबाट कैलाश-मानसरोवरको दूरदर्शन गर्यौं । तर, केही साथीहरू त दर्शन नै नगरी फर्किनु पर्‍यो,’ उनले भने ।

नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले नेपाली भूमि लिमी लाप्चा दूरदर्शनमा चिनियाँ पक्षले अवरोध गरेको विषयमा गृह प्रशासन र परराष्ट्र मन्त्रालयले नै कूटनीतिक पहल गरेर समाधान गर्नुपर्ने बताए ।

के भन्छन् हुम्लाका सीडीओ ?

हुम्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टेककुमार रेग्मीले पनि सो क्षेत्रमा चिनियाँ सुरक्षाकर्मीको भौतिक उपस्थिति देखिएको पुष्टि गरे ।

तर उनले सो क्षेत्र नेपाली भू–भागमै पर्ने/नपर्ने यकिन भइनसकेको बताए ।

उनले भने, ‘त्यो खुला क्षेत्र हो, परम्परागतरूपमा नेपालीहरू त्यहाँ गएर कैलाश-मानसरोवरको दूरदर्शन गर्ने गरेको पाइएको छ, अहिले चिनियाँ सुरक्षाकर्मीले रोक्न खोजेपछि कुरा उठेको हो ।’

सीडीओ रेग्मीका अनुसार भारतका आध्यात्मिक गुरु तथा इशा फाउण्डेसनका प्रमुख सदगुरु जग्गी वासुदेव समेत मानसरोवरको दूरदर्शनका लागि सो क्षेत्रमा पुगेपछि त्यहाँ चहलपहल बढेको हो ।

स्थानीयको गुनासो आएपछि दुई देशबीचको सीमा रेखाको स्पष्टताका लागि गृह मन्त्रालयमा जानकारी गराइएको सीडीओ रेग्मीले अनलाइनखबरसँग बताए ।

‘असोजको दोस्रो सातातिरै हामीले गृहमा जानकारी गराएका छौं, पुरानो सन्धि सम्झौता अनुसार सीमा रेखा स्पष्ट गर्नुपर्ने देखिन्छ त्यस क्षेत्रमा,’ उनले भने ।

सो क्षेत्रमा नजिकै मानव बसोवास छैन । सिमकोटबाट झण्डै ८० किलोमिटर टाढा पर्ने उक्त क्षेत्रमा मानिसको चहलपहल बढेर चिनियाँ सुरक्षाकर्मीको उपस्थिति देखिएको पनि हुनसक्ने सीडीओ रेग्मी बताउँछन् ।

‘सीमा स्तम्भहरू समेत टाढा टाढा हुन्छन्, मानव बसोबास नभएको क्षेत्र हो, त्यहाँ नजिकै चिनियाँ सैनिकको क्याम्प पनि छ, त्यो निषेधित क्षेत्र पनि हो,’ उनले भने ।

सो क्षेत्रमा संयुक्त सुरक्षा गस्ती सुरु गर्न सशस्त्र प्रहरीले चिनियाँ सुरक्षाकर्मीसँग समन्वय गरिरहेको दाबी गरे । चिनियाँ पक्षबाट पनि सकारात्मक प्रतिक्रिया आएको रेग्मीको भनाइ छ ।

यस्तो छ विगत

नेपाल–चीन सीमाना जोडिएको लाप्चा क्षेत्र पछिल्लो समय मानसरोवर–कैलाश दर्शन गर्न आउने तीर्थयात्रीहरूका लागि प्रमुख प्रवेशविन्दु मानिन्छ ।

भौगोलिक रूपमा त्यहाँबाट नै मानसरोवर र कैलाश पर्वत स्पष्ट रूपमा देखिने भएकाले धेरै नेपाली त्यहाँ पुग्ने गर्छन् । तर पछिल्ला वर्षहरूमा चिनियाँ पक्षले सो भू–भागमा निगरानी कडाइ गर्दै दर्शन गर्न आएका तीर्थयात्रीहरूलाई पटक–पटक अवरोध गर्न थालेका छन् ।

नेपाल र चीन प्रशासित क्षेत्र तिब्बतबीच सीमा निर्धारणका लागि वि.सं. २०१६ चैत ८ गते (२१ मार्च १९६०) मा पहिलो सम्झौता भएको थियो ।

त्यसको आधारमा वि.सं. २०१८ असोज १९ गते (५ अक्टोबर १९६१) मा सीमा सन्धि भएको थियो ।

भौतिक सीमांकन कार्य पूरा गरी वि.सं. २०१९ माघ ७ गते (२० जनवरी १९६३) मा सीमा प्रोटोकलमा दुवै देशका प्रतिनिधिले संयुक्त हस्ताक्षर गरेका थिए ।

१० वटा प्रोटोकलमा सीमा सिद्धान्त अपनाइएको छ । २०१८/१९ सालमा नेपाल र चीनबीच सीमाकंन भएको देखिन्छ । त्यसक्रममा नेपाल र चीनबीच केही भू–भाग लेनदेन भएको छ ।

नेपालको केही भू–भाग चीनतर्फ र चीनको केही भू–भाग नेपालतर्फ आएको छ । चीनबाट नेपालतर्फ २ हजार १३९ वर्गकिलोमिटर र नेपालबाट १ हजार ८३६ वर्गकिलोमिटर भू–भाग चीनतर्फ पर्न गएको देखिन्छ ।

पुराङ/डोङपासहितको ८६० वर्गकिलोमिटर क्षेत्र चीनबाट नेपालतर्फ पर्न आएको तथ्यांकमा छ भने नेपालबाट चीनतर्फ २८७. ५० वर्गकिलोमिटर जमिन चीनतर्फ गएको छ ।

पछिल्लो समय उत्तरी छिमेकी मुलुक चीनसँगको सीमाना नाम्खा गाउँपालिका ६ लिमी लाप्चामा नेपाली भूमिमै समेत चिनियाँ पक्षको निगरानी बढेको छ ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?