 
																			१८ कात्तिक, वीरगञ्ज । सरकारी कार्यालयबाट सूचना माग्दा जिल्ला प्रहरी कार्यालय पर्साले ४ घण्टा नियन्त्रणमा राखेको अभियन्ताहरुले गुनासो गरेका छन् । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्सामा अनियमितता भएको आशंकामा अध्ययनका लागि सूचनाको हक अन्तगर्तत निवेदन दर्ता गराउन गएका २ जनालाई प्रहरीले ४ घण्टा हिरासतमा राखेर छोडेको हो ।
भिश्वा युवा क्लबका अध्यक्ष उदय कुशवाहा र प्रविण मनिपाललाई हिरासतमै राखिएको थियो भने सूचनाको हकका अभियन्ता मनोज रौनियार लगायतलाई बाहिर नियन्त्रणमा राखिएको गुनासो उनीहरुले गरेका छन् ।
आयुर्वेद कार्यालयको आव २०७४÷७५ र २०७५÷७६ का आय–व्ययको विवरण, इन्धन खर्च तथा कर्मचारीहरूको योग्यता प्रमाणित प्रतिलिपि माग गर्दै निवेदन दर्ता गराउने उद्देश्यले उनीहरु कार्यालयमा पुगेका थिए । भिश्वा युवा क्लबले आयुर्वेद कार्यालयमा कर्मचारीहरु नबस्ने, कार्यालयका सामान व्यक्तिको घरमा प्रयोग हुने, कार्यालयमा पारदर्शिता नभएको गुनासो गर्दै सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको छ ।
सूचनाको हक अन्तर्गत निवेदनसहित कार्यालयमा पुगेका बेला ‘अध्ययनपछि दर्ता गर्छु’ भन्दै समय बिताएका कार्यालय प्रमुखले निवेदन दर्ता नगरी प्रहरी बोलाएर पक्राउ गराएको भिश्वा युवा क्बलका अध्यक्ष कुशवाहाले बताए । ‘सूचना माग्दै निवेदन दर्ता गराउन गएका थियौं, टिकट टाँस्नुपर्छ भनेपछि टिकट पनि टाँस्यौं, दर्ता गर्लान् भनेर कुरेर बसेका थियौं,’ कुशवाहाले भने, ‘निवेदन दर्ता गर्नुको साटो प्रहरी बोलाएर पक्राउ गराए ।’
सूचनाको हकका अभियन्ता मनोज रौनियारले सूचना अधिकारीले निवेदन लिएर अध्ययन गर्छु, कार्यालय प्रमुखसँग सल्लाह गर्छु भनेर दर्ता नगरेको बताए । ‘मेरो समेत ९ वटा निवेदन लिएर दर्ता गराउन केन्द्रमा गएका थियौं, अध्ययन गरेर कार्यालय प्रमुखसँग राय लिएर दर्ता गराउँछु भनेका थिए,’ उनले भने, ‘निवेदन दर्ता गर्नुको साटो प्रहरी बोलाएर पक्राउ गराए, दुई जनालाई हिरासतमै राख्यो, हामीलाई परिसर भित्रै बस्नुपर्छ भनेर मूल गेट बन्द गरिदियो ।’
सूचना प्राप्त गर्ने मौलिक हक भएकाले सूचना लिन जाँदा प्रहरीले थुन्नु मानव अधिकारविरुद्धको कार्य भएको युवा अभियन्ता ओम प्रकाश सर्राफले बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजितत कुँवरले भने आयुर्वेद स्वास्थ्य केन्द्रमा सूचना माग्ने बहानामा केही मानिसहरुले होहल्ला गरेको सूचना आएपछि प्रहरी पठाएको बताए । ‘कार्यालयमा होहल्ला गरेको सूचना आएपछि केहीलाई नियन्त्रणमा लिएका थियौं,’ उनले भने, ‘दुवै पक्षलाई बोलाएर कुरा बुझेपछि उनीहरुलाई हिजै छोडिसकेका छौं ।’
जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रमेश मिश्रले भने पुरानै लफडाका कारण प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताएका छन् ।
उनका अनुसार भिश्वा युवा क्लबमा आवद्ध युवाहरुले कात्तिक ४ गते केन्द्रमा सेवा लिन आएका सेवाग्राहीलाई दुर्व्यवहार गर्दै प्रमुख मिश्रलाई समेत हातपात गर्न खोजेका थिए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4