
१८ कात्तिक, कैलाली । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा छुटेका छन् ।
कैलाली धनगढी उपमहानगरपालिका वडानम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी २५ हजार धरौटीमा रिहा भएका हुन् ।
जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि वडाध्यक्ष जोशी २५ हजार धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
२०७५ साल फागुन २० गते भारतीय नागरिक अलियास अन्सारीलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेका भन्दै प्रहरीले बिहीबार वडाध्यक्ष जोशीलाई पक्राउ गरेको थियो ।
उनीसँगै पक्राउ परेका भारतीय नागरिक अन्सारीलाई कारागार चलान गरिएको छ ।
नक्कली प्रमाण पेस गरेर नेपाली नागरिकता लिएको भन्दै उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी प्रवक्ता बिष्टले जानकारी दिए ।
कैलालीको टीकापुरमा बस्दै आएका अन्सारीले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा र खुसीराम चौधरीलाई नक्कली दाजु बनाएर नागरिकता लिएका थिए ।
नक्कली बुवा बनेका पुनिराम चौधरी अहिले पनि फरार छन् । नक्कली दाजु बनेका खुसीराम चौधरीलाई अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी बुझाउन नसकेपछि उनी पनि कारागार चलान भएका छन् ।
भारतीय नागरिकको नक्कली भाउजू बनेकी गीता चौधरी भने साधारण तारेखमा छुटेकी छन् ।
प्रतिक्रिया 4