Comments Add Comment

प्रहरीले सक्यो प्राध्यापक कुटपिट प्रकरणको अनुसन्धान

अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा

१८ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उप–प्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट भएको प्रकरणमा प्रहरीले अनुसन्धान सकेको छ ।

अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाइएको काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार ९ जनालाई प्रतिवादी बनाएर ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा कारबाहीका लागि माग गर्दै अनुसन्धान प्रतिवेदन बुझाइएको हो । सरकारी वकिलले प्रतिवेदन अध्ययन गरेर जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्नेछ ।

प्रहरीका अनुसार प्रकरणमा संलग्न रुपेश शाह, रविनकुमार लामा, सयुस श्रेष्ठ निरज राना मगर र दीपक ओझा पक्राउ परिसकेका छन् भने चार जना अझै फरार छन् । फरार रहनेमा मुख्य योजनाकार मानिएका हरि आचार्य, योगेन्द्र रावलसहित अनिस आचार्य समेत छन् ।

आचार्य र रावल नेपाल विद्यार्थी संघका नेता हुन् । उनीहरुको निर्देशनमा विद्यार्थीहरुले प्राध्यापकलाई कुटपिट गरेको प्रहरी निष्कर्ष छ ।

मुलुकी अपराध संहिताको दफा १८३ मा ज्यान मार्ने उद्योग गरेको स्थापित भए कसूर गर्ने वा गराउने व्यक्तिलाई १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

काठमाडौं प्रहरीका अनुसन्धान अधिकृतहरुले प्रतिवेदनमा प्राध्यापक चलाउनेमाथि बाँसले हानेर हड्डी भाँचिने गरी कुटपिट गर्नुका साथै टाउको लक्षित गरेर प्रहार गरेकाले ज्यान मार्ने प्रयास गरेको स्थापित हुने दाबी प्रतिवेदनमा गरेका छन् ।

प्रतिवेदनमा चलाउनेले हातले छेकेका कारण मात्रै उनको ज्यान जोगिएको भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment