+
+

वीरका चिकित्सकले दिए सामूहिक राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १९ गते १४:५०
फाइल तस्वीर

१९ कात्तिक, काठमाडौं । वीर अस्पतालको आकस्मिक कक्षका १७ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएका छन् ।

कोभिड १९ महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १६ जना मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका हुन् ।

अस्पतालको निर्देशकलाई बुझाएको राजीनामा पत्रमा लेखिएको छ, ‘माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ ।’ धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएको पनि चिकित्सकहरुले पत्रमा उल्लेख गरेका छन् ।

तर, अहिले वीर अस्पतालको आकास्मिक कक्षको उपचार भने सञ्चालनमै रहेको छ । ‘कि हामीले भनेअनुसार काम गर कि राजीनामा देऊ भनेपछि हामीले राजीनामा दिएका हौँ’, डा. भविन्द्र कार्कीले भने, ‘तर, राजीनामा स्वीकृत नहुँदासम्म हामीले काम गरिरहन्छौँ, चिकित्सकको धर्म छाड्दैनौँ ।’ अहिलेसम्म वीर अस्पतालका आकास्मिक कक्ष मेडिकल अधिकृतहरुले नै धानिरहेका छन् । तर, उक्त कक्षमा सुरुवाती चरणमा कोभिड र नन कोभिड दुवै विरामीलाई राखेर उपचार गरिन्छ ।

दसैँ नजिकिँदै गर्दा वीर अस्पतालका चिकित्सकहरुले गत २ कात्तिकमा आन्दोलन गरेका थिए । उनीहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)का पदाधिकारी बसेको कोठामा ताला लगाएका थिए ।

सुरक्षा र कोभिड भत्ताको माग राख्दै १५ दिने म्याद राखेर लिखित माग प्रस्तुत गरिए पनि कुनै सम्बोधन नभएपछि उनीहरुले आन्दोलन गरेका थिए । ‘त्यतिबेला उहाँहरुले थम्थम्याउनुभयो तर, हाम्रो मागलाई पूरै बेवास्ता गर्नुभयो’, डा. कार्कीले अनलाइनखवरसँग भने ।

अस्पतालका डाइरेक्टर डा. केदार सेन्चुरीले भने डाक्टरहरुले काम गर्दैनौँ भन्न नमिल्ने बताउँछन् । उनले माग सम्बोधनको विषयमा पदाधिकारीहरुबीच छलफल भइरहेको पनि उनले बताए । उनले भने, ‘मागहरु सामान्य छन् । कोभिड भत्ता आउन अलि ढिला भएको मात्र हो ।’

हेर्नुहोस् सामूहिक राजीनामा पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?