Comments Add Comment

बाइडनले सुरु गरे ह्वाइट हाउस जाने तयारी

२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडनले जितको औपचारिक घोषणा नहुँदै राष्ट्रपति कार्यालय  ह्वाइट हाउस प्रवेश गर्ने तयारी सुरु गरेका छन्  ।

त्यसका लागि उनले ‘बिल्ड ब्याक बेटर’ नामको ट्रान्जिसन वेबसाइट सुरु गरेका छन् ।

अमेरिकाको राष्ट्रपति निर्वाचनमा जसले जित्छ, त्यही उम्मेदवारले ह्वाइट हाउस जाने तयारी गर्नुभन्दा पहिला आफ्नो एक ट्रान्जिसन टिम (संक्रमणकालीन टिम) गठन गर्छन् ।

अहिलेसम्म अमेरिकामा राष्ट्रपतीय निर्वाचनको विजेताको घोषणा भएको छैन । तर, राष्ट्रपतिका दुवै उम्मेदवार जो बाइडन र डोनाल्ड ट्रम्पले आफूले जितेको दाबी गरिरहेका छन् ।

बाइडनले अहिले सार्वजनिक गरेको वेबसाइटमा लेखिएको छ, ‘अहिले मुलुकले महामारीदेखि आर्थिक गिरावटसम्म, जलवायु परिवर्तनदेखि जातीय अन्यायसम्मका संकट सामना गरिरहेको छ र ट्रान्जिसन टिमले पूर्ण गतिका साथ आफ्नो तयारी गर्नेछ । जसको आधारमा बाइडन-ह्यारिस (बाइडनको उपराष्ट्रपति कमला ह्यारिस) प्रशासनले पहिलो दिनबाट नै काम सुरु गर्न सकोस् ।’

निर्वाचनमा जितेका इलेक्टोरल कलेज प्रतिनिधिहरुले आगामी डिसेम्बर १४ मा राष्ट्रपति र उपराष्ट्रपतिका लागि मतदान गर्नेछन् । उनीहरुको मत जनवरी ६ मा गणना हुनेछ । त्यसपछि संसद्मा नवनिर्वाचित राष्ट्रपतिको घोषणा हुनेछ । जनवरी २० देखि नयाँ राष्ट्रपतिले आफ्नो कार्यकाल सुरु गर्नेछन् ।

आफू राष्ट्रपति बनेको पहिलो दिन नै पेरिस जलवायु सम्झौतामा अमेरिका सामेल हुने घोषणासमेत बाइडनले गरेका छन् । बुधबार आधिकारिकरुपमा अमेरिका यो सम्झौताबाट बाहिरिएको छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment