Comments Add Comment

बालुवाटार र धुम्बाराही आमने-सामने !

२१ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयको बैठक बोलाए । ‘अनौपचारिक’ भनिएको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली त गएनन् नै, तीनजना सचिवालय सदस्य (ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा बादल) पनि सहभागी भएनन् ।

सचिवालयका नौमध्ये पाँच नेता -प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ) सहभागी बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग औपचारिक बैठक बोलाउन सामूहिक आग्रह गर्ने निष्कर्ष निकालेको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार, भोलि (शनिबार) पाँचैजना नेताले प्रधानमन्त्री ओलीलाई भेटेर औपचारिक सचिवालय बैठक बस्न सामूहिक आग्रह गर्ने निर्णय भएको छ ।

स्रोतका अनुसार, प्रचण्डले कार्यकारी अध्यक्षका हैसियतमा सबै सचिवालय सदस्यलाई धुम्बाराही बोलाएका थिए ।

बैठकमा प्रचण्डले बताएअनुसार अर्का अध्यक्ष ओलीले सचिवालयको औपचारिक बैठक राखे पार्टी फुटको घोषणा मान्ने चेतावनी दिएका थिए । त्यही कारण कुनै निर्णय नगर्ने गरी अनौपचारिक बैठक बोलाइएको एक नेताले बताए ।

यो सुझबुझपूर्ण रुपमा चालिएको कदम भएको भन्दै उनले भने, ‘यो खुमलाटारको भेला धुम्बाराही सरेको होइन । पार्टीको बैठक बस्नुपर्‍यो भन्ने हाम्रो प्रस्ताव हो । र, त्यसका लागि सोचविचार गरेर चालिएको पहिलो कदम हो ।’

उनका अनुसार शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली आउँदैनन् भन्ने पूर्वमान थियो । तर महासचिव विष्णु पौडेलसँग ईश्वर पोखरेल र रामबहादुर थापा बादल पनि सहभागी भएनन् ।

त्यसमा पनि पूर्वमाओवादी खेमाका बादलको अनुपस्थितिले विशेष चर्चा पाएको छ । किनकी कात्तिक १६ मा प्रचण्डले बोलाएको खुमलटार भेलामा उनी थिए । तर शुक्रबार प्रचण्डले धुम्बाराहीमा बोलाएको बैठक छाडेर उनी महासचिव पौडेलसँग बेग्लै संवादमा बसेका थिए ।

पार्टीका प्रवक्ता श्रेष्ठले भने कतिपय नेताहरु कार्यव्यस्तताका कारणले अनुपस्थित भएको र कतिपय नेतासँग सम्पर्क हुन नसकेको बैठकपछि पत्रकारहरुलाई बताए ।

ओली पक्षको चासो

पार्टी केन्द्रीय मुख्यालयमै बहुमत सचिवालय सदस्यहरु बसेर निकालिएको निष्कर्षबारे ओलीका तर्फबाट शुक्रबार साँझसम्म कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन ।

तर पहिले खुमलटार, त्यसपछि पेरिसडाँडामा बस्दै आएको बहुमत पक्षधर नेताहरुको बैठक शुक्रबार धुम्बाराहीमै राखिनुलाई ओली पक्षले चासोका साथ हेरेको पाइएको छ ।

साथै प्रधानमन्त्री ओलीकै सहमतिमा अनौपचारिक बैठक राखिएको भनिएपनि ओलीलाई साथ दिँदै आएका नेताहरू पोखरेल, पौडेल र बादलको अनुपस्थिति अर्थपूर्ण छ ।

स्रोतका अनुसार प्रचण्डसहित पाँच नेताले शनिबार लिएर आउने सन्देश र प्रस्तावकै आधारमा अगाडि बढ्ने प्रधानमन्त्री ओलीको तयारीछ । उनी निकट एक नेता भन्छन्, ‘कसरी र कस्तो प्रस्ताव आउँछ, त्यसैअनुसार प्रधानमन्त्रीले निर्णय लिनुहुन्छ ।’

ओलीनिकट रहेका संसदीय दलका उपनेता सुवास नेम्वाङ भने धुम्बाराहीको निर्णयबाट सकारात्मक सन्देश नै गएको प्रतिक्रिया दिए । अनलाइखबरसँग नेम्वाङले भने ‘संवादमार्फत् समस्या हल गर्ने कुरालाई सकारात्मक रूपमा लिनुपर्छ ।’

धुम्बाराही बैठकमा नगएका महासचिव पौडेलले पछिल्ला केही दिनमा आफूले धेरै नेताहरुसँग कुराकानी गरेको र सकारात्मक वातावरण बन्दै गएको बताए । भन्छन्, ‘समस्याको समाधान स्थायी कमिटी बैठकको निर्णय दुवै अध्यक्षले मान्नु हो । उहाँहरुले बैठकको निर्णय मान्दै समस्या हल गर्नुहुन्छ ।’

भोलि आमनेसामने

उचारचढावपूर्ण सम्बन्धमा रहेका नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डवीच पछिल्लो पटक असोज अन्तिम सातादेखि दुरी बढेको छ । कात्तिक १५ मा बालुवाटार पुगेका प्रचण्डलाई प्रधानमन्त्री ओलीले सल्लाहमै पार्टी फुटाउने प्रस्ताव राखेको नेकपापंक्ति तरंगित छ ।

प्रचण्डले सचिवालयका बहुमत सदस्यहरुसँग सघन छलफल गरिरहेका छन् भने प्रधानमन्त्री ओलीले तिक्तता बढेको प्रमाणित हुने गरी अभिव्यक्तिहरु दिइरहेका छन् । प्रधानमन्त्रीसहित उनी पक्षका प्रदेश सरकार बदल्ने तयारी रहेको बुझाइमा रहेको ओली पक्षको बालुवाटारमा दिनुहँ भेला रोकिएको छैन ।

गुटगत छलफलसँगै ओली-प्रचण्डको संवाद पनि जारी छ । बिहीबारमात्रै ओलीसँग भेटेका प्रचण्डले शुक्रबार धुम्बाराहीमा अनौपचारिक बैठक राखेका हुन् । संसदीय दलका उपनेता नेम्वाङले सल्लाहमै धुम्बाराहीमा अनौपचारिक बैठक राखेको बताए । नेम्वाङका अनुसार अनौपचारिक भेलामार्फत् नेताहरुको कुरा सुन्न र सहमति खोज्न ओली-प्रचण्ड सहमत भएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस, कर्णालीका मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वासप्रस्ताव, पर्सा घटना लगायतबाट चिसिएको ओली-प्रचण्डको संवाद पार्टी विभाजनसम्मकै अवस्थामा पुगेको संकेत दिएका प्रचण्ड-माधव पक्ष भने भोलि भेटवार्ताका लागि बालुवाटार जाने निष्कर्षमा पुगेका छन् ।

प्रचण्डले ‘वान अन वान’ नभएर सामूहिक रुपमा ओलीसँग छलफल गर्न चाहेको सन्देश दिन चाहन्छन् । उद्देश्य जेसुकै भएपनि समस्या समाधानका लागि यो अवसर हुनसक्ने एक स्थायी कमिटी बताउँछन् । किनभने, प्रचण्ड-माधव पक्षलाई पनि विभाजनसम्म नपुग्न दबाव ठूलो छ ।

धुम्बाराहीमा अनौपचारिक बैठक बसेका ५ नेताहरु शनिबार बालुवाटार गएपछि दुबै पक्षवीच आमने-सामने छलफल हुने स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment