Comments Add Comment

आईपीएलको फाइनलमा पुग्न दिल्ली र हैदरावाद खेल्दै

२३ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । मुम्बई इन्डियन्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

लिग चरणमा मुम्बई पहिलो र दिल्ली दोस्रो भएको थियो । पहिलो क्वालिफायरमा दिल्लीलाई हराउँदै मुम्बई फाइनलमा पुगेको हो । लिगमा शीर्ष दुईमा रहेको दिल्लीले पहिलो क्वालिफायर हारेपनि अर्को अवसर पाएको हो । यस्तै लिगमा तेस्रो भएको हैदरावादले चौथो भएको बैंगलोरलाई एलिमिनेटरमा पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

दिल्ली र हैदरावाद दुवै जित हात पार्दै फाइनल पुग्ने योजनामा छन् । दिल्ली अहिलेसम्म फाइनल पुग्न सकेको छैन । त्यसैले पहिलो पटक फाइनल पुग्दै इतिहास रच्ने दाउमा छ । सन् २०१६ मा उपाधि जितेको हैदरावाद दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ । २०१८ मा पनि फाइनल पुगेको हैदरावाद चेन्नाईसँग पराजित भएको थियो ।

 लिगमा चरणको अन्तिम तीन खेल जित्दै प्लेअफमा स्थान पक्का गरेको हैदरावादले लो स्कोरिङ खेलमा बैंगलोरलाई पराजित गर्दै उच्च आत्मविश्वास बनाएको छ । उता सुरुवात राम्रो गरेको दिल्ली लिगका पछिल्ला खेलहरुमा लय गुमाउँदै प्लेअफमा पुग्न नै संघर्षरत थियो । अन्तिम लिग खेलमा बैंगलोरलाई पराजित गर्दै दिल्लीले शीर्ष दुईमा स्थान पक्का गरेको थियो । तर पहिलो क्वालिफायरमा दिल्ली मुम्बईविरुद्ध निरीह बनेको थियो ।

फाइनल पुग्दै मुम्बईविरुद्ध बदला लिने हो भने दिल्लीले हैदरावादविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन । लिग चरणका दुवै खेलमा हैदरावादले दिल्लीलाई पराजित गरेको थियो । त्यसैले पनि हैदरावाद अझै आत्मविश्वासी छ ।

हैदरावाद डेभिड वार्न र दिल्ली श्रेयस अयेरको कप्तानीमा मैदान उत्रनेछन् । खेल युएईको अबुधाबीस्थित शेख जायद स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment