Comments Add Comment

आईपीएल : मुम्बई फाइनलमा, दिल्लीलाई अर्को मौका

२१ कात्तिक, काठमाडौं । साविक विजेता मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट २०२० को फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको पहिलो क्वालिफायरमा दिल्ली कयापिटल्सलाई ५७ रन अन्तरले पराजित गर्दै मुम्बई उपाधि नजिक पुगेको हो ।

दिल्लीले दिएको २०१ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । मुम्बई अब लगातार दोस्रो पटक उपाधि जित्नबाट एक जित मात्र टाढा छ ।

उता क्वालिफायरमा पराजित भएपनि दिल्लीले भने फाइनल पुग्ने अर्को अवसर पाउनेछ ।  शुक्रबार हुने सनराइजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोरबीचको एलिमिनेटर खेलको विजेतासँग दिल्लीले दोस्रो क्वालिफायर खेल्नेछ ।

सर्वाधिक चार पटकको च्याम्पियन मुम्बई फाइनल पुगेको यो छैटौं पटक हो । सन् २०१० मा पहिलो पटक फाइनल पुग्दा चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । यस्तै २०१५, २०१७ र २०१९ मा पनि मुम्बई च्याम्पियन बनेको थियो ।

लिगमा पहिलो भएको मुम्बई र दोस्रो भएको दिल्लीबीच क्वालिफायर खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा रहेपनि खेल एकपक्षीय जस्तै रह्यो ।

दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले सूर्य कुमार यादव र इशन किसनको अर्धशतक तथा हार्दिक पाण्ड्याको आक्रामक ब्याटिङ मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर २०० रन बनाएको थियो ।

दोस्रो ओभरको तेस्रो बलमै कप्तान रोहित शर्मा खाता नखोली आउट भएपनि अर्का ओपनर क्विन्टन डि कक र सूर्य कुमार यादवले मुम्बईलाई राम्रो सुरुवात दिलाए । रोहितलाई रविचन्द्र आश्विनले एलबीडब्लु गरे । डि कक र यूर्य कुमारले दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरे । २५ बलमा ५ चौका र १ छक्का सहित ४० रन बनाएपछि डि कक आठौं ओभरको चौथो बलमा रविचन्द्रन आश्विनको बलमा शिखर धवनद्वारा क्याचआउट भए ।

सूर्यकुमार अर्धशतक बनाएर १२औं ओभरमा आउट भए । ३८ बल खेलेका उनले ६ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाए । त्यसपछि क्रिजमा पुगेका काइरन पोलार्ड २ बल खेल्दै शुन्यमा आउट भए भने क्रुनल पाण्ड्याले १० बलमा १३ रन जोडे । सातौं नम्बरमा ब्याटिङ गरेका हार्दिक पाण्ड्या र इशान किसनले इनिङ्सको अन्त्यतिर शानदार ब्याटिङ गर्दा मुम्बईले विशाल लक्ष्य खडा गरेको हो । यी दुईले सातौं विकेटका लागि २३ बलमै ६० रनको साझेदारी गरे । किसनले ३० बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा अविजित रहँदै ५५ रन जोडे । उनले अन्तिम बलमा छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका थिए । हार्दिकले १४ बल खेल्दै अविजित ३७ रन जोडे । त्यस क्रममा उनले ५ छक्का प्रहार गरे ।

दिल्लीका लागि आश्विनले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने फास्ट बलरहरुले राम्रो गर्न सकेनन् । ड्यानिएल साम्स ४ ओभरमा ४४ रन खर्चेर विकेटविहीन रहे । कागिसो रबाडाले पनि ४ ओभरमा ४२ रन खर्चे भने विकेट लिन सकेनन् । अर्का बलर एनरिक नोर्कियले ४ ओभरमा ५० रन खर्चेर १ विकेट लिए । यस्तै मार्कुस स्टोइनिसले १ ओभर बलिङ गर्दा ५ रन खर्चेर १ विकेट लिए  ।

२०१ रनको लक्ष्य पछ्याएको दिल्लीले खराब सुरुवात गर्यो । दिल्लीका लागि मार्कुस स्टोइनिङले अर्धशतक बनाए भने अक्क्षर पटेलले ४२ रन जोडे । कागिसो रबाडाले अविजित १५ रन बनाउँदा कप्तन श्रेयास अयेरले १२ रन जोडे ।

दिल्लीको इनिङ्स ध्वस्त पार्ने क्रममा मुम्बईका जसप्रित बुमराह एक्लैले ४ विकेट लिए ।

ट्रेन्ट बोल्टले पहिलो ओभरमै दुई विकेट लिँदै मुम्बईलाई शानदार सुरुवात दिलाए । दिल्लीले पहिलो रन जोड्न १०औं बल कुर्नुपरेको थियो । जतिबेला टप अर्डरको ३ विकेट गुमाइसकेको थियो । बोल्टले पहिलो ओभरमा ओपनर पृथ्वी श र अजिन्का रहानेलाई आउट गरे । दोस्रो ओभरमा जसप्रित बुमराहले अर्का ओपनर शिखर धवनलाई आउट गरे ।

त्यसपछि कप्तान श्रेयस अय्यर र मार्कुस स्टोइनिसले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर अय्यर पनि १२ रन बनाएर चौथो ओभरको पाँचौ बलमा बुमराहलको बलमा रोहित शर्माद्वरा क्याचआउट भए ।

आठौं ओभरको पाँचौ बलमा दिल्लीले पाँचौ विकेटको रुपमा ऋषभ पन्तको विकेट गुमायो । दिल्लीले ४१ रनमा ५ विकेट गुमाएपछि स्टोइनिसले अक्क्षर पटेलसँग छैटौं विकेटको लागि अर्धशतकिय साझेदारी गरे । दुई खेलाडीले ७१ रनको साझेदारी गर्दा दिल्लीको इनिङ्स केही सम्हालिएको थियो । तर १६औं ओभरको पहिलो बलमा बुमराहले स्टोइनिसलाई बोल्ड गर्दै साझेदारी तोडे । स्टोइनिसले ४६ बल खेल्दै ६ चौका र ३ छक्का मद्दतमा ६५ रन बनाए ।

१६औं ओभरको तेस्रो बलमा बुमराहले ड्यानिएल साम्सलाई विकेटकिपर डे ककबाट क्याचआउट गराए । १६औं ओभरमा बुमराहले कुने रन नदिई २ विकेट लिए । अन्तिम ओभरमा पोलार्डले दिल्लीका अक्क्षर पटेलको विकेट लिए । पटेलले ३३ बल खेल्दै २ चौका र ३ छक्काको मद्दतमा ४२ रन जोडे ।

मुम्बईका लागि बुमराहले ४ ओभरमा १ मेडन राख्दै १४ रन मात्रै खर्चेर ४ विकेट लिए । यस्तै बोल्टले २ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर २ विकेट लिए । क्रुनल पाण्ड्याले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment