Comments Add Comment

भर्चुअल तेक्वान्दोमा कमल र जितबहादुरलाई स्वर्ण

२३ कात्तिक,काठमाडौं । नेपालका कमल श्रेष्ठ र जितबहादुर बोटले ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । कमलले पुरुष ४० वर्षमुनि र जितबहादुरले पुरुष २९ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेका हुन् । कमल गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता हुन् । जितबहादुरले भने सागमा टिम पुम्सेमा कास्य पदक जितेका थिए ।

कमलको समूहमा नाइजेरियाका अकान्डे सामुयलले रजत तथा मल्लवाराचिङ्गे नलका सम्पथ र नेपालका रामकुमार पोखरेलले कास्य जिते ।

यसैगरी जितबहादुरले नेपालका प्रेमबहादुर लिम्बुलाई पछि पारे । नेपालका विवेक राई र मकाउका काई लियोङले तेस्रो स्थानमा चित्त बुझाए । पुरुषकै ५० वर्ष माथिको स्पर्धामा नेपालका ईश्वरमान वज्राचार्यले स्वर्ण जिते । उनले नेपालकै विजय शाहलाई पछि पारे । महिलाको ५० वर्षमुनिको स्पर्धामा नेपालकी निरुकुमारी मगरले स्वर्ण जितिन् । यस समूहमा उनले मात्रै प्रतिस्पर्धा गरेकी थिइन् ।

पुरुष १७ वर्षमुनिको प्रतिस्पर्धामा म्यानमारका साई अङले पहिलो स्थान हात पारे । मलेसियाका एडम सुहाइमीले दोस्रो स्थान हात पार्दा सुरिनेमका यसवीर गोपाल र मलेसियाका याप हानले तेस्रो स्थानमा चित्त बुझाए । महिलाको १४ वर्षमुनिको समूहमा सुरिनेमकी चेएने तिजोई पहिलो, थाइल्यान्डकी कविनतिडा दोस्रो तथा भारतकी विजिता गोश्वामी र मलेसियाकी नारा नुर युसुफले तेस्रो स्थान हात पारे ।

महिला १७ वर्षमाथिको स्पर्धामा भने चार वटै पदक मलेसियाका खेलाडीले जिते । फिलिस चीनले स्वर्ण, इफास हनिफले रजत तथा फराह मदारुस र विलियमिन लिनीले कास्य जिते । महिलाकै ४० वर्षमुनि मेक्सिकोकी अना इस्पिनोसा पहिलो, नेपालकी रेखमाया गुरुङ दोस्रो र भारतकी अर्चना सामपाङ तेस्रो भए ।

पुरुषको ५० वर्षमाथिको प्रतिस्पर्धामा मेक्सिकोका जुआन भेलास्कोले बाजी मारे । उनले नेपालका लक्ष्मणबहादुर ऐरलाई पछि पारे । भारतका प्रमित कुमार र नेपालका राजु नगरकोटीले तेस्रो स्थान हात पारे । पुरुषकै २१ वर्षमुनि मलेसियाका चाङ सुनले स्वर्ण जिते । नेपालका लक्ष्मण श्रेष्ठले रजत जित्दा नेपालकै सुजन चौधरी र कृष्णबहादुर बमजनले कास्यमा चित्त बुझाए । महिलाको २९ वर्षमुनि मलेसियाकी मारर्लियन लियानले बाजी मारिन् । उनले नेपालकी पार्वती गुरुङलाई पछि पारिन् । नेपालकी निर्मला विक र मकाउकी कावा माकले कास्य पदक पक्का गरे ।

च्याम्पियनसिपमा नेपालसहित १९ राष्ट्रका तीन सय ६२ खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । च्याम्पियनसिपमा नेपालका एक सय ९० र हङकङ, मलेसिया, श्रीलंका, भारत, म्यानमार, मकाउ, सुरिनेम, थाइल्यान्ड मेक्सिको, अस्ट्रेलिया, जापान, नाइजेरिया, बंगलादेश, टिमोर, बेलायत दक्षिण कोरिया, फिलिपिन्स र कम्बोडियाका एक सय ७१ खेलाडीले सहभागिता जनाएका थिए् ।

युनाइटेड तेक्वान्दो डोजाङ, सीतापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना भएको हो । च्याम्पियनसिपमा यू–१०, यू–१२, यू–१४, यू–१७, यू–२१, यू–२९, यू–४०, यू–५० र ५० वर्षभन्दा माथिका उमेर समूहमा प्रतिस्पर्धा भएको थियो । महिला तथा पुरुषका लागि एउटै उमेर समूह निर्धारण गरिएको थियो । हरेक उमेर समूहका लागि पुम्सेका छुट्टाछुट्टै बिधा तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment