Comments Add Comment

नेपालगन्ज म्याराथनको विजेता ओलम्पिकमा सहभागी हुन पाउने

२४ कात्तिक, काठमाडौं । नेपालगन्ज म्याराथनको छैटौं संस्करणको विजेताले २०२१ मा जापानमा हुने टोकियो ओलम्पिकमा सिधै सहभागिता जनाउने पाउने भएको छ ।

कोरोना भाइरस महामारीले गर्दा नेपाली खेलकुद गतिविधि प्रभावित भइरहेको बेला स्वास्थ्य मापदण्ड पालना गर्दै आगामी मंसिर ६ गते नेपालगन्ज म्याराथनको छैटौं संस्करण आयोजना हुँदैछ ।

क्रिएटिभ ह्याण्ड्सको आयोजना तथा क्रिएटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा नेपालगन्जको पहिचानको रुपमा स्थापित म्याराथन आयोजना गर्न लागेको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

सरकार र तत्कालीन माओवादी बीचमा मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगञ्ज म्याराथन आयोजना हुने गरेको छ ।

नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त नेपालगन्ज म्याराथन आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट स्वीकृति प्राप्त भइसकेको छ । त्यस्तै म्याराथन विजेताले ओलम्पिकमा सहभागिता जनाउन पाउने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ ।

कोरोना महामारीका कारण एथ्लेटिक्सको ओलम्पिक छनोट हुन नसकेकोले यही म्याराथनलाई छनोटको रुपमा लिन लागिएको हो ।

नेपाल एथलेटिक्स संघका केन्द्रीय अध्यक्ष राजीवविक्रम शाहले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न संघले सघाउने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि ५ वटा संस्करणको सफलतापूर्वक आयोजना गरिसकेको म्याराथनलाई केएल दुगड ग्रुप अन्तर्गत सौरभ आयल मिलको उत्पादन धारा नेपालगन्ज म्याराथनको मुख्य प्रायोजक रहनेछ ।

कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश इभेन्ट भने घटाइएको छ । पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको छ ।

गत वर्ष ५ किलोमिटर महिला तथा पुरुषको स्कुल स्तरीय तथा खुल्ला दौड, त्यसैगरी ८ देखि १२ वर्ष उमेर समूहको पनि दौड र शारीरिक रुपले अशक्तहरुको लागि पनि दौड स्पर्धा समावेश गरिएको थियो ।

कर्पोरेट फन रनमा जनप्रतिनिधि, चिकित्सक, इन्जिनियर, प्राध्यापक, वकिल, शिक्षक, पत्रकार तथा विभिन्न पेशा र व्यवसायीहरुले सहभागिता रहनेछ । खुल्ला म्याराथनतर्फ शीर्ष आठ जना तथा हाफ म्याराथनमा शीर्ष ६ जनालाई नगद तथा आकर्षक उपहारबाट पुरस्कृत गरिनेछ । कर्पोरेट रनका विजेतालाई पुरस्कार प्रदान गरिनेछ ।

नेपालगन्ज उपमहानगरपालिका नजिक बीपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपी चोकमा पूरा हुने म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुनेछन् । म्याराथनमा लुम्बनी, कर्णाली, प्रदेश ७ का खेलाडीहरुले भाग लिँदै आएका छन् ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई र सेनाका नवराज साउद विजेता भएका थिए ।

त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । गत संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपानेले जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment