Comments Add Comment

होटल आइसोलेसन : संक्रमित र सञ्चालक दुवैलाई लाभ

२५ कात्तिक, काठमाडौं । अघिल्लो महिना ठमेलको होटल ट्रेकर्स होमका सञ्चालकका एकजना आफन्तलाई कोरोना संक्रमण भयो । अस्पतालहरुमा बेड खोज्दा कतै पाइएन । सोर्सफोर्स लगाइदिने मान्छे पनि भएनन् । त्यसपछि होटलका सञ्चालकले संक्रमितलाई आफैं राख्ने निर्णय लिए ।

त्यसपछि त आइसोलेसन बस्न पाइन्छ कि भन्दै सोध्न आउन थाले अन्य संक्रमितलाई पनि सेवा दिने आँट आयो । ‘एउटा कोठामा आइसोलेसन बनाउन बन्द होटल खोल्दा धेरै कुरा अस्तब्यस्त थियो’, म्यानेजर सुदीप भट्ट भन्छन्, ‘होटल खुलेपछि बत्ती बल्यो, पानीको पाइपहरु चले, नियमित सरसफाई भयो ।’

अप्ठेरोमा परेको अवस्थामा यसरी पनि चुस्तदुरुस्त हुन सकिने देखेर अरु होटलहरुले पनि आइसोलेसन चलाउने निर्णय लिएको उनी बताउँछन् । ‘आइसोलेसनमा बस्न आउने कोरोना संक्रमितले तिर्ने सेवा शुल्कले सबै खर्च नधाने पनि होटल खुला राख्न सकिएकोमा सबै सन्तुष्ट छन्’, म्यानेजर भट्ट भन्छन्, ‘आइसोलेसन नपाएर हैरान भएका संक्रमितहरुले भरपर्दो सेवा पनि पाएका छन् ।’

भदौ २५ मा कोरोना संक्रमण पुष्टि भएपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सोल्टी होटलको आइसोलेसनमा बसेका थिए । वीरगञ्जका मेयर विजय सारबगी त्यसअघि नै सोल्टीमै आइसोलेसनमा बसेका थिए । तारे होटलको आइसोलेसनमा बस्ने अधिकारीहरु अरु पनि छन् ।

संक्रमित आम नागरिकको लागि सरकारले पर्याप्त आइसोलेसनको व्यावस्था नगरिदिदा अहिले त सस्तो शुल्कका होटल खोज्दै आउनेको संख्या पनि बढेको छ । काठमाडौंका कतिपय होटल भरिभराउ छन् । कतिले छरछिमेकबाट व्यवधान हुने डरले खुलेर नबताए पनि भित्री सम्पर्कका आधारमा संक्रमितहरु राखेर सेवा दिएका छन् ।

सोल्टीबाट सुरुआत

होटललाई व्यवसायिक आइसोलेसनका रुपमा प्रयोग गर्न नेपाल एयरलाइन्सले सुरु गरेको थियो । सरकारले २३ जेठदेखि विदेशबाट नेपालीको हवाई उद्धार शुरु गर्न जिम्मा दिएपछि एयरलाइन्सले उडानमा खटिने कर्मचारीलाई पाँचतारे होटल सोल्टीमा क्वारेन्टिनमा राखेको थियो ।

उद्धारका दौरान नेपाल एयरलाइन्सका एकदर्जन कर्मचारीमा एकैपटक कोरोना संक्रमित भएका थिए । त्योबेला सोल्टी होटलले उनीहरुलाई आइसोलेसनको व्यवस्था पनि गरिदियो । लक्षण देखिएका केहीलाई ह्याम्स अस्पताल सारिएकोमा खर्च निकै बढी भएपछि सोल्टिमै फर्काइयो । उनीहरु सबै होटल आइसोलेसनमै बसेर कोरोनामुक्त भए ।

त्यसपछि सोल्टी होटेल भीआईपीहरुका लागि क्वारिन्टन र आइसोलेन स्थाल बन्न पुग्यो । अहिले त संक्रमण भएका विशष्टि व्यक्तिहरु अन्य तारे होटलका पनि आइसोलेसनमा बस्न पुगिरहेका छन् । मध्यम वर्गका संक्रमितहरु भने पर्यटकीयस्तरका होटलहरुमा बसिरहेका छन् ।

अघोषित सुरुआत

सरकारले कोरोना संक्रमितलाई होटल आइसोलेसनमा राख्नसकिने निर्णय २६ असोजमा गर्‍यो । होटलहरुले भने त्यसअघिबाटै आइसोलेसन सेवा दिन थालिसकेका थिए ।

विदेशबाट उद्धार गरेर ल्याइएका नेपालीलाई क्वारिन्टनका रुपमा प्रयोग भएका होटलहरुले यस्तो सेवा दिइरहहेका थिए । सेवा शुल्क पनि क्वारिन्टनका लागि तोकिए बराबरकै थियो ।

सरकारले संक्रमितलाई होटलमा राख्नसकिने निर्णय गरेपनि आइसोलेसनको मापदण्ड नतोकेकोले हस्तक्षेप हुनसक्ने संभावना थियो । स्थानीयले समेत विरोध गर्नसक्ने भएकोले होटलहरुले आइसोलेशन सेवा थालेको कुरा गोप्य राखेका थिए ।

सरकारले विदेशबाट पीसीआर गरेर आउनेहरु सिधैं होम क्वारिन्टनमा जानसक्ने अर्को निर्णय गरेपछि होटलहरु खाली हुन थालेका थिए । सरकारले काठमाडौंमा सामुदायिक आइसोलेसन बनाउने भनेको थियो । तर, संक्रमितको संख्या दिनदिनै बढ्दै गएपनि सरकारले सामुदायिक आइसोलेसन बनाउन नसक्दा होटलमा आइसोलेसन बस्न जानेको चाप बढ्यो ।

एक व्यवसायीका अनुसार, अहिले काठमाडौंमा कोठा भाडामा लिएर बसेका परिवारका सदस्यलाई कोरेना भए आइसोलेसनका लागि होटल नै पहिलो र अन्तिम विकल्प बनेको छ । सरकारले त अस्पतालमा पनि गम्भीर बिरामीलाई मात्र लिने नीति लिएको छ ।

यो अवस्थामा होटलहरुले मध्यम वर्गले तिर्नसक्ने शुल्क लिएर सेवा दिन थालेपछि सहज पनि भयो । संघ-संस्था र कार्यालयहरुले पनि आफ्ना संक्रमित कर्मचारीलाई यस्ता होटलहरुमा राख्ने गरेका छन् ।

धेरैजसोमा गुपचुप सेवा

होटल संघ नेपाल (हान)का सदस्य युवराज श्रेष्ठका अनुसार अहिले काठमाडौंमा पर्यटकीय स्तरभन्दा माथिका करिव डेढदर्जन होटलमा आइसोलेसन सेवा छ ।

ठमेलको ट्रेकर्स होमले कोरोना संक्रमण पुष्टि भएका नागरिकलाई आइसोलेसन सुविधा दिन भन्दै विज्ञापन नै गरेको छ । जमलस्थित यल्लो प्यागोडा होटलले पनि आइसोलेसन सुविधाको विज्ञापन गरेको छ ।

बागबजारको होलिडेज ताजले पनि संक्रमितलाई घोषित रुपमै आइसोलेसन सुविधा दिएको छ । ठमेल भेगमा मात्र १० वटा होटलले घोषित रुपमै आइसोलेसन सञ्चालन गरेका छन् । अघोषित रुपमा यस्तो सेवा दिन होटल पनि कम छैनन् ।

कतिले संक्रमित राख्ने होटलको रुपमा प्रचार भए भोली पर्यटक नआउँलान भनेर अघोषितरुपमा आइसोलेशन चलाएका छन् ।

संक्रमितलाई सुविधा

यल्लो प्यागोडाको विज्ञापनअनुसार त्यहाँ आइसोलेसनमा बस्ने कोरोना संक्रमितलाई चारपटक खाना-खाजा दिइन्छ, कोठामै चिया-कफीको व्यवस्था छ । अट्याच बाथरुममा तातो पानीको व्यवस्था छ । टिभी र इन्टरनेट सुविधाको अतिरिक्त आवश्यक परे डाक्टरको समेत व्यवस्था होटलले गर्छ ।

हानका सदस्य श्रेष्ठकाअनुसार कोरोना संक्रमित राखेका कतिपय होटलले अस्पतालसँग सम्झौता गरेका छन् । संक्रमितलाई गाह्रो भए तत्काल एम्बुलेन्स बोलाएर अस्पताल लैजाने व्यवस्था छ ।

अधिकांश होटलले यसैगरी सेवा दिएका छन् । होटलको स्तरअनुसार सेवा शुल्क फरक छ । होटल आइसोलेशनमामा बस्दा संक्रमतिले समाजिक अवहेलनादेखि खाना पकाएर खानेसम्मको असहजता झेल्न पर्दैन । त्यसैले लागत ब्यहोर्न सक्नेहरुले आइसोलेशनको लागि होटल रोजिरहेका छन् ।

कतिपय होटलले भने संस्थागत सम्झौता भएका संक्रमितलाई मात्र राख्ने गरेका छन् । त्यस्ता होटलमा सम्झौता भएका कार्यालय वा संस्थाबाहेकका संक्रमितले कोठा पाउँदैनन् ।

होटल आइसोलेसनको मूल्य

होटल संघ नेपाल (हान)का अनुसार बजेट होटलहरुले न्यूनतम ३५ सय रुपैयाँ शूल्क निर्धारण गरेका छन् । संक्रमितले २४ घन्टाको लागि ६ हजारसम्म तिर्दा चारपटक खाना-खाजासहित मध्यस्तरीय आइसोलेसन सेवा पाउँछन् ।

ठूला र तारे होटलहरुले भने न्यूनतम ७५ सय रुपैयाँ शूल्क तोकेका छन् । तारे होटेलमा सुविधा लिएअनुसार शुल्क बढ्छ । होटेलहरुले आइसोलेशनमा धेरै नाफा भने नराखेको हान बताउँछ । सदस्य श्रेष्ठ भन्छन्, ‘होटल खाली नहोस् भन्ने मान्यताले एकदमै कम मुनाफामा सबैले सेवा दिएका छन् ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म देशभर २९ हजार ८३६ जना कोरोना संक्रमित होम आइसोलेसनमा छन् । होटल आइसोलेशनमा रहेका संक्रमितहरु पनि यीमध्ये हुन् ।

कुन होटलमा कति संक्रमित आइसोलेसनमा बसेका थिए र छन् भन्ने तथ्यांक कसैसँग छैन ।

होटलहरुको आफ्नै स्वास्थ मापदण्ड

होटल आइसोलेसनमा बस्दा होटलले बनाएको नियम पालना गर्नुपर्ने व्यवस्था गरिएको छ। होटलमा बसेपछि कोठादेखि तोकिएको क्षेत्रसम्म मात्र जान पाइन्छ । आफूलाई प्याकेजमा उपलब्ध हुने बाहेकको खाना वा अन्य पदार्थ चाहिए छुट्टै भुक्तानी गर्नुपर्ने नियम बनाइएको छ ।

होटलहरुका अनुसार संक्रमित सुहाउँदो सन्तुलित भोजनको व्यवस्था गरिएको छ । अतिरिक्त पौष्टिक आहारका रुपमा फलफूल वा ड्राइफुड खानेभए आफैं व्यवस्था गर्नुपर्छ ।

होटलहरुले आफू बसेको कोठा संक्रमितलाई नै सफा गर्न लगाएका छन् । महंगो सुविधा दिएका होटलहरुले भने सुरक्षा साधनसहित सफाइ कर्मचारी खटाउने गरेका छन् ।

आइसोलेसन चलाएका होटलहरुले आफ्ना कर्मचारीलाई संक्रमितको प्रत्यक्ष सम्पर्कमा नजाने नियम बनाएका छन् । संक्रमित राखिएका कोठामा खाना पुर्‍याउने लगायतका सेवामा खटिएका कर्मचारीहरु घर जान पाउँदैनन् । जानै परे पीसीआर परीक्षण गरेर नेगेटिभ रिर्पोट आएको हुनुपर्ने नियम लागू गरेका छन् ।

एउटै होटलमा कोरोना संक्रमित र अन्य पाहुना राख्ने हो भने छुट्टाछुट्टै भवन हुनपर्ने व्यवस्था नियम छ । त्यस्ता होटेलहरुले कर्मचारीको छुट्टै टोली खटाउने पर्ने हुन्छ ।

खर्च व्यवस्थापनको विकल्प

आइसोलेसन सेवाबाट धेरै होटलले आफ्नो अनिवार्य खर्च जुटाउन थालेका छन् । एक महिनाअघिबाट आइसोलेसन सेवा थालेको होटल होलिडे ताजका सञ्चालक भीमप्रसाद काप्री समस्यामा परेकालाई सुविधा पनि हुने, थला परेको व्यवसायलाई राहत पनि मिल्ने देखेर यो काम गरेको बताउँछन् ।

उनका अनुसार होलिडे ताजले सिंगल कोठाको चारहजार डबल बेड भएका कोठाको ५ हजार लिने गरेको छ । ‘सेवा शुल्क अझै घटाउने विचारमा छौं,’ उनले भने, ‘सबैले तिर्नसक्ने बनाउन पनि जरुरी देखिएकाले शुल्क समायोजन गर्न सकिन्छ कि भनेर हेर्दैछौं ।’

होटलका ६० कोठामध्ये दशैंअघि एकैपटक आधा भरिएको काप्रीले बताए । अहिलेको ‘अकुपेन्सी’ पनि होटलको नियमत खर्च धान्न सक्ने देखिएको उनी बताउँछन् ।

ट्रेकर्स होमका म्यानेजर भट्ट होटललाई ब्युँताइराख्न आइसोलेसनले सहयोग गरेको बताउँछन् । ‘विहानबेलुका होटल आउन पाइएको छ, व्यवसाय खुला देख्दा पनि आत्मविश्वास बढेको छ,’ उनी भन्छन्, ‘ताला लगाएर राख्दा सरसामान बिगि्रएर हुने हानी हुन पाएको छैन । आइसोलेसन सेवाको मुख्य लाभ यही हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment