+
+

नेपाली युवा बने नर्दन तास्मानिया क्रिकेट एसोसिएसनको अम्पायर

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २६ गते १३:१०

तास्मानिया । अष्ट्रेलियाको तास्मानियास्थित लन्चेस्टनमा बस्ने नेपाली युवा विवेक सेढाईँ नर्दन तास्मानियन क्रिकेट एसोसिएनको अम्पायर बनेका छन् ।

चितवन जिल्ला खैरेनी-१० शान्तिनगर घर भई हाल लन्चेस्टन बस्दै आएका २७ वर्षीय सेढाईँ अष्ट्रेलियाको क्लबस्तरीय क्रिकेट म्याचहरुमा अम्पायर गर्ने सम्भवतः पहिलो नेपाली हुन् ।

लन्चेस्टनको मोब्रेमा बस्ने उनी त्यही क्षेत्रबाट अम्पायरिङ गर्न सुरु गरेका हुन् । अस्टेलिया क्रिकेटका पूर्वकप्तान रिकि पोन्टिङ पनि सोही ठाउँबाट क्रिकेट खेल्न सुरु गरेका थिए ।

कसरी बने अम्पायर

सानैदेखि क्रिकेट खेलहरुमा रुचि राख्ने सेढाईँ नेपाल हुँदा पनि सक्रियरुपमा क्रिकेट खेल्ने गर्थे । ‘खेल्ने मात्र होइन, क्रिकेट खेलको म्याचहरु सकेसम्म टिभीमा हेर्न छुटाउथिनँ,’ उनीले आफूलाई क्रिकेट खेलप्रति रुचि कसरी पलायो भन्ने कुरा खोतले, ‘क्रिकेट खेलका नियमहरु मैले टिभी हेरर अथवा पढेर थाहा पाएको हो ।’

‘क्रिकेट खेलप्रति रुचि भएर होला, तास्मानिया आएर पनि क्रिकेट खेल्न छोडिन,’ उनले थपे । उनी सन् २०१७ मा लन्चेस्टन आएका थिए ।

‘पोहोर साल दसैँको टीकाको दिन थियो, नर्दन तास्मानिया क्रिकेट एसोसिएसनले अम्पायरको पोस्टमा भ्याकेन्सी खोलेको कुरा साथीहरुबाट थाहा पाएँ,’ उनी सम्झन्छन्, ‘एप्लाई गरी हेरौं न, के हुन्छ र ?’

ल्यापटप खोले र एसोसिएसनका प्रेसिडेन्ट पिटर ग्रिफिनसमक्ष अम्पायर बन्ने इच्छा राखे ।

‘दृढ इच्छाशक्ति भएपछि नहुने भन्ने हुँदो रहेनछ,’ प्रेसिडेन्टले अन्तरवर्ताको लागि बोलाएको इमेल देखाउँदै उनले भने, ‘अर्को दिन इन्टरभ्युमा बोलायो ।’ अनि सुरु गरे अम्पायरिंङको करिअर ।

अघिल्लो सिजनमा २८ वटा गेम खेलाए

इन्टरभ्युमा पास भएपछि ट्रेनिङ सुरु गरे । ट्रेनिङ सकिएपछि उनको मैदानको यात्रा तय भयो । २०१९ को सिजनमा एसोसिएन अन्तर्गतका भएका करिब ३५ वटा खेलहरुमध्ये उनले २८ वटामा अम्पायरिङ गर्ने मौका पाए ।

एसोसिएसनको टुर्नामेन्टमा तीनवटा क्लबस्तरका खेलहरु हुन्छन् । ग्रेड ए, ग्रेड बी र ग्रेड सी । ग्रेड ए खेलको बिजेता होबार्ट प्रिमियर लिगमा खेल्ने मौका पाउँदा रहेछन् । उनले तीनवटै ग्रेडका खेलहरुमा अम्पायरिङ गरे ।

अघिल्लो सिजनमा वुमन्स टी ट्वान्टी फाइनल र नर्थ क्रिकेटको ४० वर्षभन्दा माथि उमेरसमूहले खेल्ने फाइनल समेत खेलाए । ‘खेल खेलाएपश्चात एसोसिएसन र अन्य अम्पायरहरुबाट राम्रो प्रतिक्रिया आएको थियो,’ उनले भने ।

होवार्ट प्रिमियर लिगमा अम्पायरिङ गर्ने इच्छा

होवार्ट प्रिमियर लिग तास्मानिया क्रिकेटको सबैभन्दा ठूलो क्रिकेट लिग हो । तास्मानिया राज्यभरिका अन्य ठाउँहरुबाट ग्रेड ए जितेर आउनेहरु होबार्ट प्रिमियर लिग खेल्ने रहेछन् । ‘मलाई होबार्ट प्रिमियर लिगमा अम्पायरिङ गर्ने ठूलो इच्छा छ,’ उनले भने, ‘त्यही अनुसारको मेहेनत गरेको छु ।’

यसैबीच नेप्लिज क्रिकेट एसोसिएनका अध्यक्ष रुपक चुडालले नेपाली युवाले अस्टेलियाका क्षेत्रीय स्तरको क्रिकेट खेलहरुमा अम्पायरिङ गर्नु गौरवको विषय भएको बताए । ‘अष्ट्रेलियामा क्रिकेट खेल्ने नेपाली खेलाडीहरु धेरै नै छन्, तर अम्पायरिङ गर्ने सायद कोही थिएनन,’ अनलाइनखबरसँग उनले भने ।

‘यसरी अष्ट्रेलिया क्रिकेट अम्पायरिङमा नेपालीको उपस्थिति हुनु भनेको अष्ट्रेलियामा रहेका नेपाली समुदायका लागि राम्रो सन्देश हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?