Comments Add Comment

नयाँ वायुसेवा कम्पनीले तीन वर्षभित्र उडान सञ्चालन अनुमति लिन पाउने

२६ कात्तिक, काठमाडौं । सरकारले इजाजत प्राप्त वायुसेवा कम्पनीको उडान सञ्चालन प्रमाणपत्र (एओसी) तीन वर्षभित्र लिन सक्ने गरी सहज नीति ल्याएको छ ।

नागरिक उड्डयनसँग सम्बन्धित सेवा सञ्चालन गर्ने संस्था/कम्पनीले अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट इजाजत (लाइसेन्स) प्राप्त गरेको दुई वर्षभित्र उडान सञ्चालन प्रमाणपत्र (एओसी) लिनैपर्ने प्रावधान रहेको छ ।

तर, मन्त्रालयको २० कात्तिकको मन्त्रिस्तरीय निर्णयबाट एओसी लिन सक्ने अवधि एक वर्ष लम्ब्याइको हो । यसले अहिले पाइपलाइनमा रहेका वायुसेवा कम्पनी तथा अन्य संस्थालाई थप एक वर्ष समय अवधि सुविधा प्राप्त भएको छ ।

मन्त्रालयले नागरिक उड्डयनसँग सम्बन्धित संस्थालाई इजाजत दिने सम्बन्धी कार्यविधि, २०६६ मा संशोधन गर्दै यस्तो प्रावधान थप गरेको हो ।

मन्त्रालयबाट इजाजत प्राप्त गरेपछि एयरलाइन्स कम्पनीले तोकिएको न्यूनतम संख्यामा वायुयान भित्राउनुपर्छ । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान संचालन प्रमाणपत्र -एओसी) दिने गर्छ । मन्त्रालयले दिने इजाजतको अवधि भने ४ वर्ष अवधिको हुन्छ । त्यसपछि नवीकरण गर्नुपर्छ ।

काबु बाहिरको परिस्थिति हुनुपर्ने शर्त

मन्त्रालयले एओसी लिनुपर्ने अवधि एक वर्ष लम्याउने क्रममा काबु बाहिरको परिस्थिति पर्न आएमा वा विश्वव्यापी महामारी रोगको संक्रमण बढ्न गई जनजीवन अस्तव्यस्त भएमा मन्त्रालयले निर्णय गर्न सक्ने शर्त थप गरेको छ ।

यस्तो परिस्थितिमा मन्त्रालयले स्थितिको मूल्यांकन गरी इजाजत प्राप्त मितिले वायुसेवा संचालन संस्थालाई बढीमा तीन वर्षभित्र उडान संचालन प्रमाणपत्र प्राप्त गरी वायुसेवा संचालन गर्न स्वीकृति दिने भएको छ ।

कोरोना भाइरसको महामारीकाबीच तत्काल नयाँ एयरलाइन्स र यससँग सम्बन्धी कम्पनी आउने सम्भावना छैन ।

अहिले पाइपलाइनमा रहेका कम्पनीको समेत एओसी प्राप्त गर्ने अवधि सकिने क्रममा छ । सोही समस्या सम्बोधन गर्न यस्तो निर्णय गरिएको मन्त्रालयको भनाई छ ।

तीन वायुसेवा कम्पनी लाभान्वित

वायुसेवा संचालनका लागि अहिले तीन वटा कम्पनीले मन्त्रालयबाट इजाजत पत्र लिएर बसेका छन् । उनीहरुले एओसी पाएका छैनन् । मुस्ताङ एयर, अन्नपूर्ण हेली र आरएस नामक कम्पनीले अब वायुयान भित्राएर प्राधिकरणबाट एओसी लिनुपर्छ ।

तर, महामारी सुरु भएपछि ती कम्पनीले योजना अनुसार जहाज ल्याउन सकेका थिएनन् । मन्त्रालयमा अहिले अन्य कम्पनी भने पाइपलाइनमा छैनन् । यसबाहेक मनोरन्जनात्मक वायुसेवा तथा मनोरन्जनात्मक वायुसेवा प्रशिक्षण संस्थालाई समेत यो प्रावधान मान्य हुनेछ ।
मनोरन्जनात्मक वायुसेवा भित्र इन्जिन जोडिएको वा नजोडिएको हावाको माध्यमबाट तैरने अल्ट्रालाइट, माइक्रोलाइट, प्याराग्लाइडिङ, ह्याङग्लाइडर, हट एयर बेलुनिङ तथा स्काई डाइभसमेत पर्छन् । यस्ता कम्पनीले १ वर्ष भित्र एओसी लिनुपर्ने प्रावधान रहेकोमा अब यो अवधि तीन वर्ष पुगेको छ ।

यो प्रावधानले आन्तरिक वायुसेवा, अन्तर्राष्ट्रिय वायुसेवा, हवाई उडान प्रशिक्षण संस्था (फ्लाइङ स्कुल), वायुयान र वायुयानका पार्टपूर्जा मर्मत सम्भार संस्था र वायुयान मर्मत सम्भार प्रशिक्षण संस्थासमेतलाई समेट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment