Comments Add Comment

पिसीआरको नक्कली रिपोर्ट बनाउने पक्राउ

२६ काात्तिक, नेपालगन्ज । चिकित्सकको हस्ताक्षर चोरेर कोरोना जाँचको नक्कली पिसीआर रिपोर्ट बनाएको आरोपमा बाँके प्रहरीले भेरी अस्पतालका दुई सुरक्षा गार्ड र एक सहयोगीलाई पक्राउ गरेको छ । प्रहरीले बुधबार अस्पतालबाट उनीहरुलाई पक्राउ गरेको हो ।

अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालका अनुसार सुरक्षागार्ड कम्पनीमार्फत अस्पतालको सुरक्षाका लागि खटिएका गार्डसहितका व्यक्ति पक्राउ परेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सुरक्षागार्ड र हेल्परले आकस्मिक कक्षमा चिकित्सकले असहाय बिरामीका लागि लेखिदिने निःशुल्क कोरोना परीक्षण रिपोर्टको नक्कल गरेर अरु बिरामीलाई निःशुल्क पिसीआरको सिफारिस गरिदिन्थे । उनीहरुले बीमा लक्षित गरी ती व्यक्तिले कोरोना नेगेटिभ भएकालाई पोजिटिभ समेत बनाउँदै आएको आरोप छ ।

पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाले कति पैसा लिएर सो काम गर्थे र कतिजनालाई रिर्पोट दिए भन्ने अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

लागुऔषध अफिमसहित दुई पक्राउ

बाँकेमा ७ किलोग्राम अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कोहलपुर नगरपालिका—२ बसपार्कस्थित भेरी गेष्टहाउसको कोठा नं. १०५ वाट अफिमसहित दुई जनालाई पक्राउ गरिएको हो ।

सो होटलमा लागुऔषध अफिमको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाजरकोटको नलगाड नगरपालिका—९ का ४५ वर्षीय जयबहादुर सिंह र सोही ठाउँका ३३ वर्षीय बीरेन्द्रमान सिंहलाई सो परिणामको अफिमसहित पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

सो घटनाबारे थप अनुसन्धान एवं कारवाही प्रक्रियाअघि बढाएको जनाइएको छ । लागुऔषध तथा नियन्त्रण ऐन २०३३ अनुसार प्रतिबन्धित लागुऔषधको कारोबार गर्नेमाथि न्यूनतम १५ वर्ष जन्मकैद र रु पाँच लाखदेखि २५ लाखसम्म जरिवाना तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment