
२६ कात्तिक, काठमाडौं । पशुपति पूर्वीद्वारको सम्मुखमा रहेको ब्रहृमनालमा शवदाहका लागि बुधबार तीन मृतकका आफन्तहरुले पालो पर्खिरहेको दृश्य अत्यन्तै पीडादायी देखिन्थ्यो ।
छेवैमा भस्मेश्वर घाट छ । त्यहाँ पनि चिताहरु खाली थिएनन् । आफूले दर्ता गरेको चिता कहिले खाली होला भनेर शोकाकुल परिवार र आफन्तजन कुरेर बसिरहेको दृश्य निकै नै दर्दनाक प्रतीत हुन्थ्यो ।
पतिवियोगमा विक्षिप्त बनेकी एक वृद्धाले भगवानलाई पुकारिन्, हे भगवान् ! घाटमा आएर पनि कुर्नुपर्ने, यो कस्तो दिन देख्नुपर्यो ?
पछिल्लो समय पशुपति आर्यघाटमा चापका कारण साढे २ घण्टादेखि ३ घण्टासम्म कुर्नुपर्ने अवस्था रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । नजिकै रहेको विद्युतीय शवदाह गृहमा कोरोना संक्रमितको मात्रै शव जलाउन थालेपछि दाउराबाट शव जलाउने घाटमा चाप बढेको पशुपति क्षेत्र विकास कोषका अधिकारीहरूको तर्क छ ।
घाट सेवा सुविधा केन्द्रका प्रमुख कुमार थापा मगर विद्युतीय शवदाहमा कोरोनाबाहेक अरूको शव नजलाउने नीतिले यस्तो स्थिति आएको हुन सक्ने बताउँछन् । ‘घाटमा यसरी चाप किन बढ्यो भनेर हामीले अनुमान गर्न सक्ने कुरा होइन’ उनी भन्छन्, ‘सायद विद्युतीय शवदाहगृहमा कोरोना संक्रमितबाहेक अरुलाई नजलाउने नीति भएर हो कि ?’
कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले विद्युतीय शवदाह गृहमा करिब एक हजारजनाको संख्यामा शव जलाइसकिएको बताए ।
पशुपति क्षेत्र विकास कोषको लेखा शाखामा प्राप्त भएको घाट शुल्कलाई आधार मान्दा असोज ७ गतेदेखि १४ गतेसम्म सात दिनमा पशुपति आर्यघाटमा दाउराबाट २३१ वटा शव जलाइएको तथ्यांक छ । त्यसपछिको साता अर्थात् असोज १४ गतेदेखि २१ गतेको बीचमा २३६ वटा शव जलाएको शुल्क प्राप्त भएको पशुपति कोषको लेखा शाखाले जनाएको छ ।
शुल्क तिर्नेको संख्यालाई आधार मान्दा यो साता २७३ वटा शव जलाइएको कोषको तथ्यांकमा उल्लेख छ । असोज २८ गतेदेखि कात्तिक ५ गतेसम्म सबैभन्दा धेरै २९५ जनाको शव जलाइएको कोषको तथ्यांक छ भने कात्तिकको दोस्रो साता भने २८३ वटा शव जलाइएको थियो । घाट सेवा तथा सुविधा केन्द्रले दिएको तथ्यांक अनुसार कात्तिक १ देखि २५ गतेसम्म १०१९ वटा शव जलाइएको छ ।
केन्द्रका अधिकारीहरूका अनुसार सामान्यतया लकडाउन अघि २० देखि २५ वटा शव दैनिक पशुपति आर्यघाटमा जलाउने गरिएको थियो । यसपालि बढी शव आएकाले केही समय पालो कुर्नुपर्ने भएको हो ।
अहिले आर्यघाटका सबै चितामा अगि्रम बुकिङसमेत बन्द गरिएको छ । त्यसैले पनि शव ल्याएर ब्रहृमनालमा सुताएपछि बल्ल जलाउनको लागि घाटको टिकट काट्ने गरिएको केन्द्रले जनाएको छ । कोषका अधिकारीले अन्य कारणहरु देखाए पनि मृतकका आफन्तहरुले भने कोषले राम्रो व्यवस्थापन नगरेका कारण यसरी पालो कुर्नुपरेको भन्दै दुःखमनाउ गरेका छन् ।
प्रतिक्रिया 4