Comments Add Comment

कोरोना नियनत्रणका लागि ललितपुरमा वडास्तरीय सहजीकरण समिति

२७ कात्तिक, ललितपुर । कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि भन्दै ललितपुर महानगरपालिकाले वडा स्तरीय सहजीकरण समिति गठन गर्ने भएको छ ।

कोरोनाको अझ प्रभावकारी नियन्त्रणका लागि २९ वटै वडामा समिति गठन गर्न लागिएको ललितपुरका मेयर चिरीबावु महर्जनले जानकारी दिए ।

मेयर महर्जनका अनुसार यो समूहले वडाको टोल टोलमा पुगेर घरैपिच्छे कोरोना संक्रमित भए नभएको अनुगमन गर्नेछ । कोरोना कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा विहीबार महानगरमा छलफल भएको थियो ।

छलफलपछि यो निष्कर्ष निकालिएको हो । छलफलमा सहभागी स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ, सीआईसीटी संयोजक महेन्द्र श्रेष्ठले कोरोना नियन्त्रणका लागि समूह गठन प्रभावकारी हुने बताए । उक्त समूहले टोल टोलमा पुगेर घरपिच्छे बिरामी भए नभएको, कस्तो खालका बिरामी भएको एकिन गर्ने बताए ।

मन्त्रालयका डा. अमृत पोखरेलले कोभिड सहजीकरण समूहको अवधारणाबारे बताउँदै एक समूहले धेरैमा ५० घरको निगरानी गर्नुपर्ने बताए । उक्त समूहमा महिला स्वास्थ्य स्वयमसेविका, सामाजिक परिचालक, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय क्लब, आमासमूह तथा गुठीका सदस्यहरु प्राथमिकताका साथ समावेश गर्नुपर्नेछ ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका कोभिड फोकल पर्सन देवी थापा गुरुङले कोरोना संक्रमण नियन्त्रणका लागि ललितपुर महानगरपालिकाले गरेको गतिविधिका बारेमा जानकारी गराएकी थिइन् ।

बैठकमा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थिति थियो ।

त्यसैगरी महानगरको विधेयक समितिका संयोजक श्रीगोपाल महर्जन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायणलाल अवाले, सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक गणेश केसी, पूर्वाधार विकास समितिका संयोजक चन्ऽलाल महर्जन, आर्थिक समितिका संयोजक रवीन्द्र महर्जन, सामाजिक विकास समितिका संयोजक दिनेश कार्की, महानगरका प्रवक्ता राजु महर्जनको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment