Comments Add Comment

सौर्यमण्डलको ‘भ्याकुम क्लिनर’ : वृहस्पती ग्रहबारे रोचक तथ्यहरु

काठमाडौं । हाम्रो सौर्यमण्डलमा रहेका ८ वटा ग्रहका आ आफ्ना विशेषता छन् । यीमध्ये पृथ्वीमा मात्र जीवित वस्तुको अस्तित्व छ ।

सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रहचाहिँ वृहस्पती हो । अंग्रेजीमा यसलाई जुपिटर भनिन्छ । रोमन सभ्यताका एक पौराणिक देवता जुपिटरको नामबाट वृहस्पतीको अंग्रेजी नामाकरण भएको हो । वृहस्पती ग्रहका बारेमा विभिन्न रोचक तथ्य यसप्रकार छन् :

१. वृहस्पती ग्रह सौर्यमण्डलमा सबैभन्दा छोटो दिन भएको ग्रह हो । यसमा ९ घण्टा ५५ मिनेटको एक दिन हुन्छ । वृहस्पतीले सूर्यको परिक्रमा गर्न चाहीँ ४ हजार ३ सय ३३ दिन अर्थात् झण्डै १२ वर्ष लगाउँदछ ।

२. इशापूर्व सातौँ वा आठौँ सताब्दीमै बेबिलोनियन्सहरुले वृहस्पती ग्रह पत्ता लगाएका थिए । त्यसपछि रोमन देवतको नाउँमा त्यसको नाम जुपिटर राखिएको थियो ।

३. सौर्यमण्डलका अन्य सबै ग्रहहरु जोड्दा समेत वृहस्पती ग्रह साढे दुईगुणा ठूलो हुन आउँछ । वृहस्पती ग्रह पृथ्वीभन्दा ३ सय १८ गुणा ठूलो छ ।

४. वृहस्पती ग्रहको पृथ्वीको जस्तो धरातल छैन र यो मूख्यतः ग्यासले बनेको हुन्छ । त्यसैले यसलाई ग्यास जाएन्ट भनिन्छ । यो मुख्य रुपले हाइड्रोजनबाट बनेको हुन्छ र सदैव एमोनियाका मणिभ तथा अमेनियम हाइड्रोसल्फाइडको बादलले ढाकेको हुन्छ ।

५. वृहस्पती ग्रह सौर्यमण्डलमा सूर्य, चन्द्रमा, शुक्र ग्रहपछिको चौथो चम्किलो पिण्ड हो । साथै नाङ्गो आँखाले देख्न सकिने सौर्यमण्डलका पाँचवटा ग्रहमध्ये यो पनि एक हो ।

६. वृहस्पती ग्रहमा विशाल आकारको रातो धब्बा रहेको छ । यो धब्बा वृहस्पतीको भूमध्यरेखा भन्दा दक्षिणपट्टि रहेको छ । वृहस्पती ग्रहमा निरन्तरको आँधीबेहेरीबाट उक्त रातो धब्बा बनेको हो । यो धब्बाको व्यास २४ हजार किलोमिटर रहेको छ । यसलाई ग्रेट रेड स्पट भनिन्छ । यो रातो धब्बा सबैभन्दा पहिले सन् १६६५ मा पत्तालागेको थियो ।

७. वृहस्पती ग्रहका ६७ वटा उपग्रह अर्थात् चन्द्रमा रहेका छन् । गेनिमिड सबैभन्दा ठूलो उपग्रह हो । उक्त उपग्रह ग्यालिलियो ग्यालिलीले पत्ता लगाएका हुन् ।

८. वृहस्पती ग्रहलाई सौर्यमण्डलको भ्याकुम क्लिनर पनि भनिन्छ । वृहस्पतीको गुरुत्वाकर्षण बल निकै उच्च छ । जसका कारण सौर्यमण्डलमा आउने बाहिरी उल्कापिण्डहरुलाई वृहस्पतीले आफुलाई खिचेर आफुमा समाहित गर्दछ । अर्थात् सौर्यमण्डलमा आउने बाहिरी फोहोरका पिण्डलाई सोहोर्ने भएको हुँदा यसलाई भ्याकुम क्लिनर भनिएको हो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment