Comments Add Comment

बंगलादेशसँग नेपाल २-० ले पराजित

Photo Credit : एन्फा

२८ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २-० ले पराजित गरेको हो ।

नेपाल पाँच वर्षपछि बंगलादेशसँग पराजित भएको छ । सन् २०१५ मा मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग १-० ले पराजित भएको थियो ।

बंगलादेशले खेलको दुवै हाफमा एक/एक गोल गरेको हो । खेलको दशौँ मिनेटमै मोहम्मद नविन नेवाज जीवनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । त्यसपछि नेपाल बराबरी गोल फर्काउन प्रयासरत रह्यो । तर दोस्रो हाफमा बंगलादेशले दोस्रो गोल गर्दा नेपालले भने गोल गर्न सकेन । ८०औं मिनेटमा महबुबुर रहमानले एकल प्रयासमा गोलकिपर किरण चेम्जोङलाई समेत छलाउँदै गोल गरे ।

मैत्रीपूर्ण खेलका लागि घरेलु टोलीले तीन साता भन्दा बढी प्रशिक्षण गरेको थियो । नेपालले भने काठमाडौंमा करिब एक साता प्रशिक्षण गरेर बंगलादेश गएको थियो । दुई दिन होटल क्वारेन्टिनमा बसेका नेपालले केही दिन मैदानमा प्रशिक्षण गरेको थियो ।

मैत्रीपूर्ण खेलको सिरिज अन्तर्गत दोस्रो खेल नेपालले बंगलादेशसंग यही नोभेम्बर १७ तारिखमा खेल्नेछ ।

सन् २०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपछि नेपाल र बंगलादेश एक आपसमा भिडेका हुन् । त्यो बेला नेपालले बंगलादेशलाई २-० ले पराजित गरेको थियो । त्यतिबेला पनि नेपालको प्रशिक्षक रहेका बालगोपाल महर्जन यसपटक अन्तरिम मुख्य प्रशिक्षकका रुपमा छन् । कोरोना महामारीका कारण यस पटक नेपाली टिममा भने धेरै खेलाडी परिवर्तन भएको छ ।

तीन खेलाडीको डेब्यु

खेल हारेपनि तीन युवा खेलाडीको डेब्यु नेपालको लागि सकरात्मक पक्षको रुपमा रह्यो । युवा डिफेण्डर विकास खवासले पहिलो रोजाईँमै डेब्यु गरे भने मिडफिल्डर एरिक विष्ट र दर्शन गुरुङले बेन्चबाट मैदान प्रवेश गर्दै डेब्यु गरे । एरिक ४२औं मिनेटमा विक्रम लामाको स्थानमा मैदान प्रवेश गरेका थिए ।

यस्तै दर्शन ६८औं मिनेटमा रवी पासवानको स्थानमा मैदान प्रवेश गरेका थिए । विकास २०७५ सालको ए डिभिजन लिगमा उत्कृष्ट युवा खेलाडी भएका थिए भने दर्शन २०७६ सालको लिगमा उत्कृष्ट युवा खेलाडी बनेका थिए । विकास विभागीय टोली भिभुवन आर्मी क्लबबाट फुटबल खेल्छन् भने एरिक र दर्शन दुवैले एनआरटीबाट खेल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment