Comments Add Comment

रुप फेर्दै मध्यपुरठिमी

बोडेमा अवस्थित पार्कमा रहेको ढुंगे धारो ।

२९ कात्तिक, भक्तपुर । कला सम्पदा र संस्कृतिको धनी भक्तपुर जिल्लाका चार नगरपालिकामध्ये पुरानो नगरपालिकाको हो मध्यपुरठिमी । यहाँ थुप्रै ऐतिहासिक सम्पदाहरु छन् । तर ती सम्पदाहरुले खासै चर्चा पाउन सकेका छैनन् । त्यतिमात्रै होइन, पुर्खाले जोडेर गएका सम्पदाको पनि अस्तित्व धरापमा थियो । पछिल्लो समय सम्पदा संरक्षणको अभियान नै चलेपछि भने मध्यपुरठिमी नगरपालिकाको स्वरुप परिवर्तन भएको छ ।

‘जीर्ण बनेका हाम्रा सम्पदाको संरक्षण र प्रवर्द्धनको लामो पर्खाइलाई जनप्रतिनिधिको आगमनपछि पूर्णता दिने प्रयास जारी छ,’ मध्यपुरठिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठले भने ।

नगरपालिकाले गुरुयोजना बनाएर पाटी, सत्तल, मन्दिर, पुराना दरबार, ढुंगेधारा, पोखरी, प्रवेशद्वार सिँढी र डबली पुरानै मल्लकालीन शैलीमा पुनर्निर्माण तथा मर्मत गरेको मेयर श्रेष्ठ बताउँछन् । श्रेष्ठले भने, ‘विकास र सम्पदाको सवालमा पक्ष प्रतिपक्ष नभएर सबैको सकारात्मक भूमिकाकै कारण मध्यपुरको कला, सँस्कृति र सम्पदाको विकास गर्न सकिएको छ ।’

नेपाल सम्वतका प्रवर्द्धक शंखधर शाख्वाको नामबाट राखिएको मध्यपुरठिमीको शंखधर चोक धेरैजनालाई जानकारी भएको स्थान हो । तर शालिककै पछाडि रहेको डम्पिङस्थल तर्फ भने कसैको ध्यान जान सकेको थिएन । अहिले यो भिरालो स्थानले आकर्षक पार्कको स्वरुप पाएको छ ।

जनताबाट निर्वाचित भएर आएदेखि नै यो डम्पिङस्थल परिवर्तन गर्नुपर्छ भन्ने सोच थियो,’ मेयर श्रेष्ठले भने, ‘स्थानीयवासी र इन्जिनियरहरुसँग छलफल गरेर पार्क बनाउन थाल्यौं ।’

शंखधर चोक नजिक निर्माणको अन्तिम चरणमा रहेको शंखधर पार्क । यो पार्कमा सार्वजनिक बहस तथा ह्याङ्गिङ् गार्डेनको योजना छ ।

इतिहासको कथा बोकेको मध्यपुरठिमीका दुई पोखरी बर्खामा हिलो र हिउँदमा घाँसे मैदानमा परिणत भएका थिए । त्यहाँ राजनीतिक सभा र खेलकुदका गतिविधि हुन्थे । तर अहिले दुईमध्ये एकले पोखरीकै स्वरुप पाइसकेको छ । अर्को पोखरी पनि आफ्नो स्वरुप समात्ने तरखरमा छ । हाल यी पोखरी, मध्यपुरवासीका लागि मात्र नभएर आन्तरिक पर्यटकहरुको रोजाइको स्थान बनेको छ ।

मध्यपुर नगरको मध्य स्थानमा पर्ने एक पोखरी जिर्णोद्धार पश्चात ।

भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा अन्तर्गत बोडेमा मनाइने जिब्रो छेड्ने जात्रा हजारौंको संख्यामा सहभागीता हुन्छ । त्यही जात्रामा जिब्रो छेड्ने स्थान नजिकै रहेको एउटा घर कुनै समय दरबार थियो भन्ने कुरा धेरैलाई जानकारी थिएन होला । अहिले त्यही स्थानमा पुरानै शैलीमा दरबार निर्माण भएको छ ।

दरबार अवलोकन पश्चात मदनसुन्दर श्रेष्ठले भने, ‘यो दरबार बनाउन स्थानीयको ठूलो सहयोग छ । मैले सोचको भन्दा चाँडै यो तयार हुने भएको छ ।

बोडेमा अवस्थित निर्माणाधीन दरबार ।

यस्तै जिब्रो छेड्ने जात्रा हुने स्थान नजिकै पनि पहिले डम्पिङसाइट थियो । तर अहिले त्यहाँ पनि पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणकै क्रममा भए पनि आन्तरिक पर्यटकहरुको रोजाइको स्थल बनेको छ । हरेक वर्ष जात्राको समयमा स्थानीयवासी एक–दुई पटक धर्मकर्मका लागि मात्रै भए पनि जाने सो स्थानमा आकर्षक पार्कका रुपमा निर्मा गरिएको मेयर मदन सुन्दर श्रेष्ठको भनाइ छ ।

बोडेमा अवस्थित पार्कमा रहेको धारामा हात धुँदै नगरप्रमुख मदनसुन्दर श्रेष्ठ ।

मध्यपुरठिमी क्षेत्रका जीर्ण मन्दिर, पाटी र सत्तलको समेत पुरानै शैलीमा जिर्णोउद्धार तथा मर्मत गरिएको छ । यहाँको विष्णु कुण्डले मर्मत पछि रुप फेरेको छ । ‘विष्णु कुण्ड खण्डहरमा परिणत भइसकेको थियो,’ मेयर श्रेष्ठले भने, ‘म बाल्यकालमा यो पोखरीमा पौडी खेल्थेँ । यसको जिर्णोद्धार पछि उदघाटन गर्ने बेलामा पौडी खेल्दा बालापनको याद आयो ।’

धार्मिक तथा ऐतिहासिकरुपले महत्वपूर्ण मानिने विष्णु कुण्ड । यसको अस्तित्व नै मेटिएको थियो । यो पुनः उत्खनन् गरेर बनाइएको हो ।

ठूला सम्पादाहरुको मात्र नभएर साना सम्पदाहरुको समेत योजना बनाएर निर्माण कार्यलाई तीव्रता दिएर पोखरीहरुको उत्खनन गरी पुरानै स्वरुप दिने काम जारी छ । पुराना इनार र ढुंगे धाराहरुको पनि मर्मत गरी गरी पुरानै शैलीमा उपयोगमा ल्याउने काम गरिएको छ ।

मर्मत तथा पुनर्निर्माण गरिएको इनार
मध्यपुर ठिमीका ऐतिहासिक सम्पदाको पुनर्निर्माणको काममा खटिएकाहरु ।
बोडेमा अवस्थित पार्क
पुनर्निर्माण गरिएका ढुंगे धारा
शंखधर साख्वा चोक नजिक निर्माणाधीन पार्क । पहिले यहाँ फोहर फालिन्थ्यो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment