Comments Add Comment

सर्लाहीका चार ठाउँमा आगलागी, ५० लाख बढीको क्षति

३० कात्तिक, जनकपुरधाम । सर्लाहीका छुट्टाछुट्टै चार ठाउँमा आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको छ । व्यक्तिको घर, गोठ, पसल र सार्वजनिक बसमा समेत आगलागी भएको छ ।

जिल्लाको गोडैता नगरपालिका–८ स्थित रोकिराखेको ना.७ ख.३५१५ नम्बरको बसमा बसकै ब्याट्री सर्ट भई शनिबार राति एक्कासी आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।

ब्रहम्पुरी गाउँपालिकामा शनिबारै राति भएको आगलागीबाट एउटा पाडो र ४ वटा बाख्राको जलेर मृत्यु भएको छ । वडा नम्बर १ बस्ने निरज साहको गोठमा बालेको मैनबत्तीबाट सल्किएको आगोले पाडो र बाख्रासहित गोठ जलेर नष्ट हुँदा रु १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

बागमती नगरपालिकामा भएको आगलागीबाट एक जनाको एउटा दुई तले घर जलेको छ । वडा नम्बर १ डुमाजोर निवासी सुनिल तामाङको घरमा बालिएको मैनबत्ती सल्किएर आगलागी हुँदा उनको काठको कच्ची दुई तल्ले घर जलेको छ । आगलागीले रु १० लाख बराबरको क्षति भएको छ ।

यस्तै, बरहथवा नगरपालिकाको एक पसलमा आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ ।

बरहथवा नगरपालिका ७ स्थित बजारमा मोहमद मफुज आलमको आरसी कम्प्लेक्समा मनोज कुसवारले संचालन गरेको सु सेन्टरमा विद्युत सर्ट भई आगलागी भएको छ । आगलागीमा रु १० लाख बराबरको जुत्ता चप्पलहरु ज्लेर नष्ट भएको प्रहरीले जनाएको छ ।

सबै ठाउँको आगोलाई स्थानीय बासी र प्रहरी मिलेर निभाएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment