 
																			नेकपाका दुई अध्यक्षहरुवीचको पत्र द्वन्द्व आन्तरिक द्वन्द्वहरुको प्रकटीकरण मात्र हो। यो कुनै नयाँ कुरा होइन, बरु विभिन्न साना -ठूला सम्वाद, औपचारिक – अनौपचारिक बैठकहरु, अध्यक्षद्वय एवं सचिवालयका सदस्यहरु वीचका मिलापपूर्ण वार्ता र चर्काचर्की आदि सबैमा उठेका विषयहरु हुन् । आज पक्ष र विपक्षमा बाँडिन बाध्य नेकपाका जिज्ञासु कार्यकर्ताहरु सबैलाई यो कुराको धेरथोर जानकारी छ ।
जब आन्तरिक द्वन्द्वहरुलाई समयमै आधिकारिक ब्यक्तित्वहरुले व्यवस्थापन गर्ने कुरालाई महत्त्व दिँदैनन्, एउटा चरण पार गरेपछि त्यो सार्वजनिक भएरै छोड्छ । द्वन्द्वलाई लुकाउन खोज्नु वा पेलेरै अगाडि बढ्न सकिन्छ भन्ने ठान्नु धुँवालाई छोपेर राख्नु जस्तै हो। पार्टीमा देखा परेका समस्याहरुलाई समयमै समाधान गर्न खोजेको भए यो धुँवाले आजको कालो बादल बनाउँदैनथ्यो, मेघ गर्जन हुँदैनथ्यो । पार्टीका नेता – कार्यकर्ता र शुभेच्छुकहरुको मन रुँदैनथ्यो र सरकार पनि दिक्दारी र ग्लानीको विषय बन्दैनथ्यो ।
केपी वा प्रचण्डले राखेका धारणाहरुको सत्यता जाँच गर्ने हाम्रो आधिकारिक निकाय तत्कालका लागि स्थायी कमिटी हुन सक्छ । उठाइएका विषयवस्तुलाई ब्यक्तिसङ्ग जोडेर होइन, त्यसको अन्तरवस्तुभित्र गहिरिएर हेर्ने हो भने समाधान टाढा पनि छैन ।
गत भाद्रमा स्थायी कमिटीले एक प्रतिवेदन अनुमोदन गर्यो र त्यसमा उल्लेख गरेका सिफारिसहरु, जो सर्बसम्मतिले बैठकबाट अनुमोदन गरिएको थियो,लाई सम्बोधन गर्न मितिसहित तोकेर कार्ययोजना बनाई लागू गर्ने हो भने आहिले देखा परेको जटिलता धेरै हदसम्म न्यूनीकरण भएर जान्छ ।
महाधिवेशनको मिति तोकेर मात्र हुँदैन, ब्यवस्थापन गर्नुपर्ने सबै कुराको ठोस कार्ययोजना हुनुपर्दछ। स्थायी कमिटीले आफ्नो प्रस्ताव केन्द्रीय कमिटीमा ल्याई पास भएपछि मात्र त्यसले सम्पूर्ण आधिकारिकता प्राप्त गर्दछ ।
म पार्टीभित्रका बेथिति, असमानता, अपमान, नीतिहीन राजकीय निर्णयहरु, सरकार र पार्टी सन्चालनका गलत तरिकाहरुको आलोचना र सुझाव लागातार दिँदै आइरहेको एक केन्द्रीय सदस्य– आदर्शच्युत बन्दै गैरहेको नेकपाको चश्मदिद गबाह– केही शीर्ष भनिने नेताहरुले हुर्काएको अप -संस्कृत राजनीतिले म कम्युनिस्ट आदोलन विजयोल्लासको उल्लासित सहभागीबाट मलामीमा पो रुपान्तरण हुने हुँ कि भन्ने डरले आज छटपटाइरहेको छु। यो “म” ले लाखौ “म” को प्रतिनिधित्व गरेर “हामीहरु” को महासागर बनाएको छ भन्ने लाग्छ मलाई ।
ठूलो पदमा पुगेका नेताहरुको कमजोरी औंल्याउनु अपराध गरेको सम्झने नेता र कार्यकर्ता उत्पादन गने कारखाना बन्दै गएको नेकपामा आज पनि व्यापक सुधार गर्नसक्ने सामर्थ्य छ।केवल नेताहरु सकारात्मक सोचमा हुनुपर्छ। यही परिवेशमा उभिएर निम्न कामहरु गरौं र पार्टीलाई पुनर्जीवन दिऔं ।
१. केन्द्रका सबै कमिटीहरुको सार्थक बैठक बसौं । बैठकको निर्णयलाई हामी सबैको जित भएको सम्झौं । यो भनिरहनुपर्ने कुरा त होइन, पार्टी निर्णय सबै नेता तथा कार्यकर्को लागि सर्बोपरी हुन्छ । विधानमै त्यही लेखिएको छ- हाम्रो पार्टी सन्चालन विधि नै यही हो, जो मान्दैन, त्यो गलत बाटोमा हिँडेको हुन्छ ।
२. कार्ययोजना र समय तालिका आधारमा काम सम्पन्न गरौ । प्रमुख कुरा हो- नीतिगत सुधारमा, कमिटी प्रणाली सुढृढ बनाउने र पार्टी र सरकारमा सैद्धान्तिक धरातल, न्याय, विवेक, र आन्तरिक सन्तुलनलाई उच्च महत्त्व दिएर काम गर्नु । पद र अबसरहरु पनि द्वन्द्व न्यूनीकरण गर्ने महत्त्वपूर्ण साधनहरु हुन् । तर, विचारको मानकलाई तीलान्जली दिएर नियुक्त गरिएका कुनै पनि नियुक्ति वा अबसरहरुले उर्जा प्रवाह गर्दैन, क्षयीकरण मात्र गर्दछ । आज त्यही भइरहेको छ । पाउने खुशी होला, तर समग्र पार्टी क्षयीकरणतिर ।
३. हिजोदेखि सामजिक सञ्जालहरुमा क प्रचण्डलाई निन्दा गर्नेहरु, चुनौती दिनेहरु र माफी माग्न दबाव दिनेहरुको लाइन लागेको देखेको छु। प्रतिवादको स्वर पनि आउन थालेको छ। यो लाइनमा सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरु पनि उभिएको देखेर छक्क परेको छु।
म मन्दबुद्धिको मानिस तपाईंहरुको “तीक्ष्ण बुद्धि” का अगाडि नतमस्तक भएँ। किन यसो गर्नु हुन्छ? आफ्नो कमिटीको सर्वसम्मत निर्णय लागू गर्न नसक्नेहरुको सिँगौरी किन ? तपाइहरुलाई पार्टी निर्णय हरुको पालना नगर्ने र गर्न नदिनेलाई औंला ठड्याउन नसक्ने हुतिहारा र लम्पसारवादीहरुको विभूषण प्राप्त गर्न प्रतिस्पर्धा नगरौं । यो पार्टीमा न प्रचण्डलाई लखेटेर सिध्याउन सक्नुहुन्छ, न र एक्ल्याउन। न त यहाँहरुलाई कसले सिध्याउन सक्छ ।
वरिष्ठ नेता माधव नेपालले विगत लामो समयदेखि पार्टीमा राख्नुभएका असहमति र सुझावहरुलाई समयमा सम्बोधन गरेको भए आजको यो अवस्था आउने नै थिएन । उहाँले राख्नु भएका प्रस्तावहरुलाई जति धेरै नजरअन्दाज गर्दै जानू भयो । उहाँ र उहाँको मतलाई राम्रो ठान्नेहरुको खिल्ली उडाउन थाल्नुभो, त्यति नै रोगमा जटिलता बढदै गयो ।आज क. माधवकै एजेण्डामा नेकपाको राजनीतिले परिक्रमा गरिरहेको छ, हैन र ? यो दुई प्रवृत्तिको वीचको संघर्षका रुपमा आज विकसित भएको छ ।
के यो पार्टीमा माधव नेपाल र झलनाथहरुलाई समाप्त पार्न सक्नुहुन्छ? आखिर मिल्नु नै छ भने विचारसम्मत र न्यायसङ्गत सम्झौता नै सर्बोत्तम विकल्प हो। त्यो दिशामा जान नचाहनेको पक्षमा उभिएर बोल्नुले तपाईंहरुको ब्यक्तित्वलाई पनि फिका फिका बनाइरहेको छ।
४. प्रथम, शक्तिशाली र सर्बश्रोत सम्पन्नले त्यो अमूक “कमजोर ” पात्रहरुले मजस्तो “बलियो” लाई सफल हुन दिएन, काम गर्न दिएन, उसका कारणले मैले राम्रो काम गर्न सकिनँ भन्न मिल्दैन। यदि उनीहरु “बलियो” लाई हल्लाउन, तह लाउन सक्छन् भने उनीहरु कमजोर होइनन्, समान बलिया हुन् ।
तसर्थ कम्युनिस्ट आदोलनको हितको खातिर बोल्नुहोस। केपी र प्रचण्डका दुबै लेखोटहरु फिर्ता गराउन बोल्नुहोस् ।तर, लेखोटमा उल्लेख गरिएका प्रवृत्तिहरूको वस्तुवादी निदान खोजौं। लेखोट फिर्ता हुँदा मन माझिने त हैन, भावनात्मक एकता हुन त बानी नै सुध्रनुपर्छ। प्रवृत्ति सुधार गर्न लाग्नुहोस् न । किन लखेट्नुहुन्छ अरुलाई ? के फुट्ने नै हो र ? मूल्य मन्न्यताको अनुसरण गर्दा सजिलै समाधान हुने समस्यालाई “अब एकै ठाउँमा बस्न नसक्ने” राजनीतिक विनाशको नारकीय यात्रातिर लाने हो र ?
५. न केपी ओलीले प्रधानमन्त्री पद छोडदा देश बर्बाद हुन्छ, न अर्को कोही आएर देश एकाएक झलमल्ल हुन्छ। विकास एक लामो प्रक्रिया हो, जसको प्रस्थान बिन्दुबाटै त्यस्को भविष्यको रुपरेखा कोरिन थाल्छ। आज बाटो पक्रेन र जनताको विश्वास जित्न सकिएन, चिन्ता यही नै हो।
जनताको न्युनतम सन्तुष्टिको लागि दत्तचित्त भएर लागेमा जनताले माया गर्छन् । विश्वास गर्छन। यसका लागि पार्टी र सरकार नीति निर्माण र कार्यान्वयनम सृजनात्मक र एकाकार भएर लाग्नु पर्दछ। यही भएन र दिक्दारी बढ्दैछ। यो काम केपी ओलीले नै गरे हुन्थ्यो भनेर प्रधानमन्त्री चयन गरेको, सक्नु भएन ।
समीक्षा गरौं न । न पार्टी मिलाउन सक्नु भो, न सरकार राम्रोसँग चलाउन सकेको देखियो। पार्टी नमिले सरकार राम्रोसँग चल्न सक्दैन भन्ने सन्सारकै धेरै दृष्टान्त दिन सकिन्छ। सकेसम्म उहाँले नै चलाउनु उत्तम । सक्नुहुन्न भन्ने सल्लाहले नै देश र कम्युनिस्ट आन्दोलनको भलाइका लागि प्रधानमन्त्री पद त्याग गर्नुभए गौरवको विषय हुने थियो ।
पार्टीभित्र पनि यही नियम लागू हुन्छ। सकेको र नसकेको उहाँलाई सोधेर हैन, डरले काँपेर हैन, समग्र विश्लेषणका आधारमा गरौं। निर्बैयक्तिक बनौं । पार्टी पनि अस्तब्यस्त, सरकार पनि अस्त व्यस्त । तर, केही मित्रहरु तै पनि जयगानमा नै मस्त । कुनै जनादेशको बहानावाजीमा वा सदाकाल लाभ लिने र सत्तारोहण गरिरहने केही पात्रहरुको अगस्ती- स्वप्नाहरुको रक्षा लागि हामी कम्युनिस्ट आन्दोलनलाई नै ब्यक्तिको साथमा सती पठाउने महाभूल नगरौं ।
आदरणीय कमरेडहरु, संयम नगुमाउनुहोस्।
सबै तनावलाई घृणाले हैन प्रेमले शून्यमा झार्न सकिन्छ।स्वार्थले हैन, सिद्धान्तनिष्ट आदर्श र त्यागले मात्र लामो समयसम्म मित्रताको अँगालोमा बाँध्न सकिन्छ।
अरुलाई जित्न सक्नुहोला, राम्रो कुरा हो । तर, आफू हार्न तयार नहुने विजयले अन्ततः तानाशाहको जन्म दिन्छ।
(खतिवडा नेकपाका केन्द्रीय सदस्य हुन्)
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4