Comments Add Comment

म्हःपूजा किन र कसरी गर्ने ?

आजबाट नेपाल संवत् ११४२ सुरु हुँदै छ । यस दिनलाई नेवार समुदायले नयाँ वर्ष अर्थात् न्हुँदका रूपमा मनाउँदै आइरहेका छन् ।

नेवार समुदाय उसै पनि आफ्ना जात्रा, पर्व तथा उत्सवहरूलाई धुमधामका साथ मनाउन चिनिएको समुदाय हो । त्यसैले नयाँ वर्ष पनि उनीहरू भव्य रूपमा मनाउँछन् ।

यस दिनको मुख्य विशेषता भनेको म्हःपूजा अर्थात् आत्मा पूजा हो । म्हःपूजा आफूले आफैँलाई पुज्ने पर्व हो ।

आफ्नो पूजा किन गर्ने ?

भगवान्को बास यत्रतत्र हुने हुनाले आफूभित्र पनि भगवानको बास हुन्छ भन्ने विश्वासबाट यो पूजाको प्रचलन सुरु भएको मान्यता छ ।

नयाँ वर्षमै यो पर्व मनाउनुको उद्देश्य भने गत वर्ष आफूले गरेका दुष्कर्म र पापबाट आफूलाई शुद्ध पारेरसुस्वास्थ्य, दीर्घायु र समृद्धिका लागि कामना गर्दै सकारात्मक सोचका साथ नयाँ वर्षलाई स्वागत गर्नु रहेको संस्कृतिविद्हरू बताउँछन् ।

कहिले ?

यो पूजा हरेक वर्ष तिहारको चौथो दिन अर्थात् भाइटीकाको अघिल्लो दिनपर्छ । चन्द्रमास अनुसार यो दिन कार्तिक शुक्ल प्रतिप्रदा तिथि हो ।

यसै दिनबाट नेपाल संवत्को पहिलो महिना -कछला) सुरु हुन्छ । तिथि विवादका कारण यो वर्ष केहीले आइतबार नै मनाए भने केहीले सोमबार यो पर्व मनाउँदैछन् ।

म्हःपूजा प्रायः साँझपख गरिन्छ भने केहीले ज्योतिषी तथा पुजारीहरूसँग परामर्श लिएर पूजाको साइत जुराई पूजा गर्छन्।

नेवार समुदाय अन्तरगत नै केही समुदायले भने यो पूजा बिहानीपख गरेर दिनभर व्रत बस्ने गरेका पनि छन् ।

कसरी ?

यस पूजाका लागि प्रायः हातैले बनाइने मण्डलले बिशेषतः तीन, सात वा नौ तत्त्वहरू चित्रण गर्दछन् । म्हःपूजा मण्डलमा नौ ओटा चित्रहरू हुनुपर्दछ भन्ने अधिकांशको मान्यता छ । ती चित्रहरू हुन् ः नागको प्रतिबिम्ब, कमल, रेसमको कपडा, अमृत, एक जोडी माछा, एउटा छाता र देब्रे शङ्ख ।

हिरण्यवर्ण महाविहारका पूजारी दीपक गुर्जूका अनुसार यी प्रतीकहरूमा गहिरो अर्थ लुकेको छ । उदाहरणका लागि, नागको प्रतिबिम्बलाई हीराभन्दा पनि बहुमूल्य मानिन्छ र यसले मानिसहरूलाई रोगव्याधिबाट मुक्त बनाउँछ भन्ने मान्यता छ ।

जसरी हिलोबाट निस्केको भएता पनि कमलको फूल त्यसबाट अलग हुन्छ, त्यसरी नै मण्डलमा बनाइएको कमलरूपी स्वरूपले मानिसलाई रोग, दोष र मोहबाट अलग राख्न प्रेरित गर्छ । साथै यसलाई हेर्दा मात्र पनि भाग्य बलियो हुन्छ भन्ने विश्वास छ ।

त्यति मात्रै होइन, पूजाको अन्त्यमा दिइने सगुनले पनि छुट्टै महत्त्व राख्दछ । सामान्यतः सगुनका रूपमा उसिनेर भुटेको अण्डा र माछा दिइन्छ । प्रतीकात्मक हिसाबले माछा र अण्डा दुबै विपरीत हुन् ः माछा जलको प्रमुख प्राणी हो भने अण्डा आकाशमा उड्ने चराको उत्पत्ति स्रोत हो । अण्डा र माछालाई सगुनका रूपमा दिएर परिवारकी जेठी महिलाले सम्पूर्ण परिवारजनको ज्ञानदर्शन प्राप्तिको कामना गर्दछन् ।

मौलिकता हराउँदै

पुजारी गुर्जू म्हःपूजाको विधिमा मौलिकता हराउँदै गएको गुनासो गर्छन् । आहिले प्रायः सहरतिर मण्डलमा गाईको गोबरको सट्टामा रातो माटोले लिपिन्छ । अझ केहिले त पानसको सट्टामा मैनबत्ती बाल्छन् ।

यसले सहरी मानिसहरूमा पूजाको मौलिकता झल्काउन समय र साधन दुबैको अभाव भएको प्रस्ट देखिन्छ ।

गुर्जूका अनुसार उनका हजुरबुबाको पालामा मानिसहरूले मण्डलमा पुरै नौ प्रतीक र स्वरूपहरू बनाउँथे र सातै तत्त्वहरू राख्थे ।

तर आजभोलि भने मानिसहरूले मुस्किलले खैरो चामल, धान र लाबा गरी मुस्किलले तीन तत्त्वहरू राख्ने गरेका छन् ।

पूजाविधि तथा मनाउने शैली परिमार्जित हुँदै आए पनि यस पूजाको सार भने यथावत् नै छ । प्रायः लक्ष्मी पूजाको भोलिपल्ट मनाइने म्हःपूजामा एक सुन्दर सांस्कृतिक ˆयुजन छ, जसमा अघिल्लो दिन पुजिने लक्ष्मीको पनि उपासना गरिन्छ ।

नेवारहरू उत्सुकताका साथ यस चाडको लागि प्रतीक्षा गर्छन् र यसलाई भव्यताका साथ मनाउँछन् । न्हुदँ वर्षको यस्तो दिन हो, जुन दिन व्यक्तिहरू आफूले आˆनो जीवनमा पाएका सफलता र असफलतालाई नियाल्न पाँउछन् र अगामी दिनहरूका लागि आशावादी हुन्छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment