Comments Add Comment

पेरुले पायो एक सातामै तीन राष्ट्रपति

२ मंसिर, काठमाडौं । पेरुको संसद्ले फ्रान्सिस्को सागास्तीलाई मुलुकको नयाँ राष्ट्रपतिको रुपमा चयन गरेको छ । पछिल्लो समय पेरुमा बढ्दो राजनीतिक संकटको बीचमा सागास्तीलाई नयाँ राष्ट्रपति चयन गरिएको छ । पेरुमा देखिएको व्यापक विरोध प्रदर्शनको कारण पछिल्लो साता दुई राष्ट्रपतिले कार्यालय छाडिसकेका छन् । ७६ वर्षीय सागास्ती आगामी अप्रिलमा राष्ट्रिय निर्वाचन नहुँदासम्मका लागि पेरुको राष्ट्रपति बनेका हुन् ।

यसअघि पेरुका राष्ट्रपति मार्टिन भिज्कारालाई महाभियोग लगाइएर पदबाट हटाइएको थियो । त्यसपछि राष्ट्रपति बनेका म्यानुअल मारिनोले राष्ट्रपतिको शपथ लिएको पाँच दिनमा नै आइतबार पदबाट राजीनामा दिएका हुन् । भिज्कारालाई पदबाट हटाइएसँगै पेरुमा आन्दोलन चर्किएको हो । उनी पेरुका धेरै नागरिकमाथि लोकपि्रय छन् । उनलाई भ्रष्टाचार तथा संसदीय प्रक्रियामा हस्तक्षेप गर्न खोजेको आरोपमा महाभियोग लगाइएको हो । पेरुमा राष्ट्रपतिको बहिर्गमनपछि निस्किएको आन्दोलनमा परी दुईजनाको मृत्यु भएको थियो ।

राष्ट्रपतिमा निर्वाचित भएसँगै सागास्तीले यो उत्सव मनाउने दिन नरहेको बताए । पेरु कोरोना भाइरस (कोभिड-१९)को महामारीबाट नराम्ररी प्रभावित बनेको मुलुक हो । साथै यो मुलुक अहिले शताब्दीयताकै खराब आर्थिक संकुचनतर्फ अघि बढिरहेको छ । यस्तो अवस्थामा सागास्तीलाई मुलुकमा राजनीतिक स्थिरता कायम राख्नु अर्को चुनौती हुने विश्लेषकहरुले बताएका छन् । मंगलबार सागास्तीले अन्तरिम राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्नेछन् ।

सागास्तीको पार्टी मोराडो पार्टीले भिज्काराको महाभियोगविरुद्धमा मतदान गरेको थियो । त्यसैले सागास्तीलाई अन्तरिम राष्ट्रपतिको रुपमा चयन गरिएको हो ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment