Comments Add Comment

महाधिवेशनतिर अग्रसर कांग्रेस, विवाद भने कायमै

३ मंसिर, काठमाडौं । महाधिवेशनको मिति हेरफेरबारे पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आआफ्नै अडानका बीच २८ कात्तिकमा बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताबारे ‘कट अफ डेट’ मंसिर मसान्तलाई तोकेको थियो ।

मंसिर मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण गरिसक्ने केन्द्रीय कार्यसमितिको निर्णयले पार्टीलाई १४ औं महाधिवेशनतर्फ अग्रसर गराएको कांग्रेस नेताहरूले बताएका छन् ।

यद्यपि अरु पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूको क्रियाशील सदस्यता वितरण, अधिवेशन गर्न नसकेका भ्रातृ तथा शुभेच्क्षुक संगठन र विभागको हकमा के गर्ने भन्ने विवाद कायमै छ ।

२८ कात्तिकमा केन्द्रीय कार्यसमिति बैठक बस्दासम्म देउवा पक्ष आगामी फागुन ७–१० का लागि तोकिएको महाधिवेशनको मिति सहमतिमै सार्न चाहन्थ्यो । तर पौडेल समूह आफूले उठाएका १६ बुँदेबारे निर्णय नभई यसबारे निर्णय नगर्ने अडानमा रह्यो ।

नेताहरूका अनुसार यदि त्यो दिन क्रियाशील सदस्यता वितरण र नवीकरणबारे निर्णय नगरिएको भए करिव ६० जिल्ला प्रभावित हुने थिए र, १४औं महाधिवेशनलाई अझ अनिश्चिततातिर धकेलिने सम्भावना  हुन्थ्यो ।

कांग्रेसका एक प्रभावशाली नेता भन्छन्, ‘कट अफ डेट तोकिएपछि जिल्ला–जिल्लामा क्रियाशीलको काम भइरहन्छ । यो अवधिमा हामी केन्द्रमा विवादित विषयमा सहमति खोज्दै गर्छौं ।’

यसबारे सानो समूहमा छठलगत्तै छलफल सुरु हुने नेताहरू बताउँछन् । यसका लागि दुई महामन्त्री डा. शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै देउवा समूहबाट उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य रमेश लेखक, पौडेल समूहबाट अर्जुननरसिंह केसी, बलबहादुर केसी र डा. मिनेन्द्र रिजाल तथा कृष्ण सिटौला पक्षबाट उनी वा गगन थापा सहभागी हुनेछन् । आवश्यकता अनुसार अरू नेता पनि सहभागी हुने बताइएको छ ।

नेताहरुले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूलाई दिइएको क्रियाशील सदस्यतासम्बन्धी सहमति खोज्नुपर्नेछ । आफ्नो नेतृत्वको समितिले गरेका हरेक निर्णयमा खुला रुपमा छलफल गर्न आफू तयार रहेको उपसभापति निधिले बताएका छन् ।

यस्तै, अधिवेशन गर्न नसकेको भातृ संगठनबाट महाधिवेशन प्रतिनिधित्व कसरी गराउने, शुभेच्छुक संगठनहरूमा देखिएको विवाद र विभाग गठनबारे पनि सहमति खोज्नुपर्नेछ । देउवाले महाधिवेशनको प्रक्रिया सुरू भइसकेपछि विभागहरू गठन गरेकाले खारेज गर्नुपर्ने पौडेल समूहको माग छ । तर देउवा सहमत छैनन् ।

विवादित विषयहरूमा सानो समूहमा हुने छलफलले टुंगो लगाएपछि केन्द्रीय कार्यसमिति बैठक बोलाइने बताइएको छ । केन्द्रीय कार्यसमिति बैठकले विवादित मुद्दाहरू किनारा मात्र लगाउने छैन, केन्द्रमा क्रियाशील सदस्यता छानविन समिति पनि गठन गर्नेछ ।

यो समितिको संयोजक रमेश लेखक हुनेछन् । शीर्ष नेतृत्वबीच नरहरि आचार्यलाई संयोजक बनाउने सहमति भएपनि स्वास्थ्य लगायतका कारण देखाउँदै उनी तयार भएनन् । त्यसपछि देउवा निकट मानिएका लेखकलाई अरुले स्वीकारेका छन् ।

यो समितिमा धेरै विवाद नआए एक महिनामा काम सकिसक्ने नेताहरूको दाबी छ ।

महाधिवेशन फागुन मसान्त कि जेठ ?

पूर्वनिर्धारित मिति फागुन ७–१० मा महाधिवेशन सम्भव छैन भन्ने कांग्रेसको सबै पक्ष स्वीकार गर्छन् । तर फागुनमा नभए कहिले भन्नेमा भने फरक मत छ ।

पूर्वमहामन्त्री कृष्ण सिटौलाले सार्वजनिक रुपमै र पार्टीका बैठकहरूमा पनि जेठमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका बनाउनुपर्ने मत राख्दै आएका छन् । पछिल्लो समय सभापति देउवा निकट नेताहरूले पनि जेठ भन्न थालेका छन् ।

तर पौडेल समूह भने महाधिवेशनको मिति जेठमा सार्न तयार छैनन् । मंसिर मसान्तसम्म क्रियाशील सदस्यता वितरण तथा नवीकरण गरिसक्ने नयाँ निर्णयपछि फागुन मसान्तमै पनि महाधिवेशन गर्न सकिने सम्भावना देखिएको नेताहरू बताउँछन् ।

एक नेता भन्छन्, ‘मंसिरको कट अफ डेटलाई पुससम्म लब्याउँदा पनि छानविन समितिले एक महिनामा काम सक्ने हो भने फागुन मसान्तमै महाधिवेश गर्न सकिन्छ ।’

क्षेत्रीय अधिवेशनले महाधिवेशन प्रतिनिधिहरू छनोट गर्ने भएकाले जिल्ला र प्रदेशको अधिवेशन नभए पनि हुने केन्द्रमा महाधिवेशन हुनसक्ने उनीहरूको तर्क छ । यो विषयमा पनि आगामी केन्द्रीय कार्यसमितिमा थप छलफल हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment