Comments Add Comment

कोभिडको मारमा ‘काँठ अर्थतन्त्र’

Photo Credit : फाइल तस्वीर

४ मंसिर, काठमाडौं । यसवर्ष काठमाडौं उपत्यकामा आलुको भाउ हालसम्मकै सबभन्दा बढी छ । मुख्य होलसेल बजारमा रु.६७ देखि ७३ रुपैयाँ किलोसम्ममा आलु बिक्री भइरहेको छ । जबकी गतवर्ष यही बेला आलुको औसत होलसेल मूल्य रु.३३ देखि ६० रुपैयाँ थियो ।

यसको अर्थ, काठमाडौंमा आलु आपूर्ति गर्ने कृषि क्षेत्रमा केही गडबडी भयो । लाखौं आन्तरिक पर्यटक पुग्ने काठमाडौं वरपरका होटल, रिर्सोट र होम स्टेहरू पनि कोरोना भाइरस (कोभिड-१९)को मारमा परे । यसको प्रत्यक्ष प्रभाव किसान, व्यावसायी र उपभोक्तामा परेको छ ।

काँठको अर्थतन्त्र

संघीय राजधानी काठमाडौं उपत्यकामा करिब ५० लाख जनघनत्व रहेको अनुमान छ । यहाँका मानिसको आवश्यकता, रुची, मनोरञ्जन, अन्तराष्ट्रिय पर्यटक आवागमन, उपभोग शैैली आदिको आधारमा वरपरका क्षेत्रमा आर्थिक गतिविधि सञ्चालन हुन्छ ।

धुलिखेल, नगरकोट र पालुङका होटल तथा रिसोर्ट, ककनी, गल्छी र पाँचखालको तरकारी, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र मकवानपुरमा किसानले उत्पादन गर्ने दूध, नौबिसे, रानीपौवा र बनेपामा पालिने कुखुरा र यसले पाउने बजारलाई काँठ अर्थतन्त्रको रुपमा चित्रित गरिन्छ ।

उपत्यकाबासीको उपभोगसँग प्रत्यक्ष जोडिएको यो आर्थिक क्षेत्रको चक्र कोरोनाका कारण शिथिल बनेको हो । लकडाउनले सेवा क्षेत्र ठप्प हुनु, रोजगारी गुमेर आर्थिक रुपमा उपभोक्ताको क्रय क्षमतामा ह्रास आउनुको असर उत्पादनसम्मै पुग्यो । उत्पादन, बजार, उपभोग र आम्दानीको चक्र खल्बलिंदा काँठ क्षेत्रको अर्थतन्त्र डामाडोल बन्न पुग्यो ।

पाँचखाल नगरपालिकाका मेयर महेश खरेल कोभिडपछि आफ्नो क्षेत्रको आर्थिक मन्दीलाई तीन चरणमा ब्याख्या गर्छन् । किसानको आलु, गोलभेंडा लगायतका तरकारी खेतमै कुहिएको अवस्थालाई मेयर खरेल लकडाउनको सुरुआती र अत्यास लाग्दो चरण भन्छन् ।

यस्तै, किसानहरू हतोत्साही भएर खेतीबाट टाढिँदा थोरै उत्पादन हुन थाल्नु र अहिले पर्ख र हेरको अवस्थालाई खरेलले दोस्रो र तेस्रो अवस्था मानेका छन् । मकवानपुरको थाहा नरगपालिकाका मेयर लवशेर विष्ट पनि खरेलसँग सहमत छन् । पर्यटन लगायत सबै क्षेत्रमा यस्तै अवस्था रहेको विष्टको भनाइ छ ।

बिथोलियो कृषि चक्र

अप्रत्याशित रुपमा महामारीको भूमरीमा पर्दा चैत र बैशाखमा कृषि उत्पादनले बजार नै पाएन । थाहा नगरपालिकाका कृषक राजेन्द्र बिडारी लकडाउनमा मल, बिउ र बजार पनि नपाउने डरका कारण खेती कम भएको बताउँछन् ।

लकडाउनले गर्दा वैशाख-जेठमा तरकारी नबिकेर हतास भई खेती कम गरेका किसानले अहिले बजारमा तरकारी अभाव हुँदा मूल्य पाएको बिडारी बताउँछन् । ‘तरकारी खेती छोडेर धेरैले मकै लगाए’, उनी भन्छन्, ‘तरकारी रोप्नेले अहिले बजार भाउ पाएका छन् ।’

पाँचखालका कृषक गोविन्द रम्तेल अघिल्लो वर्ष ७२ रुपैयाँ किलोमा बेचेको गोलभेडा लकडाउनमा १२ रुपैयाँमा पनि बिक्री नभएको बताउँछन् । धादिङ्ग, नौबिसेकी किसान शर्मिला आचार्य लकडाउनमा कृषि सामाग्री पनि नपाइएकोले आलु, गोलभेडा लगायतका तरकारी बाली कम लगाइएको बताउँछिन् ।

कालीमाटी र बल्खुका व्यापारीहरू यसरी कृषि चक्र बिथोलिदा आपूर्ति श्रृखंला बिगि्रएको र मौसमी तरकारीको भाउ गत वर्षभन्दा बढी भएको बताउँछन् ।

थोक बजार व्यवसायी संस्था कालीमाटीका अध्यक्ष गीता आचार्य सीमित उत्पादन खुल्ला बजारमा खोसाखोस हुँदा मुल्य आकासिएको बताउँछन् । उनी भन्छन्, ‘दैनिक दुई गाडी तरकारी झर्ने मेरो पसलमा अहिले एक गाडी ल्यउन पनि मुस्किल परिरहेको छ ।’

बल्खु तरकारी तथा फलफूल बजारका व्यवस्थापक मोहन बस्नेत लकडाउनका कारण कम उत्पादन भएको तरकारी चाडपर्वको मौसममा खोसाखोस भएको बताउँछन् ।

सात महिना पर्यटन गतिविधि ठप्प

कोभिडअघि मासिक ३० लाख रुपैयाँसम्म कारोबार गरिरहेको मकवानपुरको दामनमा सञ्चालित ॐ अयोध्य रिटि्रट रिर्सोट लकडाउनमा टिक्नै नसकेर बन्द भयो । उत्तरी मकवानपुरका सबै होटल, रिसोर्ट र होमस्टेले कोभिडका कारण यस्तै समस्या झेले ।

‘नसोचेको महामारीका कारण २८ जना कर्मचारीलाई बेतलबी बिदामा राखेर रिर्सोट बन्द गर्नु पर्ने अवस्था आयो, लगानीमा परेको क्षतिको मूल्याङ्कन गर्ने अवस्था छैन्,’ ॐ अयोध्यका निर्देशक अर्जुनसिंह ठकुरी भन्छन् ।

उत्तरी मकवानपुरका दामन, टिस्टुङ, मार्खु र चित्लाङमा ठूला दुई, मध्यम १६ र ६० वटा व्यक्तिगत तथा सामूदायिक होमस्टेले लकडाउनमा साझा समस्या भोगेको उनको भनाइ छ ।
थानकोटमा रहेको पात्लेवन रिसोर्टको अवस्था पनि दामनको भन्दा फरक छैन । सातमहिना बन्द भएको रिसोर्ट दसैंंपछि आंशिक सञ्चालनमा आएको छ । सञ्चालक जनपाल थापा बन्द रहँदा तिर्न परेको भाडा, कर्मचारीको तलब र दैनिक आम्दानीमा परेको क्षति मूल्याङ्कन गर्नै गाह्रो भएको बताउँछन् । थापा भन्छन्, ‘कोभिडका कारण हामी एक्कासी ठूलो समस्यामा फस्यौं ।’

लगानी गर्ने आँटै हरायो

काठमाडौं उपत्यका नजिकैका काँठ क्षेत्रमा एक हजारभन्दा बढी होटल-रिसोर्ट रहेको अनुमान छ । चैतदेखि दसैं अघिसम्म बन्द अवस्थामा रहेको रिसोर्ट तथा होटलहरू दसैंपछि बिस्तारै खुल्न थालेको ॐ अयोध्यका निर्देशक ठकुरी बताउँछन् ।

स्वास्थ्य प्रोटोकल पालना गरेर बढीमा आधा क्षमतामा व्यवसाय सुरू भएको उनको अनुमान छ । उनी भन्छन्, ‘कोरोना किनारा नलागेसम्म पुर्ण क्षमतामा व्यावसाय नहुने देखिएको छ ।’

पात्लेवनका थापा व्यवसाय बिस्तारै खुलेपनि नयाँ योजना अघि बढाउन सक्ने अवस्था नरहेको बताउँछन् । ‘फेरि कुनै पनि बेला लकडाउन हुनसक्ने डरले नयाँ योजना र लगानी ल्याउने आँट कसैमा छैन,’ उनी भन्छन् ।

आर्थिक मन्दीमा स्थानीय सरकार

कृषि र पर्यटनमा कोभिडले पारेको प्रभाव हटाउन कुनै कमी नगरेको काँठ क्षेत्रका स्थानीय सरकारहरूको दाबी छ ।

बजार सुनिश्चितता, मल बिउको उपलब्धता र आर्थक व्यवस्थापनमा जोडदार सहजीकरण गरेको पाँचखालका मेयर महेश खरेल बताउँछन् । ‘ऋणको ताकेता घटाउन बैंक र किसानलाई राखेर छलफल गरियो, अरु खालका सहजीकरणमा पनि धेरै लागियो’, उनी भन्छन्, ‘किसानलाई सहुलियत ऋणकालागि हेल्प डेस्क राखेरै सहजीकरण गर्नेगरी एउटा बैंकसंग सम्झौता गरेका छौं ।’

पाँचखाल क्षेत्रका पर्यटन उद्योगको कर मिनाहाका लागि पनि प्रस्ताव गरिएको उनको भनाइ छ ।
त्यस्तै थाहा नगपालिकाका मेयर विष्ट किसानका उत्पादन खेर जान नदिन ड्रायर उद्योग सञ्चालनमा ल्याएको, शीत भण्डार निर्माण गर्न थालेको बताउँछन् । उनी भन्छन्, ‘अब संकट आए समाधान गर्न आफ्नो क्षमताले भ्याएको प्रयास थालेका छौँ ।’ व्यवसायअनुसार राहतका लागि भने नगरसँग बजेट नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment