Comments Add Comment

सुदूरपश्चिममा ४ महिनामा बलात्कारका ८८ घटना

५ मंसिर, डोटी । साउनयता सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ८८ वटा बलात्कारका घटना भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले दिएको जानकारी अनुसार यस अवधिमा कैलालीमा सबैभन्दा बढी ४४ बलात्कारका घटना भएका छन् ।

यस्तै कञ्चनपुरमा १५, बैतडीमा नौ, डोटीमा सात, बझाङ्गमा पाँच, डडेल्धुरामा चार, बाजुरामा दुई र दार्चुला र अछाममा एक/एक जबरजस्ती करणी भएको भन्दै जाहेरी दर्ता भएका प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यस अवधिमा जवरजस्ती करणी उद्योगमा ३६ घटना दर्ता भएका छन् । कैलालीमा १३, कञ्चनपुरमा नौ, बझाङ्गमा पाँच, अछाम र डडेल्धुरामा तीन/तीन, बैतडीमा दुई र बाजुरामा एक जवरजस्ती करणी उद्योगका घटना भएका छन् । यस्तै कैलालीमा तीन, कञ्चनपुरमा दुई र डडेल्धुरामा एक गरी अपहरण गरी जबरजस्ती करणीका ६ वटा जाहेरी परेका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार डोटी र बझाङ्गमा दुई महिलालाई जवरजस्ती करणी गरी हत्या गरिएको छ । यस्तै मानव बेचबिखन तथा जवरजस्ती करणीका एक, अप्राकृतिक मैथुनका तीन, बाल यौन दुव्यवहारका पाँच र हाडनाता करणका एक जाहेरी दर्ता भएका प्रदेश प्रहरी कार्यालयसंग तथ्याङ्क छ ।

महिलाहरुप्रति समाज असहिस्ष्णु भएका कारण बलात्कार र यौन दुव्र्यवहारका घटनाहरु बढ्दै गएका बताउँछन् प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंह ।

समाजले पीडकहरुलाई सहजै पचाउने भएका कारण पनि अपराधका घटनाहरु बढ्दै गईरहेका उनी बताउँछन् । ‘पीडितलाई समाजमा हेयको दृष्टिले हेरिन्छ, पीडिकलाई सबैले सहजरुपमा स्वीकार्छन्,’ सिंह भन्छन् ‘जबकि समाजले पीडितलाई सहानुभूति प्रकट गर्नु पर्ने हो, समाजमा समायोजन गराउनका लागि सवैले सहयोग गर्नु पर्ने हो ।’ पीडित शारीरिक र मानसिक पीडामा भएका बेला समाजको व्यवहारले उसलाई झन लज्जाबोध हुने गरेको सिंहले वताए ।

समाजमा अहिले पनि जबरजस्ती करणीका घटनाहरु मिलापत्र गर्ने गरेकाले पनि अपराधीहरुको मनोबल बढेको सिंहको बुझाइ छ । उनले भने, ‘घटना हुन्छ, समाजका मान्छेहरु बसेर मिलापत्र गर्न खोज्छन् । त्यसपछि अपराधीहरु झन बढी सक्रिय हुन्छन् ।’

पीडितका परिवारले पनि आफ्नो इज्जतसँग जोड्ने र कानुनको दायरामा आउनुभन्दा मिलापत्रै गरेर टुंंग्याउने गरेका कारण पनि यस्तो समस्या आएको सिंहको भनाइ छ ।

अपराधी जो कोही भए पनि अपराधीनै हो भन्ने बुझाई समाजमा हुनु पर्ने र अपराधका घटनाहरु कानुनको दायरामा ल्याउनका लागि सामाजिक अगुवाहरुले पनि भूमिका खेल्नु पर्ने सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment