+
+
Shares

कोरोनाबाट मृत्यु हुनेको संख्या ९०० तलमाथि, कार्यदलको प्रतिवेदन अलपत्र

गौरव पोखरेल गौरव पोखरेल
२०७७ मंसिर ५ गते १८:०१

५ मंसिर, काठमाडौं । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या र नेपाली सेनाले शव व्यवस्थापन गरेको संख्याबीच ठूलो अन्तर देखिएको छ ।

शुक्रबार बिहान १० बजेसम्म नेपाली सेनाको जंगीअड्डालाई विभिन्न पृतनाहरुले उपलब्ध गराएको तथ्यांक अनुसार २ हजार १७९ जना मृतकको शव व्यवस्थापन भइसकेको छ ।

यही समयमा स्वास्थ्य मन्त्रालयले भने एक हजार २७६ जनाको मृत्यु भएको अपडेट वेबसाइटमा दिएको थियो । यो आधारमा स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्यांक ९०३ जनाले फरक रहेको पाइएको छ ।

यसअघि ३० असोजमा नेपाली सेना र स्वास्थ्यको मृत्युसम्बन्धी रेकर्डमा अन्तर रहेको विवरण अनलाइनखबरमा प्रकाशित भएपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले चासो देखाएको थियो ।

लगत्तै स्वास्थ्य मन्त्रालयकी सह–सचिव शैलजा भट्टराईको अध्यक्षतामा दुई सरकारी निकायको तथ्यांक कसरी फरक भयो भन्ने विषयमा अध्ययन गर्न कार्यदल गठन गरिएको थियो । कार्यदलमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का डा. वासुदेव पाण्डे र सीसीएमसीका सहायक रथी डा. अरुणकुमार न्यौपाने सदस्य थिए ।

मन्त्रालयको जनसंख्या महाशाखा प्रमुखसमेत रहेकी कार्यदल संयोजक भट्टराईले स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई प्रतिवेदन पेश गरिसकेको पुष्टि गरेपनि निष्कर्ष खुलाउन चाहिनन् ।

स्रोतका अनुसार अध्ययन कार्यदलले स्वास्थ्य मन्त्रालयको सूचना संयन्त्रमा कमजोरी औंल्याउँदै सच्याउनुपर्ने सुझाव दिइएको छ । ‘जिल्ला र प्रदेशबाट आउने रिपोर्टलाई सही ढंगले व्यवस्थापन गर्न सकिएन भन्ने प्रतिवेदनको सार हो’, स्रोतले भन्यो, ‘समितिले सेनाको तथ्यांकमा टेकेर कोभिड–१९ बाट मृत्यु हुनेको साझा संख्या निकाल्न सुझाव दिएको छ ।’

तर मन्त्रालयले हालसम्म कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छैन र, मृतकको तथ्यांक पनि सच्याएको छैन । संक्रमितको संख्या बढी देखिँदा सर्वसाधारणमा थप भय पैदा हुने सोचका साथ पनि संख्या सार्वजनिक नगरिएको मन्त्रालयका एक अधिकारीले दाबी गरे ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने कार्यदलको प्रतिवेदनपूर्ण रुपमा तयार भइनसकेकाले सार्वजनिक नगरिएको दाबी गरे । ‘प्रतिवेदनलाई रिकन्फर्म गर्ने काम भइरहेको छ, प्रदेशगत रुपमा विवरण जाँचिरहेका छौं’, गौतमले भने, ‘प्रमाणित भएपछि सार्वजनिक गर्छौं ।’

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?