७ मंसिर, काठमाडौं । एट्लेटिको मड्रिडले १० वर्षपछि स्पानिस ला लिगामा बार्सिलोनालाई पराजित गरेको छ । गएराति भएको खेलमा यानिक कारास्कोको निर्णायक गोल मद्दतमा एट्लेटिकोले बार्सिलोनालाई १-० ले पराजित गरेको हो ।
पछिल्लो पटक एट्लेटिकोले ला लिगामा बार्सिलोनालाई २०१० मा २-१ ले पराजित गरेको थियो ।
घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा कारास्कोले पहिलो हाफमा इन्जुरी टाइममा गोल गरेका थिए । यस सिजन राम्रो प्रदर्शन गरिरहेको एट्लेटिकोले जितपछि शीर्ष स्थानको रियल सोसिडाडसँग अंक बराबरी गरेको छ ।
उता बार्सिलोना भने सिजनको तेस्रो हारपछि झन् दबाबमा परेको छ । एट्लेटिकोले सिजनमा राम्रो सुरुवात गर्दा बार्सिलोनाको भने खराब प्रदर्शन जारी छ ।
जितपछि एट्लेटिकोले यस सिजन ला लिगामा अपराजित यात्रा कायमै राखेको छ । ८ खेलबाट २० अंक जोडेको एट्लेटिको गोल अन्तरमा पछि रहँदै दोस्रो स्थानमा छ । बार्सिलोना भने ८ खेलबाट ११ अंकसहित १०औं स्थानमा छ ।
ला लिगाकै अर्को खेलमा रियल मड्रिड भियारियालसँग १-१ को बराबरीमा रोकिएको छ । खेलको दोस्रो मिनेटमै मारियानो डियाजको गोलमा रियलले अग्रता लिएको थियो । तर ७६औं मिनेटमा जेरार्ड मोरेनोले पेनाल्टीमार्फत गोल गरेपछि भियारियालले अंक खोसेको हो ।
भियारियाल १० खेलबाट १९ अंक जोड्दै तेस्रो स्थानमा छ भने ९ खेलबाट १७ अंक रहेको रियल चौथो स्थानमा छ ।
यस्तै सेल्टा भिगोलाई ४-२ ले पराजित गर्दै सेभिया सातौं स्थानमा उक्लेको छ । सेभियाको ८ खेलबाट १३ अंक छ ।
प्रतिक्रिया 4