Comments Add Comment

कात्तिक नाच : उच्च सुरक्षाका साथ बराह र नृसिंह नाच मात्रै देखाइने

फाइल तस्वीर

९ मंसिर, काठमाडौं । यस वर्षको कात्तिक नाचमा बराह र नृसिंहको नाचलाई उच्च सुरक्षाका साथ मनाउने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा पाटन डबलीमा सम्बन्धित कलाकारलाई मात्रै प्रवेश दिनेगरी उच्च सुरक्षाका साथ नाच देखाउन लागिएको आयोजक समितिले जनाएको छ ।

३७९ वर्षदेखि अविछिन्न रुपमा चल्दै आएको कात्तिक नाच मल्लकालमा एक महिनासम्म मनाउने भए पनि पछिल्लो समय १२ दिनमात्रै मनाउन थालिएको थियो । तर यस वर्ष कोरोना भाइरसको जोखिमका कारण पाटन दरबार क्षेत्र नै सिल गरेर नाच प्रस्तुत गर्ने तयारी गरिएको पाटन तलेजु मन्दिरका पुजारी रक्षण राजोपाध्यायले जानकारी दिए ।

आयोजक समितिका अनुसार आगामी शुक्रबार र शनिबार क्रमशः बराह र नृसिंहको नाच देखाउने तयारी छ । मल्लकालदेखि सुरु भएको यो नाच बीचमा आर्थिक अभावका कारण बन्द हुँदा पनि बराह र नृसिंहको नाच भने सञ्चालन रहेकोले यो वर्ष पनि यी दुई नाच मात्रै सञ्चालनको तयारी रहेको राजोपाध्यायले जानकारी दिए ।

पूर्णिमाको दिन सकिने गरी १२ दिनसम्म चल्ने यो पर्वको ३७९ वर्ष पहिलेदेखि सुरु भएको हो । यो अहिलेसम्म अविच्छिन्न रुपमा चलिरहेको विश्वास छ । विसं २००७ सालदेखि ३८ सालसम्म पनि नृसिंह नाच र बराह नाच मात्रै देखाइएको थियो । तर त्यसपछि यसलाई २७ दिनसम्म मनाउने गरियो । अहिले कात्तिक डबलीमा यो नाच कात्तिक पूर्णिमामा सम्पन्न हुनेगरी १२ दिनसम्म मनाइन्छ ।

यो पर्वको सुरुवात नेसं ७६१ (विसं १६९७)मा तत्कालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ गरेका थिए भन्ने मान्यता छ । मनोरञ्जनका साथै धार्मिक रूपमा समेत महत्वपूर्ण यो पर्व योगनरेन्द्र मल्लको पालादेखि उषाहरण तथा माधवानल लीला थपेर २७ दिनसम्म मनाउन थालिएको थियो । अमूर्त सम्पदाको रुपमा रहेको यो पर्व २०७० सालदेखि १२ दिनमात्रै मनाउन थालिएको हो ।

यो पर्वको पहिलो दिन सुदामा प्याखँ, भक्त सुरदास प्याखँ, बाथ प्याखँ ३ दिन, युद्ध कला, देवी नृत्य, जलशयन, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण र अन्तिम दिन दधिलीला मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment