
काठमाडौं । विभिन्न देशमा सञ्चालनमा रहेका नेपाली जनसम्पर्क समितिको गरिमा र मर्यादामा आँच आउने गरी खुलेका ‘नक्कली जनसम्पर्क समिति’ विरुद्ध एकजुट हुने निर्णय गर्दै देशभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुको भेला सम्पन्न भएको छ ।
३५ देशमा विस्तार भइसकेको नेपाली काँग्रेसको भातृ संस्था नेपाली जनसम्पर्क समितिका सभापतिहरुले पार्टीको गरिमामा समेत आँच पुर्याउने गरी खुलेका त्यस्ता समितिहरूलाई निरुत्साहित गर्न सबै सभापतिहरु एकजुट भएका हुन् ।
आइतबार नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यद्वय आनन्द विष्ट र बालकृष्ण पाण्डेको पहलमा बसेको जनसम्पर्क समितिका सभापतिहरुको बैठकले सोसहित छ वटा विषयमा निर्णय गरेको छ ।
जनसम्पर्क समितिका सभापतिहरुले आमन्त्रित केन्द्रीय सदस्यद्वय विष्ट र पाण्डेको नेतृत्वमा ३५ वटै देशका जनसम्पर्क समितिका अध्यक्ष सहभागी हुने गरी एक समन्वय समिति गठन गरी क्रियाशील गराउने निर्णय गरेको छ । यस्तो समितिले एनआरएन गठन भएको सबै देशको एनसीसी र आगामी आईसीसी नेतृत्वमा नेपाली कांग्रेस र जनसम्पर्क समितिमा आबद्ध व्यक्तिलाई नेतृत्वमा स्थापित गर्न सहयोग गर्ने निर्णय गरेको नेपाली जनसम्पर्क समिति साइप्रसकी सभापति सीता अर्यालले जानकारी दिइन् ।
यसका लागि आवश्यकता अनुसार विभिन्न देशमा रहेका कांग्रेस निकट एनआरएन अभियान र जनसम्पर्क समितिको विभिन्न भूमिकामा रहेकाहरु सम्मिलित कार्यदल गठन गर्न पहलकदमी लिने निर्णय पनि भएको ।
त्यस्तै, जनसम्पर्क समितिको आगामी अधिवेशनका लागि क्रियाशिल सदस्यता प्राप्त नगरिसकेका देशको हकमा पार्टीसँग पहल गरी यथाशीघ्र सदस्यता उपलब्ध गराउन पहल गर्ने निर्णय पनि भएको छ ।
पार्टीको विधि र विधान विपरीत आम शुभेच्छुकहरुलाई भ्रम सिर्जना हुने गरी आफूखुशी जनसम्पर्क समितिको नाममा गरिने कार्यलाई रोक्न सामूहिक रुपमा आवाज उठाउने र सम्बन्धित जनसम्पर्क समितिले आ-आफ्नो देशको कार्यसमितिको बैठकमार्फत् त्यस्ता कार्य नियन्त्रणका लागि आवश्यक प्रकृया अघि बढाउने निर्णय पनि गरिएको छ ।
बैठकले एनआरएन र नेपाली जनसम्पर्क समितिसँग आवद्ध र अनुभवी व्यक्तिहरू सहभागी हुने गरी तत्काल छलफल र बैठक सुरु गर्ने र नेपाली जनसम्पर्क समिति माल्टाको तदर्थ समितिलाई पार्टीबाट आधिकारिकता दिलाउन आमन्त्रित केन्द्रीय सदस्यद्वयले पहलकदमी लिने निर्णय पनि गरिएको छ ।
प्रतिक्रिया 4