Comments Add Comment

कप्तान मल्लसहित तीन क्रिकेटरलाई कोरोना संक्रमण

१० कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको हो ।

कप्तान मल्लले आफूलाई संक्रमण देखिएको पुष्टि गरे । ‘सुरक्षा सवधानीको उपाय अपनाएकै थिएँ । कुनै लक्षण छैन’ उनले भने, ‘परीक्षण गराउँदा पोजेटिभ आएछ ।’ उनी अहिले होम क्वारेन्टिनमा नै छन् ।

उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।


बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १६ खेलाडीको बुधबार स्वाब संकलन गरिएको थियो । शरद भेषावकर, बसन्त रेग्मी, सन्दीप लामिछाने, करण केसी, सुवास खकुरेल र कुशल मल्लले पनि स्वाब दिएका छैनन् ।

रेग्मीलाई यसअघि नै कोरोना संक्रमण देखिएकाले स्वाब दिन नआएको क्रिकेट संघ स्रोतले जनाएको छ । शरद र सुवास पारिवारिक कारणले स्वाब दिन नपुगेका हुन् भने करण उपत्यका बाहिर छन् । कुशल कक्षा १२ को परीक्षाा दिइरहेका छन् भने सन्दीपले एक साता परिवारसँग बसेर प्रशिक्षणका लागि आउने छन् ।

स्टाफ प्रदीप लामालाई पनि कोरोना संक्रमण देखिएको छ । क्यान सचिव अशोकनाथ प्याकुरेलका अनुसार काठमाडौंमै घर भएका खेलाडीहरु होम क्वारेन्टिनमा र बाहिरका खेलाडीहरुलाई होटलमा आइसोलेसनमा बस्नेछन् ।

थप ५ खेलाडी बन्द प्रशिक्षणमा 

यसैबीच क्रिकेट संघले थप ५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । बिक्रम शोव, अनिलकुमार साह, कुशल भुर्तेल, ऋत गौतम र लोकेश बमलाई प्रशिक्षणमा बोलाइएको हो ।

उनीहरूमध्ये लोकेश उपत्यका बाहिर परीक्षामा रहेकाले तत्काल सहभागी हुने छैनन् । चार खेलाडीले भने पीसीआर टेष्ट गर्दा नेगेटिभ आएमा बिहीबारबाटै प्रशिक्षणमा सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment