Comments Add Comment

बर्दिबास तनाव : प्रहरीले राजमार्ग खुलायो, सर्वदलीय बैठकले गर्‍यो ४ बुँदे निर्णय

तस्वीर : बिक्रम रौनियार

१० मंसिर, काठमाडौं । बालिकाको हत्यापछि उत्पन्न परिस्थितिका कारण तनावपूर्ण बनेको महोत्तरीको बर्दिबासमा बुधबार सर्वदलीय बैठकले चार बुँदे निर्णय गरेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले बालिका हत्यामा संलग्नलाई कानुन बमोजिम कडा कारवाही गर्ने र पीडित परिवारलाई राहतका लागि सरकारसँग पहल गर्नेलगायतका ४ बुँदे निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।

सर्वदलीय बैठकले झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका सञ्जय भनिने बुद्धिराज न्यौपानेलाई शहीद घोषणा गर्न माग गर्ने, उनको मृत्युबारे छानबिन गर्न समिति गठन गर्ने र प्रदर्शनमा घाइते भएकाहरुको उपचार खर्च र राहतका लागि पहल गर्ने निर्णय पनि गरेको छ ।

६ बर्षीया बालिका हत्याको विरोध र विरोध प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर घाइते युवकको मृत्युपछि स्थानीयले सडक अवरुद्ध गरेका थिए । तर बुधबार साँझ प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाएको छ ।

बालिका हत्यापछि उत्पन्न परिस्थितिका कारण बुधबार बिहानैदेखि निषेधाज्ञा जारी भए पनि बर्दिबासमा स्थानीयले प्रदर्शन गरिरहेका थिए । प्रदर्शन रोक्न प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनको क्रममा प्रहरी र स्थानीयहरु बीच झडप हुँदा चार जना प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

मंसिर ७ गते आइतबारदेखि वेपत्ता भएकी ६ बर्षीया बालिकाको हत्या गरेर फलिएको अवस्थामा शव फेला परेको थियो । बस्तीबाटै हराएकी सहिद आलमकी ६ बर्षकी छोरी गुलाब साह खातुनको शव हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा भेटिएको थियो ।

बालिका हत्या आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घरभई बर्दिवास ननगरपालिका १४ बस्ने २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरिसकेको छ । हत्याको आरोप लागेका साहको घरमा आक्रोशित स्थानीयले आरोपी साहको घरमा आगजनी तोडफोड समेत गरेका थिए । घर पूर्ण रुपमा क्षति भएको छ । राजमार्ग क्षेत्रमा ठुलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment