Comments Add Comment

उपसभामुख चयनमा प्रतिपक्षले पहल लिनुपर्‍यो : मन्त्री ज्ञवाली

११ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उपसभामुख चयनका लागि प्रमुख प्रतिपक्षी दलहरुले पहल लिनुपर्ने बताएका छन् ।

सभामुख सत्तारुढ दलको तर्फबाट भएका कारण सत्तारुढ दलले उपसभामुख लिन नपाउने संवैधानिक प्रावधान रहेको उल्लेख गर्दै उनले प्रतिपक्षी दलले नै उपसभामुखको विषयलाई अगाडि बढाउनुपर्ने धारणा राखे ।

बिहीबार संघीय संसद संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले उपसभामुख चयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गरेकी थिइन् ।

जवाफमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘सभामुख सत्तारुढ दलको भएका कारण राख्न मिल्दैन । सभामुख एउटा लिंगबाट भएका कारण अर्को लिंगबाट उपसभामुख आवश्यक हुन्छ । यसमा प्रतिपक्षीबाटै आउनुपर्यो । यसमा सरकारलाई मात्रै भन्नु उपयुक्त हुँदैन ।’

तत्कालिन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि १२ माघ २०७६ देखि उपसभामुख पद खाली छ ।

संसदमा सबैभन्दा ठूलो दल भएका कारण नेकपाले जसलाई समर्थन गर्छ उसैले उपसभामुख पद पाउने अवस्था छ । तर, नेकपाले कसलाई समर्थन गर्ने भनेर टुङ्गो लगाउन सकेको छैन ।

सभामुख र उपसभामुख फरक राजनीतिक दल र लिंगबाट हुनुपर्छ । फरक राजनीतिक दललाई उपसभामुख दिनुपर्ने भएपछि नेकपाले उपसभामुख निर्वाचन गराउन नचाहेको आरोप लाग्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment