Comments Add Comment
अन्तर्वार्ता :

‘आगामी बैठकमा केपी ओलीसँगै प्रश्न गर्छु’

११ मंसिर, काठमाडौं । ‘डाइनोसरको कथाजस्तै भयो हाम्रो पार्टीमा ! डाइनोसर यसरी रिसाउँथ्यो, उसरी रिसाउँथ्यो भनेर बच्चाबच्चीलाई आतंकित पार्ने ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चर्किएको विवादको अर्थराजनीतिक कारणहरु के हुन् र यसको समाधान कसरी हुन सक्ला भन्ने प्रश्न बोकेर कृषि मन्त्रालयमा पुगेको अनलाइनखबरको टोलीसँग नेकपाका वैचारिक नेता घनश्याम भुसालले भने, ‘अब अध्यक्षहरुको कथा सुनाएर पार्टीलाई आतंकित पार्ने समय गयो ।’

पूर्वएमाले र पूर्वमाओवादीभित्र रहेका पुरानै आन्तरिक समस्याहरु नै अहिले प्रकट भइरहेको भुसालको विश्लेषण रहेछ । उनी भन्छन्, ‘यहीबीचमा हामी एक प्रकारको दबावमा पर्‍यौं र एकतामा गयौं । यसले गर्दा यी सबै प्रश्नहरु अनुत्तरित रहन गए र आज यसले असली रुप देखाइरहेको छ ।’

गत स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई व्यक्तिगत रुपमा फाइदा हुने गरी निर्णय गरेको बताउँदै भुसालले अनलाइनखबरसँग भने, ‘स्थायी कमिटीले त्यत्रो शक्तिका साथ उहाँलाई दिएको त्यो तागत किन प्रयोग गर्नुभएन भनेर म आउने बैठकमा उहाँ (ओली) सँगै प्रश्न गर्छु ।’

प्रस्तुत छ– सत्तारुढ पार्टीभित्र चुलिँदो संकटमा केन्द्रित रहेर नेकपा नेता भुसालसँग अनलाइनखबरकर्मी अरुण बरालसइन्द्र राईले गरेको कुराकानी –

मन्त्री नहुँदासम्म घनश्याम भुसाल चर्का कुरा गर्थे, मन्त्री भएपछि बोल्नै छाडे भन्ने टिप्पणीहरु सुनिन्छन् । फुर्सद नभएर नबोल्नुभएको कि मन्त्री भएपछि बोल्न गाह्रो परेको ?

मैले पहिला जे बोल्थें । त्यो कुराबाट पछि हटेर बोल्न छाडेको चाहिँ होइन । मन्त्रालयको कामले बढी व्यस्तता त हुने नै भयो । दोस्रो, मन्त्रीले धेरै विवादित कुरा नगरोस् भन्ने समाजकै चाहना पनि हुँदोरहेछ । साथीभाइहरु, राजनीतिक वृत्त र पार्टीभित्र एउटा सीमाजस्तो महशुस गर्न चाहँदो रहेछ । त्यो कारणले पनि हुन सक्छ । तर, मन्त्री भएर बोल्न नहुने सीमा वा अन्धविश्वास छ भने त्यो अन्धविश्वास तोड्नुपर्छ । त्यो अन्धविश्वासले चाहिँ मैले नबोल्ने भन्ने हुँदैन ।

मन्त्री भएर राजनीतिक कुरा बोल्नुहुन्न भन्ने मेरो अनुभूति भन्दा पनि अरुको त्यस्तो चाहना भन्ने मैले महशुस गरेँ । तर, यसको अर्थ मेरो अडान, मैले जे सोचेको हुँ, हिजो जे सोच्थें, त्यसमा कुनै बदलाब भएर वा मान्छेहरुले भनेजस्तो मन्त्री पदसँग आफ्नो एजेण्डा साट्यो कि भन्ने कुरा होइन ।

अस्तिको स्थायी कमिटी बैठकबाट व्यक्तिगतरुपमा अध्यक्ष एवम् प्रधानमन्त्रीको पक्षमा निर्णय भएको थियो । स्थायी कमिटीले त्यत्रो शक्तिका साथ उहाँलाई दिएको त्यो तागत किन प्रयोग गर्नुभएन भनेर म आउने बैठकमा उहाँ (ओली) सँगै प्रश्न गर्छु ।

माधव नेपालनिकट मानिने घनश्याम भुसाल र योगेश भट्टराईलाई मन्त्री बनाइदिएपछि यिनको बोली नरम हुन्छ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको रणनीतिले पो काम गरेको हो कि ? यस्तो आरोप पनि छ तपाईमाथि…

म मन्त्री बन्न हुन्थ्यो कि हुँदैनथ्यो भन्नेमा हामी छलफल गरौंला । मन्त्री भएर के गरिस् भन्नेबारे पनि छलफल गरौंला । मन्त्री भएर कामको कुनचाहिँ क्षेत्र धेरै बितिरहेको छ भन्नेमा पनि कुराकानी गरौंला । तर, खासगरी मेरो पार्टीको राजनीतिक बुझाइमा कुनै परिवर्तन आएको छैन ।

दोस्रो कुरा, मैले त्यतिखेर पनि सरकारको विषयमा खासै कुरा गरेको होइन । किनभने, सरकारले के गर्‍यो, के गरेन भन्ने विषयमा म कम गएको हुँ । हुन त कतिले मलाई सरकारका बारेमा बोल्थिस् भन्नुहुन्छ, त्यस्तोचाहिँ होइन । मैले त त्यतिखेर पनि पार्टी कसरी चल्छ, र त्यो पार्टीले सरकार कसरी चलाउँछ भन्ने विषयमा कुरा गरेको हुँ ।

म अहिले मन्त्री छु, मन्त्रिपरिषद् छ र यसलाई सरकार भन्छौं । यो सरकारले जतिसुकै राम्रो काम गरे पनि यसले मात्रै समृद्धि र समाजवादमा लैजाँदैन । यो कुरामा मचाहिँ प्रष्ट छु । सरकार एउटा धेरै महत्वपूर्ण क्षेत्र हो । एक हिसाबले यो अनिवार्य क्षेत्र हो । तर, यसले आफैंले मात्रै केही गर्दैन । स्वयं पार्टी आफंै पनि त्यसका लागि तयार हुनुपर्‍यो । सक्षम पनि हुनुपर्‍यो ।

जस्तो– पार्टीको नीति छ । हामीले भनेजस्तो गर्ने हो भने दलाल पुँजीवाद नियन्त्रण गर्ने, राष्ट्रिय पुँजीको विकास गर्ने, समृद्धिको यात्रा तय गर्ने । यो भनेको के हो भनेर स्वयं पार्टीले व्याख्या गर्नुपर्‍यो । यो प्राप्त गर्न सरकारले के गर्नुपर्ने, पार्टी संगठनहरुले के गर्नुपर्ने हो, प्रधानमन्त्रीले के गर्छन्, के गर्दैनन् । मन्त्रीले के गर्छ, के गर्दैन । प्रदेश सरकार र तलका स्थानीय सरकारले के गर्छन्, के गर्दैनन् । यो पनि निश्चित गर्नुपर्छ ।

पार्टी कमिटीमा पनि अध्यक्षले के गर्छ, उपाध्यक्षले के गर्छ, महासचिव, स्थायी कमिटी सदस्यहरुले के गर्छन् र हरेक सदस्यले के गर्छ भन्ने कुरा निश्चित हुन्छ । त्यसो भएपछि पार्टी, सरकार, पार्टीका अंग, जनसंगठन, विभागहरुसँग सम्वद्ध समर्थक र सहभागीहरुले गर्ने कुरा प्रष्ट हुँदै जान्छ । त्यसरी पार्टीले सम्पूर्ण समाजलाई लिएर ऊ समाजवादतर्फ जान्छ, समृद्धितर्फ जान्छ । त्योचाहिँ कुरा अहिले बिग्रिरहेको छ ।

नेकपाले नेतृत्व गरेको सरकार र पार्टीबीच अहिले चर्को द्वन्द्व देखिएको छ । पार्टी नै फुट्छ कि भन्नेसम्म चर्चा हुने गरेको छ । यहाँले पनि भन्नुभयो कि अहिले बिग्रिरहेको छ । तपाईको विश्लेषणमा यसरी बिग्रनुका पछाडिको खास कारण चाहिँ के हो ?

यसलाई विभिन्न दृष्टिकोणले हेर्नुपर्छ जस्तो लाग्छ । मलाई लाग्छ, यसमा प्रथमतः आधारभूत सैद्धान्तिक कारण छ । दोस्रो, तात्कालीक केही प्रक्रियागत कुरा पनि छन् ।

अथवा, हामी कम्युनिष्ट मार्क्सवादीहरुले यो कोणबाट हेरौं न ।

म हिजो एमालेबाट आएँ । खासगरी नवौं महाधिवेशनले जुन राजनीतिक कार्यदिशा तय गर्‍यो, त्यो कार्यदिशालाई राम्ररी व्याख्या गरिएन । त्योे कार्यदिशा बोक्ने नीतिहरु र नीति कार्यान्वयन गर्ने संगठन कस्तो हुन्छ भन्ने पनि व्याख्या गरिएन । त्यस्तो संगठनका सदस्यहरु कस्ता हुन्छन्, नेता कस्तो हुन्छ र तिनको चरित्र कस्तो हुन्छ भनेर व्याख्या गरिएको भए राम्रो देखिन्थ्यो । यो घुस खाँदैन । बदमासी गर्दैन । बिचौलियाको काम गर्दैन । आफ्नो मेहनतमा बाँच्छ र कर तिर्छ । अर्थात् समाजमा कम्युनिस्ट छुट्टै देखिन्थ्यो, त्यो सदस्यबाटै देखिन थाल्थ्यो र सरकारसमेत त्यही किसिमको बनेर जान्थ्यो । यसतर्फ सैद्धान्तिक एवं आधारभूतरुपले काम हुन सकेन ।

नवौं महाधिवेशनमा हामीले सैद्धान्तिकरुपले केही राजनीतिक प्रस्तावनाहरु राख्यौं । त्यो ठीकै हिसाबले पारित भयो । आठौंबाटै हामीले यो कुरा उठाएका थियौं । यो धेरै ठूलो महत्वको कुरा थियो । एमालेको नवौं महाधिवेशनबाट पारित भएको राजनीतिक कार्यदिशालाई म युगीन भन्छु । त्यसले सामन्तवाद सकिएर समाज पुँजीवादी भएको र समाजवादतर्फको यात्रा तय भएको व्याख्या गरेको छ । तर, यसलाई राजनीतिक रुपमा व्याख्या गर्न बाँकी रह्यो ।

त्यसले हाम्रो अन्तरसंघर्ष कोसँग हुन्छ ? समाजवादतर्फ जाने हो भने अहिले जस्तो दलाल पुँजीको बर्चश्व छ र हामीले राष्ट्रिय पुँजीको निर्माण गर्नुलाई समाजका कस्ताकस्ता शक्तिहरुसँग गोलबन्द गर्छौं ? र, कस्ता शक्तिहरु हुन्, जसले हाम्रो यो यात्रालाई अवरोध गर्छ ? यसलाई राजनीतिक हिसाबले व्याख्या गर्नुपथ्र्यो । संगठन कस्तो हुन्छ र कसरी चल्छ ? आफैं चल्ने सेलका रुपमा कसरी विकसित गर्छ ? त्यहाँ व्यक्ति कस्तो हुन्छ र तिनको चरित्र कस्तो हुन्छ भन्ने व्याख्या भएर जान्थ्यो र अहिलेको कुनै पनि समस्या आउँदैनथ्यो ।

मान्छेहरु यसलाई सिद्धान्तका कुरा भन्ने गर्छन् । तर, सिद्धान्तको प्रश्न नै यस्तो हुन्छ । अरु दिनदिनैको नाफा घाटाजस्तो हरेक ठाउँमा समष्टिगतरुपमा प्रकट हुँदैन । त्यो विस्तारै अभिव्यक्त हुँदै जान्छ । अर्थात्, सैद्धान्तिकरुपमा भन्दा राजनीतिक कार्यदिशाको व्याख्या नगरेकाले पार्टीमा समस्या भयो ।

यहाँले पूर्वएमालेको कुरो गर्नुभयो, पूर्वमाओवादीतर्फको चाहिँ समस्या के हो ?

एमालेकै जस्तो समस्या माओवादीको पनि रह्यो । हेटौंडामा उहाँहरुले केही मोटो कुरा गर्नुभयो । समाज हिजोजस्तो सामन्ती रहेन भन्नुभयो । तर, त्यसको राजनीतिक अर्थ के हो र सांगठानिक अवस्था के हो भन्ने उहाँहरुले पनि व्याख्या गर्नुभएन ।

यहीबीचमा हामी एक प्रकारको दबावमा पर्‍यौं र एकतामा गयौं । यसले गर्दा यी सबै प्रश्नहरु अनुत्तरित रहन गए । र, आज यसले असली रुप देखाइरहेको छ ।

प्रक्रियागतरुपमा भन्दा एक्साइसौं शताब्दीको जनवाद भनेर माओवादीले भन्यो । हामी त जनताको बहुदलीय जनवादको लालमोहरिया । हामीले लोकतान्त्रिक अभ्यासको धेरै ठूलो कुरा गर्‍यौं । हामीलाई दुनियाँले पत्याए पनि । तर, त्यसपछिको गतिविधिमा विशेष गरी पार्टी एकीकरण प्रक्रियामा हामी लोकतान्त्रिक पनि हुन सकिरहेका छैनौं ।

जस्तो– पार्टी एकताकै कुरामा पनि मैले कुनैबेला भनेको थिएँ, दुई तान्त्रिकले निर्णय गरे, सबै तिनका पछि लागे । यसरी दुईवटामा शक्ति केन्द्रीकृत गरेर अनि यत्रो शक्तिलाई लतारेर लिएर जाने जुन तरिका थियो, त्यसमा त्रुटि थियो । पछि त गर्दागर्दै दुई अध्यक्षले जे गर्छन्, त्यही हुन्छ, भइहाल्छ भन्ने हुन थाल्यो । अहिले पनि त्यस्तै कुरा सुन्छु । अहिलेको एक्काइशौं शताब्दीमा हामी आफैंले कबोल गरेको लोकतान्त्रिक प्रणालीको समेत प्रक्रियासंगत कुरा भएन ।

ओली कमरेड, प्रचण्ड कमरेड, माधव कमरेडहरु उकास्नेहरुको पछाडि लाग्नु हुन्न । युद्धमा उकास्नेहरुबारे मैले भन्ने गरेको छु– विश्वप्रसिद्ध प्राचीन चिनियाँ भनाइ छ कि त्यो योद्धाचाहिँ सर्वोत्तम योद्धा हो, जसले युद्ध टार्नलाई अन्तिमसम्म प्रयत्न गर्छ । कतिपय मान्छेहरुमा त्यो देखिँदैन । हामी त्यस्ताहरुसँग बच्नुपर्छ ।

त्यसैले हामीले बुझेको, बुझाउन खोजेको र अवलम्बन गरिएको भनिएको सिद्धान्तको व्याख्यामै समस्या छ । हामीले अवलम्ब गरेको व्यवहारको, मान्छेहरुको सम्बन्धको, कमिटीहरुको सम्बन्ध, पार्टी र सरकारको सम्बन्ध, पार्टी र जनताको सम्बन्ध, यसलाई पनि हामीले ख्याल गरिरहेका छैनौ ।

मार्क्सवादी–लेनिनवादी भाषामा भन्दा संगठनात्मक प्रणाली पनि स्पष्ट भएन कि ?

भएन । संगठनको प्रश्नबाट पस्यौं भने पनि हामी ठीकै ठाउँमा पुग्छौं । किनभने, छलफलमा जाऔं, छलफलले जे निर्णय गर्छ, त्यही गरेर जाऔं । लोकतान्त्रिक प्रणाली भनेको यही हो । किन निर्णय मान्दिनँ भनेर बोलेर हिँड्नु ? यो त प्रक्रियागत कुरा भयो । तर, योभन्दा बाहेक अझै फराकिलो भएर मार्क्सवादी भएर हेर्छौं भने पनि आजको कार्यभार के हो ? दायित्व के हो ? समाजवादतर्फ जाने पार्टीले के गर्नुपर्छ ?

यी (राजनीतिक कार्यदिशा र संगठन) दुईवटै ठाउँमा हामीले टेकिरहेका छैनौं, जसले यी समस्याहरु आइरहेका छन् ।

राजनीतिक कार्यदिशा र संगठनात्मक प्रणालीको स्पष्ट व्याख्या नै नगरी पार्टी एकता भयो भनिसकेपछि अब यसको समाधान चाहिँ प्रक्रियासंगत ढंगले महाधिवेशनमा जानु नै त होला नि ? समस्या समाधानको बाटो के हो ?

महाधिवेशन गर्न पनि विधि चाहिन्छ । महाधिवेशनमा गएर विधि तय गरौंला भनेर त महाधिवेशनमै पुगिँदैन । महाधिवेशनमै जान पनि विधिका हिसाबले हिँड्नुपर्छ । महाधिवेशनको तयारी भनेको एकताको कतिपय काम बाँकी छ । सांगठानिक तयारी गर्नु छ । पालिकाहरु, जिल्ला भएर जानुपर्नेछ । सदस्यकै कुरा टुंग्याउनुपर्ने छ ।

अर्कोतिर, महाधिवेशनमा कुन विषयमा छलफल हुन्छ र कस्तो विषयमा छलफल हुन्छ भन्ने कुरालाई पनि व्यवस्थित गर्नुपर्ने छ । यी सबै विषयमा प्रक्रियासंगत हिसाबले गइएन भने महाधिवेशनमै पुगिँदैन ।

भदौ २६ को स्थायी कमिटी बैठक र भदौ २९ को अपानिले भनेजस्तै अब बस्ने केन्द्रीय कमिटीको बैठकबाट महाधिवशेनको विधि तय गर्नुपर्ने होइन ?

हो । नेकपासँग संविधान जारी भएपछि त्यसको निरापद कार्यान्वयनको जिम्मेवारी छ । त्यसै पनि यो संविधान दक्षिण एसियामै उदार लोकतान्त्रिक स्पेस दिइएको, समावेशिता र संघीयता सुनिश्चित गरिएको समग्रतामा वामपन्थी संविधान हो । यसलाई कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ । त्यसैले, नेकपाले छिटो र धेरै ठूला निर्णयहरु गर्दै जानुपर्ने हो । तर, तीन महिनामा सक्ने भनिएको पार्टीको एकीकरण प्रक्रिया अहिलेसम्म नसकिनु र कचिंगल हुनुले दुनियाँका सामु असाध्यै नालायकी हो ।

यति भएर पनि हामीले अस्तिको स्थायी कमिटीले एउटा निर्णय गरेका थियौं । मैले त्यसलाई नुरानी तेल दलेको भनेको थिएँ । त्यो दलेर पनि कमसेकम महाधिवेशनसम्म जाने बाटो बनाएका थियौं, त्यसलाई पनि भाँच्यौं । तर, अहिले पनि सग्रमतामा महाधिवेशनसम्म जाने बाटो नै हो ।

अब बस्ने बैठकले चाहिँ महाधिवेशनसम्म पुग्ने विधि र प्रक्रिया तय गर्ला त ? नेकपासँग योभन्दा अर्को विकल्प छ कि छैन ?

अबको बैठकले सुरक्षित हिसाबले महाधिवेशनसम्म पुग्ने बाटो खोज्नुपर्छ । महाधिवेशन जाने भन्नाले पार्टीभित्र ठूलो सहमति हो । त्यो मुद्दामा निर्णय गर्न पुग्यौं भने पार्टीले महत्वपूर्ण निर्णय गर्छ । त्यो भनेको आज, भोलि वा पर्सि महाधिवेशन गर्छ । तर, महाधिवेशनसम्म पनि यो पार्टी साँच्चै विधिसम्मत हिँड्छ भन्ने देखाउन सक्यौं भने यसको प्रगतिको ग्यारेन्टी भयो । यसले आशा देखाउने भयो । हामीले हामीसँग रहेको समस्याहरु पहिचान गर्ने भयौं । र, के कारणले राजनीतिक, सैद्धान्तिक र वैचारिक मुद्दाहरुलाई कमजोर बनायौं र आफैं घाँटी कोराकोर गर्ने अवस्थामा पुग्यौं भन्ने समाधान सैद्धान्तिक यसले (महाधिववेशनले) निकाल्छ ।

महाधिवेशनमा जानका लागि सैद्धान्तिक–राजनीतिक अन्योल एकातिर छ भने अर्कोतिर महाधिवेशनपछि को अध्यक्ष हुने भन्ने हानाथापले पनि समस्या पारेको हो कि ?

सामुहिकता र संस्थागत जीवनलाई अवमूल्यन गर्न थाल्छौं, त्यसपछि त व्यक्ति र तिनका स्वार्थ, आग्रह र मनमौजी हावी हुने नै भयो । अहिले बिग्रेको चाहिँ यही नै हो । कसले भाग खोजेको छ भन्ने यी मनोगत कुरा हुन् । सबैका व्यक्तिगत ईच्छाहरु पूरा गरेर सक्दा पनि सकिँदैन ।

हामीले गर्ने भनेको ती व्यक्तिको ईच्छा, आकांक्षा र संकल्पहरु अनि तिनको प्राप्ति र अप्राप्तिहरुको हिसाब गर्ने पनि एउटा सीमा कोरौं । त्यसका लागि एउटा विधि बनाऔं । त्यो विधिचाहिँ भत्किएको छ । अहिले पुनर्जिवित गर्ने भनेको संस्थागत जीवन नै हो ।

विधि तय गरेर महाधिवेशनसम्म सफलतापूर्वक पुगिएला भनेर आशावादी हुने ठाउँ कत्ति छ ?

यसलाई पनि धेरै टाढाबाट हेर्न सकिएला । तत्काल हेर्दा मंसिर १३ गतेको सचिवालय बैठक कस्तो होला ? अध्यक्ष एवं प्रधानमन्त्री कसरी प्रस्तुत हुनुहोला ? यसले पनि निर्धारण गर्ला । बाहिर उहाँलाई मच्चाउने वा उहाँको पक्षमा देखिने र नाम कमाउनेहरुले बोलेजस्तै इँटको जवाफ पत्थरले दिइन्छ भन्ने हिसाबले जानुभयो भने एउटा नतिजा आउला । होेइन, प्रधानमन्त्री (पहिलो नागरिक भन्ने चलन छ नि) र पार्टी अध्यक्षको जिम्मेवारीका साथ प्रस्तुत हुन्छु भन्नुभयो भने अर्कै नतिजा आउला । जस्तो– मलाई भन्नुभयो भने…

मानौं, तपाई केपी ओलीको ठाउँमा भएको भए यस्तो बेलामा के गर्नुहुन्थ्यो ?

७० वर्षको कम्युनिष्ट आन्दोलनमा, यसमा बगेको मानिसको रगत, यसका आशा र विश्वास, उकाली–ओराली, ती समस्त मानिसहरुको म प्रतिनिधि हुँ । यसर्थ मसँग त्यो जिम्मेवारी छ । म तीन करोड मान्छेहरुको पहिलो जिम्मेवार मान्छे हो ।

म मेरा पूर्खा, नेपाली पूर्खाहरुले सामाजिकता, सामुहिकता, सहिष्णुता, आदर्श र निष्ठा जे हुर्काएर गए, त्यसका पनि म पहिलो शिक्षक हुँ । मैले भए त्यसरी जिम्मेवारीवोध गर्थें । आशा गर्छु, कमरेड ओली पनि त्यसरी नै प्रस्तुत हुनुहुनेछ । यसले नै हाम्रो आन्दोलनलाई ठाउँमा लैजान्छ ।

ओली कमरेड, प्रचण्ड कमरेड, माधव कमरेडहरु उकास्नेहरुको पछाडि लाग्नु हुन्न । युद्धमा उकास्नेहरुबारे मैले भन्ने गरेको छु– विश्वप्रसिद्ध प्राचीन चिनियाँ भनाइ छ कि त्यो योद्धाचाहिँ सर्वोत्तम योद्धा हो, जसले युद्ध टार्नलाई अन्तिमसम्म प्रयत्न गर्छ । कतिपय मान्छेहरुमा त्यो देखिँदैन । हामी त्यस्ताहरुसँग बच्नुपर्छ ।

युद्ध जोसुकैका लागि जोखिमपूर्ण कुरा हो । त्यो नेपोलियनलाई पनि जोखिम थियो, हिटलरलाई पनि । युद्धलाई जोखिम ठान्दै नठान्ने त गिद्ध र स्यालहरु हुन् । किनभने, उनीहरुलाई युद्धमा कुनै जोखिम हुँदैन । युद्ध भयो भने उनीहरु अघाउँछन् । हो, यस्ता मामलाहरुबाट राजनीतिमा जोगिनुपर्छ । हाम्रा नेताहरु बच्नुपर्छ । सचिवालय, स्थायी कमिटी र सबै नेता–कार्यकर्ताहरुले यस्ताहरुबाट बच्नुपर्छ ।

तपाईले प्रधानमन्त्रीलाई सुझाव दिने गर्नुभएको छैन ?

अहिले त मेरो कुरा भएको छैन । अस्ति (भदौ २६) को स्थायी कमिटी अगाडिको संकटका बेला अलि बढी कुरा भएको थियो ।

मंसिर ३ को सचिवालय बैठकमा प्रधानमन्त्री ओली बस्न नमान्दा घनश्याम भुसालहरुले मिलाए भन्ने चर्चा छ नि ? त्यस्तै भएको हो र ?

जुन बैठक सचिवालयले मंसिर ३ गते बस्ने भनेर उठ्यो । प्रधानमन्त्रीले जान्न भन्नु राम्रो कुरा भएन, साह्रै बचकना कुरा हुन्छ । दुनियाँले के भन्ला ? दोस्रो कुरा, प्रचण्डजी र अरु कमरेडहरुले आरोपपत्र लगाउनुभयो भन्ने थियो ।

उहाँ (प्रधानमन्त्री) ले एक हप्ताको समय चाहिन्छ भन्नुभयो । एकातिर बैठकमा जान्नँ भन्ने र अर्कातिर एउटा अध्यक्षले बैठक एक हप्ता सारौं भन्दा नमान्ने कुरा कसैलाई पनि राम्रो होइन । यस्तो दुर्भाग्य रोकौं भनेर मैले केही प्रयत्न गरेको मात्रै हुँ ।

अब प्रचण्डलाई प्रधानमन्त्री ओलीले मंसिर १३ को बैठकमा लिखित जवाफ दिँदै हुनुहुन्छ । प्रधानमन्त्रीले जवाफ त दिन पाउनुहन्छ हैन ?

जवाफ दिन पाउनुहुन्छ । अघिल्लोपटक ओली कमरेड नै प्रधानमन्त्री हुनुहुन्थ्यो । र, उहाँमा अविश्वास आइसकेको थियो । हामी संसदमा अल्पमत परिसकेका थियौं । बिहानै स्थायी कमिटीको बैठक थियो, दिउँसो भोटिङ हुँदै थियो । त्यसबेला हाम्रै केही साथीहरु आउनुभयो र कानून÷संविधान देखाएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्दैन भन्ने सुझाव दिनुभयो ।

त्यसबेला मैले भनेको थिएँ, इतिहासमा कसबाट सिक्ने ? दुनियाँ जस्तो पनि नजीर छ । पहिले श्रीमती कसैले लग्यो भने जार काट्ने प्रचलन थियो । त्यो एक प्रकारले सामाजिक मान्यताप्राप्त थियो । मैले सुनेअनुसार, प्रमाणित होइन, मलाई दोष नलागोस्, पञ्चायतकालमा काँग्रेस नेता भीमबहादुर तामाङकी श्रीमतीले अर्को विवाह गरिन् रे ।

त्यसपछि उहाँले जेलमै बोलाएर आशिर्वाद दिँदै श्रीमती लैजानेलाई भन्नुभएछ, ‘यिनको चाँडै रिसाउने बानी छ, तर पेटको असाध्यै सफा छिन् ।’ पछि घर आएपछि श्रीमतीको छुटेको कपडासमेत पुर्‍याउनु जानु भयो रे । मैले त्यो बैठकमा भनेको थिएँ, हामीले जार काट्नेबाट सिक्ने कि भीमबहादुरहरुबाट सिक्ने ? संसदमा अल्पमतमा परिसकेपछि संविधानले राजीनामा दिनुपर्छ भनेको छैन भनेर भन्नुहुँदैन ।

ओली कमरेडले यो कुरा हेक्का राखेको हुनुपर्छ । मलाई डरचाहिँ उहाँ (ओली) सँगै कम छ । उहाँ प्रधानमन्त्री हो, यत्रो ठूलो पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँले त्यस्तो (ईंटको जवाफ पत्थर दिने) गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । उहाँले त्यसो नगर्दा पार्टीको कोर्ष सही दिशातिर अगाडि बढ्छ ।

अहिले नेकपा सचिवालयको बहुमतले अध्यक्ष एवं प्रधानमभन्त्री ओलीलाई दुईमध्ये एक पद छोड्नुस् र त्याग प्रदर्शन गर्नुस् भन्दैछ । अब यो माग स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म पुग्ला । त्यसबेला नेकपाको बहुमतले सरकारमा रहेको टीम फिर्ता हुनुपर्छ भन्यो भने त्यस्तो बेला तपाईहरु सरकारबाट सर्लक्क फिर्ता हुनुहुन्छ त ?

मेरो वा कुनै मन्त्रीको बारेमा कुरा भएन । पार्टीले निर्णय गर्दा हामी हरखबत तयार छौं । तर, प्रधानमन्त्रीका बारेमा गरिने निर्णय बहुमतका आधारमा मात्रै नगरौं । मूल्य, मान्यता, सहिष्णुता र जिम्मेवारी पनि सम्झिऔं है भन्ने मेरो आग्रह अस्तिको स्थायी कमिटी बैठककै बेला पनि थियो ।

अस्तिको बैठकले त तपाईले भनेजस्तै प्रधानमन्त्री र अध्यक्ष दुवै पद जोगाउने गरी जिम्मेवार निर्णय गरेकै थियो त । फेरि किन, कसका कारणले समस्या आयो ?

प्रधानमन्त्रीले साथ दिनुपर्‍यो भन्नु भएपछि मैले त्यतिखेरै भनेको थिएँ– हाम्रो परम्परामा, सम्भवतः भागवतमा कतै छ कि कुनै भक्तले ईश्वरको भक्ति गर्दै भन्छ, हे ईश्वर यो चराचर जगत तिम्रो सृष्टि हो । र, आज म यो सारा चराचर जगत तपाईमा समर्पण गर्छु । त्यसैगरी, यो प्रधानमन्त्री, यो अध्यक्ष, यो सबै आन्दोलन पार्टीकै उपज÷उत्पत्ति हो । म यो सारा मानसम्मान पार्टीकै पक्षमा रहन्छु है भन्या थें । म त्यस्तो ओलीको पक्षमा लड्छु । म संगठनको निर्णय मान्दिनँ भन्ने ओलीको पक्षमा लड्दिनँ ।

बहुमतले निर्णय गर्ने कुरा यो हाम्रो स्थापित विधि हो । योभन्दा अर्को उपाय छैन । त्यसलाई नमान्ने, उल्लङ्घन गर्ने भन्नै हुँदैन, सोच्नै हुँदैन । यो जबजवादीको कुरा छोड्दिनुहोस् न, आजको कुनै पनि सभ्य मानिसले आजको शताब्दीमा बहुमत, छलफल र निर्णय मान्दिनँ भन्नु त हुँदैहुँदैन । तर, यसको अर्थ बसिहालौं, बहुमत पुर्‍याइहालौं । अनि बहुमत पुर्‍याउन सारा ध्यान र प्रयत्न लगाऔं । आज यतातिर बहुमत, भोलि उतातिर बहुमत पुर्‍याऔं भन्नेखालको बहुमतवादको खेलमा पनि फस्नु हुँदैन ।

यसर्थ, सम्पूर्ण शक्तिका साथ छलफल गर्ने र निर्णय कार्यान्वयन गर्ने हो । यो आन्दोलन जोगाउने कुरा हो । गुट र मान जोगाउने हो भने त म सत्तामा मन्त्री छु, यही जोगाउनेतिर लाग्नुपर्‍यो, मन्त्री हुन चाहन्छु भन्नेले अर्को थोक गर्नुपर्‍यो ।

डाइनोसरको कथाजस्तै भयो हाम्रो पार्टीमा । बच्चाबच्चीलाई डाइनोसोरको कथा सुनाउने, डाइनोसर यसरी रिसाउँथ्यो, उसरी रिसाउँथ्योे भनेर आतंकित पार्ने । अब, अध्यक्षहरुको कथा सुनाएर पार्टीलाई आतंकित पार्ने समय गयो ।

भदौको स्थायी कमिटी बैठकमा बहुमतले जिम्मेवारी र बुद्धि पुर्‍याएको होइन ? केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदमा कायम राखेको होइन ? किन फेरि भनाभन शुरु भयो ? गल्ती कोबाट भयो ?

जोसुकैले पनि स्वीकार गर्ने, गर्नैपर्ने तथ्य के हो भने अस्तिको स्थायी कमिटी बैठकको निर्णयले समग्रतामा महाधिवेशनमा जाने बाटो खुलेको थियो । तर, व्यक्तिगतरुपमा भन्नुपर्दा अध्यक्ष एवम् प्रधानमन्त्रीको पक्षमा निर्णय भएको थियो । स्थायी कमिटीले त्यत्रो शक्तिका साथ उहाँलाई दिएको त्यो तागत किन प्रयोग गर्नुभएन भनेर म आउने बैठकमा उहाँ (ओली) सँगै प्रश्न गर्छु ।

अर्कोतर्फ, प्रचण्ड–माधव नेपाल लगायतका पाँच भाइ नेताहरु बैठक बस्दै हिँड्ने, गुटबन्दी गर्दै हिँड्ने ? प्रधानमन्त्रीले यस्तो प्रश्न गरिरहनुभएको छ, तपाई यसमा के भन्नुहुन्छ ?

आजको जमानामा को कहाँ बसे भन्ने कुरालाई मचाहिँ वास्तै गर्दिनँ । हामी बाँचिरहेको समय लेनिनको पालाको समय होइन । त्यसबेला माथिकालाई मात्रै सूचना हुन्थ्यो, तलकालाई सूचना हुँदैनथ्यो । अहिले माथिकालाई भन्दा तलकालाई धेरै सूचना हुन थालिसक्यो ।

त्यसैले को कहाँ बैठक बस्यो भन्ने लेखाजोखा बेकार कुरा हो । किनभने, बैठक त सबै बसिरहेका छन् । जसले प्रश्न उठाइरहेको छ, ऊ पनि बैठक नै बसिरहेको छ । बैठक बसेर के निर्णय गरे, मुख्य कुरा यो हो । षडयन्त्र गरे ? स्थायी कमिटी कमिटी र केन्द्रीय कमिटीलाई भुलभुलैयामा पार्ने कुरा गरे ? सांसदहरु खरीद–बिक्री गर्ने कुरा गरे ? त्यस्तो कुनै कुरा गरे भने त्यो अपराध हो ।

होइन, पार्टीको कुरा गरे । छलफल गरे, पार्टी किन चलेन भने भने त्यो राम्रो बैठक हो । त्यो बैठक बालुवाटारमा बसोस् वा अरु कुनै ठाउँमा । जुन बैठकमा मुलुक र जनताको बारेमा एजेण्डा हुन्छ, त्यसलाई गुट भन्नु हुँदैन । तर पार्टी, जनता र देशका विरुद्ध कुरा गरेको छ भने त्यो जतिसुकै महान् मानिसहरुले प्रक्रिया पूरा गरेर बसेको भए पनि त्यो अपराध हो । आजको सूचनाको दिनमा वेबिनार हुन्छ, संसारभर गुटबन्दी गर्न सकिन्छ । त्यसो भएकाले पाँच÷सातजना बसे भन्ने कुराको ईस्यु नबनाऔं ।

यसको अर्थ, पार्टीभित्रको वातावरण प्रधानमन्त्री ओलीले नै बिर्गानुभयो हैन त ? तपाई आगामी बैठकमा ओलीलाई यही सोध्दै हुनुहुन्छ कि ?

मेरो भाषामा उहाँ (ओली) ले आफ्नो पक्षमा भएका निर्णयहरुलाई किन सदुपयोग गर्नसक्नु भएन भनेर एउटा स्थायी कमिटी सदस्यको हैसियतले सोध्छु ।

दुई अध्यक्षबीच जुन पत्राचार भयो, यसमा चाहिँ कसको बढ्ता गल्ती देख्नुहुन्छ ?

पत्राचारलाई महत्व दिन्नँ, जसले लेखे पनि हुन्छ । पत्रले वातावरण कसरी बिग्रँदै भयो भन्ने चाहिँ महत्वपूर्ण छ ।

प्रधानमन्त्रीले मेरो जीन्दगीकै ठूलो अपमान भयो भन्नु भएको छ । यो त ठूलो कुरा हो नि, हैन र ?

उहाँले के भन्नुभयो, अर्काले के लेख्यो र सोच्यो भन्ने छोड्दिनुहोस् । पाँचजनाले बैठक मागेका थिए भने बैठक बसिदिएको भए यो सबै कुरा त्यतिखेरै सकिने थियो । चिठी लेख्नु अगाडि नै बैठक बस्नुपर्थ्यो । त्यसबेला बैठक किन बसेन भन्दा प्रधानमन्त्रीले एजेण्डा नै सहमतिमा तय हुनुपर्छ, कसैले मागेर बैठक बस्ने होइन भन्ने कुरा गर्नुभयो ।

त्यस्तो धेरै कानूनी कुरा गरेर पार्टी अगाडि बढ्दैन, राजनीतिक रुपमा बस्नुपर्छ । पाँच जनाले मागे भने मागिहाल्यो नि । कानूनी कुरा पनि त बैठकमै भन्नुपर्‍यो नि ।

मार्क्सले हेगेललाई दिएको एउटा जवाफ छ– तिमीले भनेको चिन्तनको सत्यता मैले मानेँ । तर, त्यो चिन्तनको शुद्धता र सत्यता प्रमाणित गर्छौ कहाँ ? कि चिन्तनमै प्रमाणित गर्छौ ? चिन्तनको प्रमाणित त व्यवहारमा गर्नुपर्ने होला नि ? भौतिकवादमा मार्क्सको यो असाधारण र दूरगामी तर्क हो ।

त्यस्तै एजेण्डा तय गर्ने पनि बैठकले नै हो । म संगठनमा छु भने त्यहाँ म मात्रै छैन । संगठनमा म छु, ममा संगठन छ । हामीले यो द्वन्द्ववाद नै खल्बल्याइरहेका छौं । मैले भनेको हुन्न भने निर्णय नै हुन्न । मैले नदेखेको संसार नै होइन । मैले नमानेको सत्य, सत्य होइन भन्न थाल्यौं भने हामीलाई तत्काल आत्मरति त होला । तर, पार्टी अगाडि जाँदैन । गुट पनि धेरै रहँदैन । मेरै गुट पनि भोलि फुट्छ ।

वास्तविकताबाट गुमराहमा राखेर मैले मेरो गुट कति दिन बचाउन सक्छु र ? मैले बाहिर झुठो बोल्छु भने त्यो घरभित्र सर्छ, घरभित्र झुटो बोल्छु भने बाहिर सर्छ । मैले अरुसँग झुटो बोल्छु भने त्यो मेरो सन्तानलाई झुटो बोल्न सिकाइरहेको हुन्छ । मन मिल्नेहरुको टीम बचाउन पनि बढी भन्दा बढी सत्य बोल्नुपर्छ, झुटो बोल्नेको टीम धेरै चल्दैन । आजको सत्य के हो ? मैले सिद्धान्तको कुरा गरिरहँदा वास्तविकताबाट उम्कन सक्दिनँ ।

अढाइ वर्ष, तीन वर्षसम्म पनि एकता प्रक्रिया नटुंग्याउने हो भने बाँकी दुई वर्षपछि यो एकता कायमै रहे पनि यतिकै सडेर जान्छ । त्यसैले रुपान्तरण जरुरी छ । अतः केपी ओली, प्रचण्ड, माधव, झलनाथ सबै सचिवालय कमरेडहरुले यो कुरा बुझेर निर्धारित बैठकबाट निष्कर्ष निकाल्नुहोस् । यदि, आजको लोकतान्त्रिक प्रक्रियाको विवाद यो हो भन्ने छ भने लिएर (स्थायी कमिटीमा) आउनुहोस्, अथवा पार्टीको सिद्धान्त बारे विवाद छ भने त्यो पनि ल्याउनुहोस् । यी दुवै विषय छ भनेर फेरि कसैले भन्दैन हेर्नु न । त्यो लिएर आउनुपर्‍यो नि ।

त्यसो हुँदा, अहिलेको समस्या खुद्रा कुरामा छ । पार्टीको अन्तरविरोध नहुनुपर्ने ठाउँमा छ । यस्तो अन्तरविरोधले पार्टीलाई अप्ठ्यारो पार्न हुँदैनथ्यो, त्यस्तो मुद्दामा छ । यस्तो कुरा सचिवालयमा समाधान गर्नुहोस् । यदि, त्यहाँ भएन भने स्थायी कमिटीले सोच्छ, स्थायी कमिटीले सकेन भने केन्द्रीय कमिटीले सोच्नुपर्छ । त्यो सोच्छ । किनभने, लोकतन्त्र किन साँचो हो भने यसको अन्तिम औचित्यको बुँदा भनेकै समाजमा धेरै मानिस असल हुन्छन् । पार्टीमा पनि धेरै मानिस असल हुन्छन्, केहीकेही मानिसहरु खास घटनामा खराब होलान् ।

अब दुवै अध्यक्षको साझा प्रतिवेदन स्थायी कमिटीमा आउने सम्भावना कति छ ? साझा प्रतिवेदन आउन के गर्नुपर्छ ?

डाइनोसरको कथाजस्तै भयो हाम्रो पार्टीमा । बच्चाबच्चीलाई डाइनोसोरको कथा सुनाउने, डाइनोसर यसरी रिसाउँथ्यो, उसरी रिसाउँथ्योे भनेर आतंकित पार्ने । अब, अध्यक्षहरुको कथा सुनाएर पार्टीलाई आतंकित पार्ने समय गयो । सचिवालयकै पनि औचित्य पनि बाँकी छ भने यो यसपटक पुष्टि गर्नुपर्छ ।

सचिवालयले यस्तो प्रस्ताव ल्याओस्, जसले पार्टी एकता बचाउँछ र हामीलाई अग्रगमन पनि दिन्छ । एकता बचाएर, यसलाई दहजस्तो बनाएर मात्रै पनि राख्दैन, यसले बाटो पनि खुल्नुपर्छ ।

यसको दायित्वचाहिँ प्रधानमन्त्री ओलीमा बढी छ ?

कमिटीमा भन्दा सचिवालय हो । अनि, व्यक्तिगतभन्दा उहाँ (ओली) मा बढी जिम्मेवारी छ । किनभने, उहाँ प्रधानमन्त्री र अध्यक्ष पनि हो । पाँचजनाले बैठक बोलाइदिनुहोस् भन्नुभयो, यसको महत्व उहाँले बुझ्नुपर्छ ।

अब पार्टीभित्र सहमतिको वातावरण बनाउनका लागि भदौ २६ को स्थायी कमिटीको निर्णयमै टेक्ने कि अर्को आधार खोज्ने ?

भदौ २६ लाई टेकेर अगाडि बढ्नुपर्छ । यसको व्याख्या पछि गरौंला । अस्ति जहाँ टेक्यौं, त्यसले मात्रै पुग्दैन । त्योभन्दा अलग्गै पनि केही हुँदैन । पार्टीले यही गर्छ भन्ने लाग्छ ।

यसको अर्थ, अध्यक्ष र प्रधानमन्त्रीमा केपी ओली नै कायम रहनुहुन्छ ?

फेरि पनि मैले त्यसो भनेको छैन । त्यसतर्फ जान चाहन्नँ । कताका माग के छन् ? हिजो मेरो धारणा के थियो, आज के छन् भन्ने त्यसलाई बैठकमै भन्छु । समय धेरै गइसकेकाले भदौ २६ ले पुग्दैन । तर, समय गइसक्यो, अलग्गै केही गरौं भनेर पनि पुग्दैन । हाम्रो एकता पनि कायम रहनुपर्छ, गति पनि लिनुपर्छ ।

एकता र रुपान्तरणको नारा लिनुपर्छ । केही साथीहरु एकता भन्छन्, रुपान्तरणलाई मान्दैनन् । अनि रुपान्तरण भन्नेले एकतालाई खासै ध्यान दिँदैनन् । यी दुईलाई छुट्याएर समाधान निस्कँदैन ।

नेकपामा तत्कालै निकास चाहिएको छ । तर, यसको पहलचाहिँ कसले गर्ने त ?

अहिलेसम्म हामीले सचिवालयलाई पर्खिरहेका छौं । त्यहाँ भएन भने हामी (स्थायी कमिटी) ले मजाले पार लगाउँछौं । बखुबी पार लगाउँछौं । सचिवालय एउटा वैधानिक ठाउँ भएकाले मानेका हौं ।

उसोभए मंसिर १८ मा बोलाइएको स्थायी कमिटी बैठक अगावै समस्या हल भएन भने तपाईहरुले समाधानको प्रस्ताव ल्याउनुहुन्छ त ?

स्वभावैले ल्याउँछौं । मिति त नभनौं, तर बखुबी ल्याउछौं ।

तपाई त पूर्वएमालेमै हुँदा छुट्टै राजनीतिक कार्यदिशा बनाउने मान्छे हो । अहिले राजनीतिक कार्यदिशा र संगठनात्मक विधि दुबैमा पार्टी अल्मलियो भन्दै हुनुहुन्छ, पार्टीलाई निकास दिने प्रस्ताव घनश्याम भुसालले आफैंले ल्याए हुँदैन ?

आठौं महाधिवेशनमा जुन प्रस्ताव हामीले पेश गरेका थियौं । त्यही वरिपरि नेकपाको कार्यक्रम बनेको छ । विभिन्नरुपले व्याख्या भएको छ । फेरि पनि भनौं– राजनीतिक कार्यदिशा संगठनमा अनुवाद भएन । त्यहाँ गएर रोकियो । देश बदलिने कुरा सबैले माने । पार्टी बदलिने कुरा पनि सबैले माने ।

समाज बदलेर समाजवाद ल्याउने कुरा पनि सबैले माने । तर, त्यो गर्नलाई आफैं पनि बदलिनुपर्थ्यो, त्योचाहिँ मान्छेहरुले मानिदिएनन् क्या ! माथिल्ला मान्छेहरुमै समस्या छ । विचार र सिद्धान्तको व्याख्या गर्ने कुरा सचिवालयमा अरुचि देख्छु । त्योभन्दा बरु स्थायी कमिटीमा जाँगर देखिन्छ । त्योभन्दा तलचाहिँ धेरै जाँगर र इच्छा छ ।

हामीले नगरेको होइन, औपचारिकरुपमा नराखेको मात्रै हो । पछिल्लो समयमा मैले किन मर्छ कम्युनिष्ट पार्टी ? कसरी बाँच्छ कम्युनिष्ट पार्टी ? जस्ता शीर्षकमा धेरै कुरा लेखेको छु । पर्याप्त मात्रामा लेखेको छु । औपचारिकरुपमा पार्टीमा पनि अब पेश गर्छु ।

यसको मतलव, तपाईले दस्तावेज ल्याउने सम्भावना छ ?

दस्तावेजको सबै कुरा तयार छ । तीन दिनभित्र पार्टीमा पेश गरिने औपचारिक ढाँचामा ल्याउन सकिन्छ । या त पार्टी (सचिवालय) ले लिएर आउँछ, होइन भने म स्थायी कमिटी सदस्य भएकाले मेरो दायित्व हो । मलाई पार्टीले ठूलो लगानी गरेको छ ।

नेकपामा दोस्रो पुस्तालाई नेतृत्वमा आउन प्रधानमन्त्री ओलीले ढोका खोलिदिनुभएको छ । उहाँले अब ६० वर्ष हाराहारीकालाई नेतृत्व दिनुपर्छ भनिसक्नुभयो । अब, तपाईले विचार, सिद्धान्त र उमेर सबै हिसाबले नेकपाको नेतृत्वको दाबी गर्ने बेला भएन ?

द्वन्द्ववादको व्याख्यामा म बढी विकासवादी हुँ भन्ने गरेको छु । हाम्रो इतिहासमा पनि पुष्पलाललाई गद्दार भनेर धेरै वर्ष बितायौं । खासगरी मोहनविक्रम सिंहले पुष्पलाललाई गद्दार भन्न सिकाउनुभयो । हामी पुराना मालेहरुले मोहनविक्रमलाई गद्दार भन्यौं । केशरजंग रायमाझीको त कुरै भएन ।

रिस उठेपछि गद्दार भनिहाल्ने, असहमत हुनेलाई गद्दार भनिहाल्ने । त्यसो हुँदा, अहिलेको नेतृत्वले तपाईंहरु छोडिहाल्नुहोस्, हामी चलाइहाल्छौं भनेन भनेर उहाँहरुले सोच्नुभएको छ भने त्यो गल्ती सोच्नुभएको छ । हामीले त हाम्रो कम्युनिष्ट इतिहासलाई सच्याउन खोजेको हो । मेरो तर्फबाट भन्नुहुन्छ भने त्यही हो ।

म मेरो असहमति सम्पूर्ण सामथ्र्यका साथ राख्छु । तर, मेरो प्रयत्न सहिष्णु, बहस र छलफलको मूल्यलाई पनि जोगाउनु हो । आफू महासचिव हुनलाई कस्ता–कस्ता षडयन्त्र र गुटबन्दी गरे भन्नेदेखि लिएर अनेक कुरा हाम्रै इतिहासमा सुन्न पाइन्छ । हामीले त्यस्तो दोहोर्‍याउनुहुन्न ।

फेरि, हामी अनेरास्ववियूबाट आएकाले पनि हुनुपर्छ, ०३६ सालदेखि नै एउटा अभ्यासमा हुर्किऔं । हारेपछि छोड्ने, जितेपछि लिने । झगडा गर्ने, कुटाइ खाने, वार्ता गर्ने र फेरि सहमतिमा पुग्ने संस्कारबाट हुर्कियौं । त्यसैले अहिलेको नेतृत्वभन्दा आउनेवाला दोस्रो पुस्ताले राम्ररी चलाउँछ । त्यो भनेकै दाबी हो ।

तर, नेकपामा दोस्रो पुस्ता पनि कामै नलाग्ने भयो भन्ने पनि सुन्न थालिएको छ नि ?

त्यो आशंका गर्ने प्रशस्त ठाउँ छ । इतिहास नै त्यस्तो छ त । राणाहरुलाई हेर्नुभयो भने बाबु मारेर, दाजुहरुको हत्या गरेर, राजाहरुले वंशजहरुको हत्या गरेर आउँथे । हाम्रै पार्टीमा पनि त्यस्तो अभ्यास भयो होला । तर, एउटा पिँढी म कुर्सी छोड्दै छोड्दिनँ भन्ने, अनि अरुले तानेको तानै गर्ने संस्कार हामीमा देखिएको छैन । सहज हस्तान्तरण हुनुपर्छ । एमालेको नवौं महाधिवेशन भयो, दशैंमा सायद स्वभाविकरुपमा अघिल्लो पुस्ता विदा हुन्थ्यो । माओवादी एक्लै रहेको भए पनि त्यही हुन्थ्यो । अहिले एकताको प्रक्रिया नै नटुंगिएको हुनाले….

त्यसोभए, तपाईहरु अबको नेतृत्वका लागि तयार हुनुहुन्छ ?

नेतृत्वमा जसरी गुटका नाममा खुट्टा तानातान छ नि, हाम्रो पुस्तामा त्यस्तो छैन, योचाहिँ म भन्न सक्छु । हाम्रो पुस्तामा एकले अर्कासँग कुरा गर्ने, ठाउँ दिने संस्कार धेरै राम्रो छ ।

नयाँ र पुरानो भन्दा पनि विचारको पुस्तान्तरण, व्यक्ति भन्दाको भन्दा पनि विचारको पुस्तान्तरणको कुरा गर्छु । मैले योभन्दा युवा हुँदा पनि उमेरको कुरा गरेको छैन । अमेरिकी निर्वाचनमा देखिहाल्नुभयो, जसको एजेण्डा र नारामा भविष्य छ, उही युवा हो । जैविक कुराले मात्रै त हुन्न । सहज, सौहार्द्र र शान्तिपूर्ण रुपले हस्तान्तरण गर्ने समाज हामीले बनाउने हो । हामी त नेल्सन मण्डलाको कुरा गर्छौं, तर मण्डलाबाट सिक्दैनौं ।

सचिवालयका सबै नेतालाई सल्लाहकार बनाएर तपाईहरु नेतृत्वमा आउँदा के हुन्छ ?

भविश्यमा हुने त त्यही हो । अहिले त हामी तात्कालिक मामलामै केन्द्रित छौं ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

भिडियोमा हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment