+
+
Shares

हत्या आरोपी वडा अध्यक्ष धरौटीमा छुटे, घर फर्कदा अबिर जात्रा

हरि अधिकारी हरि अधिकारी
२०७७ मंसिर ११ गते २०:२३

११ मंसिर, विराटनगर । हत्या आरोपी विराटनगर महानगरपालिका– १४ का वडा अध्यक्ष बलदेव यादव धरौटीमा छुटेका छन् । विराटनगर– १४ कै ५५ वर्षीय समानन्द यादवको हत्या आरोपी यादव जिल्ला अदालत मोरङमा हाजिर भएकै दिन धरौटी बुझाएर छुटेका हुन् ।

हत्या आरोपी यादव किटानी जाहेरी परेपछि डेढ वर्षयता फरार थिए । बिहीबार जिल्ला अदालत मोरङ हाजिर भएका यादवलाई जिल्ला न्यायाधीश तेजबहादुर खड्काको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

आदेश्पछि यादव धरौटी बुझाएर छुटेको जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए । यादव हाजिर भएकै दिन छुट्दा उनका समर्थकले अविरजात्रा गरेका छन् ।

यादवकै घरमा बसेको थियो पञ्चायती

विवाहको विषयमा विवाद हुँदा ३२ जेठ २०७६ मा विराटनगर महानगरपालिका– १४ का वडा अध्यक्ष बलदेव यादवको घरमा बसेको पञ्चायतीमा छिमेकी ५५ वर्षीय समानन्दमाथि कुटपिट भएको थियो ।

कुटपिटबाट घाइते यादवको एक महिनापछि २६ असार २०७६ मा मृत्यु भयो । सामानन्दले जेठा छोराको विवाह गरिदिने वचन दिएका थिए । तर छोराले नमानेपछि वडा अध्यक्ष यादवको घरमा समानन्दमाथि कुटपिट भएको थियो । कुटपिटमा वडाध्यक्ष बलदेवसहित अन्य दुई वडा अध्यक्षको सहभागिता रहेको पीडित परिवारको आरोप छ ।

यादवको मृत्युपछि परिवारले घटनामा संलग्नको आरोपमा तीनजना वडा अध्यक्षसहित १० जना विरुद्ध किटानी जाहेरी दिए ।

जाहेरी परेका तीन वडाध्यक्षमध्ये २ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । घरधनीसमेत रहेका विराटनगर– १४ का अध्यक्ष बलदेव यादवलाई पूर्पक्षका लागि धरौटीमा छाड्ने आदेश दियो ।

गत १४ जेठमा अदालतमा उपस्थित भएका विराटनगर – १८ का वडा अध्यक्ष सञ्जय साह र २४ माघमा हाजिर भएका जहदा गाउ“पालिका– १ का वडा अध्यक्ष प्रदिपचन्द्र यादव हाजिरलाई थुनामा राख्ने आदेश दिएको थियो ।

उच्च अदालत विराटनगरले प्रदीपचन्द यादवलाई जिल्लाको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश दिएको थियो । साहको हकमा भने जिल्लाको आदेश सदर गरेको थियो ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?