Comments Add Comment

‘यसपालि पनि जित्छु, अर्को पटक उपाध्यक्षमा लड्छु’

१२ मंसिर, काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघको भोलि शनिबार हुने निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा उत्रदैछन् । निर्वाचित हुने ६३ सिटमा १२७ जनाको उम्मेदवारी परेको छ ।

यसमा पनि ४ पदाधिकारीका लागि ८ जनाले दुई प्यानलबाट उम्मेद्वारी दिएका छन् । तर दुबै प्यानलले पदाधिकारीमा महिलालाई अघि सारेनन् । समावेशिताको वकालत गर्ने निजी क्षेत्रका नेताहरु पनि अहिले चुपाचाप छन् ।

वस्तुगत तर्फको उपाध्यक्षमा उम्मेद्वार बन्ने तयारी गरेकी केन्द्रीय सदस्यमा हृयाटि्रक गरिसकेकी महिला उद्यमी कमला श्रेष्ठले पनि अन्तिममा आएर उम्मेद्वारी दिइनन् । उनी पुनः केन्द्रीय सदस्यमा नै चौथो पटक उम्मेद्वार बनेकी छिन् । प्रस्तुत छ, यसै सेरोफेरोमा रहेर उद्यमी श्रेष्ठसँग गरिएको चुनावी वार्ताः

तपाईं तीन पटक केन्द्रिय सदस्य भइसक्नु भयो । यस पटक पनि सोही पदमा उम्मेद्वारी दिनु भएको छ, किन पटक-पटक तपाईंको उम्मेद्वारी ?

यो मैले अहिले सामना गरिहरनु पर्ने प्रश्न हो । महासंघमा महिलाको उपस्थिति एकदमै कम छ । म चाहान्छु यहाँ एक जना/दुई जनामात्रै महिला होइन धेरै महिला हुनुपर्छ । नयाँ महिलाहरु धेरै जना आउने हो भने पुरानोले छाड्नै पर्छ ।

३३ प्रतिशत भन्ने पनि ५ प्रतिशत पनि पुर्याउन पनि मुश्किल हुने अवस्था छ । धेरै महिलाहरु यहाँ हुनुपर्छ । यहाँ म दोहोरिएको सिट रोक्नमात्रै भने होइन । काम गरेको छ कि छैन भन्ने कुरा सबैले मूल्यांकन गर्नुपर्छ । काम गर्न नसक्ने हो भने एक पटक पनि नआए हुन्छ, काम गर्ने मान्छे ४ पटक होइन् १० पटक बसे पनि फरक पर्दैन ।

मेरो सबैलाई अनुरोध छ, काम गर्न मैले सकेको छैन भने भनिदिनोस् । काम गर्न सकुञ्जेल बस्ने हो, काम गर्न नसक्ने भए पछि त म आफै साइट लाग्छु नि । यसका कारण पटकपटक आयो भन्ने कुरा ठूलो होइन ।

कमला श्रेष्ठ भन्ने मान्छेले केकेति काम गर्यो भन्ने कुरा सबैले मूल्यांकन गर्नुपरो । सबैले उदाहरणीय व्यक्ति भनेर जिताउनुहुन्छ । तपाई जत्तिको महिला यहाँ चाहिन्छ भनेर धेरैले भन्नुहुन्छ । अरुलाई पनि ल्याउनुस् भन्नु भएको छ । सबैको शुभेच्छाले म यहाँ छु । महिलाको यति सक्रियता छ भनेर त सबैले खुसी हुनु परो नि ।

तपाईंको उम्मेद्वारी उपाध्यक्षमा आउँछ भनेर पनि चर्चा भएको थियो, तर तपाईले किन सदस्यमा नै उम्मेद्वारी दिनुभयो ? माथि जाने ठाउँ त तपाईका लागि थियो नि ?

भगवान कृष्णले भन्नु भएको छ, समय बलवान हो । हो मैले यसलाई मनन गरेको छु । सायद मेरो समय पुगेको थिएन होला ।

मेरो लागि यो पटक समय आएन । तर सधै नआउने होइन अर्को पटक आउछ निश्चय नै । म त्यो समयको पर्खाईमै छु । अर्को पटक चाहिँ म उपाध्यक्ष्ँमा लड्छु । महिलाहरु कमजोर छैनन भन्ने कुरा म देखाउँछु ।

उम्म्द्वारहरुको सूचीले पनि महिलालाई कमजोर देखाएको छ, दुबै प्यानलमा एक जना पनि पदाधिकारीको लागि महिला उम्मेद्वार छैनन् नि ?

तपाईले राम्रो प्रश्न गर्नुभयो । दुबै प्यानलमा पदाधिकारीहरुमा महिला छैनन् । यो संस्थामा पुरुष बाहुल्यता आजदेखि होइन धेरै पहिलेदेखि हो । तर पछिल्लो समय ‘इम्प्रुभ’ भइरहेको छ । हिजो २ जना हुन्थे । आज ५ जना भन्दा धेरै भएका छौँ । महिला अध्यक्ष नै पायौं हामीले । यो खुसीको कुरा हो ।

महिला सक्षम छन् भन्ने कुरा त हामीले देखाउँदैछौं । यसपाली उपाध्यक्षका लागि हामीले अलि बल गरेनौं होला । अर्को प्यानलमा पनि अलि कम ‘एक्सरसाइज’ भयो होला । यसपाली कम भयो । दुबै पक्षले पदाधिकारीमा महिला नअटाउनु दुखद् हो । हामी एकदमै कम छौं । त्यसले गर्दा पनि समस्या भयो होला ।

यसपाली भइहाल्यो तर अर्को पटक भने पक्का हामीले हाम्रो स्थान खोज्छौँ । हामी यत्तिकै बस्दैनौं । मैले अघि नै भने समय वलवान छ । यस पटक हाम्रा लागि समय आएन अर्को पटक पक्कै आउँछ ।

तपाईंले चुनावका लागि चन्द्र ढकालको प्यानल रोज्नु भएको छ, यो प्यानल नै रोज्नुको खास कारण केही छ कि ?

मैले उमेशलाल श्रेष्ठ र चन्द्र ढकालसँग ३ कार्यकाल कार्यसमितिमा रहेर काम गरे । चन्द्र ढकाल टिममा मिल्न सक्ने एकदमै शालिन स्वभावको व्यक्ति हो । वहाँमा नेतृत्व गर्न सक्ने एकदमै राम्रो स्वभाछ छ । म त वस्तुगत तर्फको भएँ, हाम्रो उपाध्यक्ष उमेशलाल श्रेष्ठ हुनुहुन्छ । वहाँ झन एकदमै नेतृत्वका लागि योग्य मान्छे हो ।

वहाँले सानादेखि ठूला सबै उद्योगी-व्यवसायीहरुको समस्या बुझ्न सक्नु हुन्छ । त्यसको समाधान गर्न सक्ने क्षमता पनि वहाँमा छ । कडा हुनुपर्ने ठाउँमा कडा, नरम हुनुपर्नेमा ठाउँमा नरम हुनसक्ने मान्छे हो । कोरोना पछि महिलाका एकदमै धेरै समस्याहरु आए । सौन्दर्य कला व्यवसायीदेखि महिला उद्यमीहरु धेरैका धेरै समस्या आए ।

मैले मेरो उपाध्यक्षलाई यो समस्याको बारेमा जानकारी गराए । वहाँले समस्या समाधानका लागि निकै सक्रियता देखाउनु भयो । धेरै समस्याहरु समाधान भए । नेतृत्व भनेको त्यस्तो हुनुपर्छ, जसले समस्याबाट पन्छिने होइन समाधान गर्न सकोस् । केहिले वहाँलाई कडा स्वभावको, भोलि थिचोमिचो गर्ला कि पनि भन्छन् तर त्यस्तो होइन ।

उचित समयमा उचित निर्णय गर्नसक्ने क्षमता वहाँसँग छ । वहाँ निजी क्षेत्रको अविभावक हो । बा-आमा भनेको अलिकति कडा पनि हुनुपर्छ । कडामा कडा, अनि नरम हुनुपर्ने ठाउँमा नरम हुनसक्ने क्षमता चाहिन्छ ।

अहिले हेर्नुस् हाम्रो टिम कति अनुशासित छ । हामीले कुनै व्यक्तिलाई लक्षित गरेर नराम्रा शब्द पनि बोलेका छैनौं । नराम्रा शब्द प्रयोग गरेर कुनै अन्तरवार्ता वा अभिव्यक्ति पनि दिएका छैनौ । यो वहाँको नेतृत्वको प्रभाव हो ।

तीन पटक त लगातार चुनाव जित्नु भयो । अब यसपाली अलि गाह्रै पर्ला कि ?

यसपटक चुनाव जित्नेमा म शतप्रतिशत ढुक्क छु । यसको मतलब फेरि म ओभर कन्पिmडेन्स भने होइन । म निकै सक्रियताका साथ चुनावी अभियानमा छु । विगतमा मैले के गरे, कति काम गरे त्यो कुराको सबेले मुल्यांकन गर्नुपर्छ ।

म महिला समितिको सभापति भएपछि मैले महिलाका लागि धेरै कामहरु गरेको छु । धेरैले मलाई भन्नु भएको छ, तपाई जत्तिको मान्छे चाहिन्छ । वहाँहरुलाई म आभार व्यक्त गर्न चाहान्छु । म मात्रै होइन, मेरो सम्पुर्ण टिमको विजय सुनिश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment