Comments Add Comment

कांग्रेस सरकारमा जान्न, मध्यावधि निर्वाचनको माग गर्छ : बलायर

१३ मंसिर, डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री वीरबहादुर बलायर अहिलेको अवस्थामा नेपाली कांग्रेस सरकारमा नजाने बताएका छन् ।

नेपाल प्रेस युनियन डोटीद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य बलायरले अहिले नेकपाको जुटाइ वा फुटाइसँग कांग्रेसको कुनै संलग्नता नरहेको बताउँदै कसैले निम्तो पठाउँदैमा कांग्रेस सरकारमा सहभागी नहुने बताए ।

‘दुईतिहाई बहुमत हुँदाहुँदै कांग्रेसलाई सत्ता समीकरणका लागि पठाएको लज्जतापूर्ण निम्तो आउनु राजनीतिक अस्थिरताको संकेत हो,’ बलायरले भने, ‘यस्तो निम्तो कांग्रेसले स्वीकार गर्नु पर्छ भन्ने जरुरी छैन ।’

उनले आफ्नो घरबाटै सहयोग जुटाउन नसक्नेले कांग्रेससँग सत्ता समीकरणको आश गर्नु हास्यास्पद् भएको वताए । उनले थपे, ‘कि त हामी सरकार चलाउनु सक्दैनौं भनेर नेकपाले हात खडा गर्नु पर्‍यो ।’

बलायरले देशको वर्तमान अस्तव्यवस्ततालाई ध्यानमा राख्दै नेपाली कांग्रेसले बरु मध्यावधि निर्वाचनको माग गर्ने बताए । देशलाई वर्तमान परिस्थितिबाट उम्माउनका लागि मध्यावधि निर्वाचन उपयुक्त हुन्छ,’ संविधानसभा सदस्यसमेत रहेका बलायरले भने, ‘संविधान राम्रो गर्नका लागि बनेको हो, त्यसैले मध्यावधि निर्वाचन हुनै सक्दैन भन्ने होइन् ।’ उनले राजनीतिक अस्थिरता भन्दा मध्यावधी निर्वाचननै उपयुक्त हुने दाबी गरे ।

सरकार पूर्ण रुपमा असफल

पूर्वमन्त्री बलायरले वर्तमान सरकार पूर्णरुपमा असफल भइसकेको दाबी गरे । ‘कम्युनिष्टहरुको शासनका कारण देश संकटको अवस्थामा पुगेको छ,’ उनले भने, ‘नेकपाको आन्तरिक लडाईका कारण जनताको जीवनमाथि खेलवाड भइरहेको छ ।’

सरकारले कोरोना महामारी नियन्त्रणका लागि प्रभावकारी प्रयास गर्न नसकेको, जनताका लागि राहतका प्याकेजहरु ल्याउन नसकेको र संबिधानको कार्यान्वयन गर्न नसकेको आरोप मन्त्री बलायरले लगाए ।

‘नेकपाले निर्वाचनमा जनताको मन जितेर दुई तिहाई मत त पायो तर जनभावना अनुसार काम गर्न सकेन’ बलायरले भने, ‘बरु राज्यको आडमा भ्रष्टाचार बढेको छ ।’ उनले जनताले रोजगारी गुमाउनु परेको र पर्यटन क्षेत्र चुर्लुम्मै डुवेको समेत वताए ।

‘राजतन्त्र’ कल्पनाभन्दा बाहिर

अहिले देशका विभिन्न स्थानमा राजतन्त्रको समर्थनमा प्रदर्शन भइरहेको प्रसंगमा कांग्रेस केन्द्रीय सदस्य बलायरले अव राजतन्त्र कल्पनाभन्दा बाहिरको कुरा भएको वताएका छन् ।

‘राजतन्त्रको विषय गैरसंवैधानिक, गैर राजनीतिक र गैरवैचारिक हो’ उनले भने, ‘नेपाली कांग्रेस अब कुनै पनि हालतमा राजतन्त्रको मुद्दामा समर्थन जनाउन सक्दैन ।’

गोदावरी राजधानी तीन जुनीमा पनि बन्दैन

सुदूरपश्चिम प्रदेश सभाले प्रदेश राजधानी कैलालीको गोदावरीमा बनाउने गरि गरेको निर्णय कार्यान्वयन नहुने कांग्रेस केन्द्रीय सदस्य बलायरले दाबी गरे ।

‘युनेस्कोको मापदण्ड विपरीत वन फाडानी गरेर राजधानी बनाउने निर्णय यिनीहरु (प्रदेश सरकार)ले तीन जुनीसम्म पनि कार्यान्वयन गर्न सक्दैनन्,’ सञ्चारकर्मीहरुद्वारा सोधिएको एक प्रश्नको जवाफमा बलायरले भने, ‘प्रदेश सभाले तोकेको स्थानमा राजधानी हुने कुरामा मलाई कत्ति पनि बिश्वास छैन ।’

उनले राजधानी दिपायलमै उपयुक्त हुने कुरा दोहोर्‍याए । आफू मन्त्री हुँदा मन्त्री परिषद्ले अस्थायी राजधानी दिपायल तोक्न नसक्नुमा आफ्नो पनि कमजोरी रहेको हुन सक्ने वताउँदै उनले भने, ‘स्थायी राजधानी हुँदा डोटीका तीनजना प्रदेश सभा सदस्यहरुले गोदावरीको पक्षमा मतदान नगरेको भए राजधानी दिपायल हुन्थ्यो ।’

सुदूरपश्चिम प्रदेश सभाको दुईतिहाई बहुमतले २०७५ साल असोज १२ गते प्रदेश राजधानी कैलालीको गोदावरीमा तोकेको थियो । जंगलको बिचमा राजधानी तोकेको भन्दै सर्वत्र विरोध भएको उक्त निर्णय कार्यान्वयनका लागि ठोस पहल भने हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment