Comments Add Comment

‘सरकारले भत्काएको घर सम्झेर निन्द्रा लाग्दैन’

सरकारले सडक विस्तारको नाममा उठिबास लगाएको भन्दै बालाजुवासी अनशनमा

१५ मंसिर, काठमाडौं । ७१ वर्षीय मैना तामाङ नोवेल कोरोना भाइरस महामारीका बेला पनि दिनहुँ लोलाङबाट रिले अनशन बस्न बालाजु बाइपास पुग्छिन् ।

उनी २०७० सालसम्म बालाजुस्थित घरमा चिया पसल चलाउँथिन् । २०२६ सालदेखि बस्दै आएको घर सडक विस्तारको नाममा सरकारले भत्काईदिएपछि उनी बेघर भइन् र लोलाङमा भाडामा बस्न थालिन ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले एकतर्फी रुपमा डोजर लगाएपछि मैनासहित १८ परिवारको घर भत्किएर सडकमा परिणत भएको छ । आफ्नो घर हराएर बनेको धुलाम्य सडकमा आठ दिनदेखि स्थानीय रिले अनशनमा छन् ।

त्यही अनशनमा सहभागी हुन मैना पनि सकिनसकी बालाजु पुग्छिन् । उनी भन्छिन्, ‘भन्ने बेला दुवै तीर साढे तीन मिटर बाटो काट्ने भन्यो, तर, अर्कोतर्फ नकाटी एकातर्फ मात्रै बाटो विस्तार गर्‍यो, यसो गर्दा हामी घरवारविहीन बन्यौँ ।’

उपत्यका विकास प्राधिकरणले बीच सडकबाट दुई तर्फका ७/७ मिटर बाटो फराकिलो पार्ने भनिएता पनि पश्चिमतर्फमको मात्र घर भत्काएपछि आफुहरुमाथि अन्याय भएको भन्दै स्थानीय निरन्तर आन्दोलनमा छन् । घर बास नै उठेपछि सर्वोच्चसम्म पुगेका आन्दोलनकारीको मुद्दा अफै पेसी चढेको छैन ।

२०७१ सालसम्म आफ्नै घरमा गिफ्ट पसल राख्दै आएकी नानीछोरी श्रेष्ठ पनि अहिले भाडामा सटर लिएर पुजा सामाग्रीको पसल राखेकी छिन् । प्राधिकरणले घर भत्काएपछि उनको परिवार गुहेश्वरीमा बस्दै आएको छ ।

‘भूकम्पअघि नै चिन्ह लगाएपछि हामीले तीन मिटर बाटो घटाएर घरका केही भाग भत्काएका थियौँ’, उनी भन्छिन्, ‘ काठमाडौं उपत्यका प्राधिकरण आएर भत्काइदियो । चैत महिनामा त सबै घर भत्काएर उजाड सडक पो बनायो ।’

प्राधिकरणले उठिबास लगाएपछि आफ्नो विगतको घर सम्झेर निदाउन नसक्ने बताउँछिन् उनी । उनले भनिन्, ‘हामी त सोझो मान्छे । सरकारले केही दिन्छ होला भन्ने सोचेका थियौँ । तर, केही दिएन ।’

त्यस्तै, श्यामकृष्ण मानन्धर पनि जग्गाको अस्थायी निस्सादेखि निरन्तर कर तिरेको तिरो बोकेर आमरन अनशनमा बसिरहेका छन् । ‘पहिले दुवै तिर घर कटानको लागि चिन्ह लगाएपछि हामीले आफ्नो तीन मिटर घर काटेर भवन निर्माण गर्दै थियौँ’, उनले भने, ‘तर, ०७० सालमा हाम्रो मात्र घर भत्काएर उठिबास लगायो ।’ अहिले अर्कोतर्फ लगाइएको चिन्ह मेट्न थालेको उनी बताउँछन् ।

अदालतले घर नभत्काउन दिएको आदेश देखाउँदा पनि प्रहरी प्रशासन र प्राधिकरणले जवरजस्ती घर भत्कएको मानन्धर बताउँछन् । ‘हामीलाई प्रहरीले हत्कडी लगाएर थाना पुर्‍यायो । आउदा घर थिएन र घर भित्रको सामाग्री पनि हामीले पाएनौँ’ उनी भन्छन् ।

उनी मात्र होइन अहिले ३६ घरधनीहरू लालपुर्जा, तिरो तिरेको प्रमाण र जग्गाबारे अदालतको फैसला बोकेर रिले अनसनमा बसेका छन् । राज्यमन्त्री रामवीर मानन्धरले आफन्त र आफ्नो फिल्म हल जोगाउनको लागि एकतिरको घर भत्काएर उठिवास लगाएको उनीहरूको भनाइ छ ।

स्थानीयवासी म कहाँ जाऔँ, बास मेरो लुटिसक्यो, आँशु मेरो सुकीसक्यो, तै चुप मै चुप म जिउदो लास, सास भएसम्म न्यायको आश, अदालतको आदेश पालना गर, जनताको घरजग्गा लुट्न पाइदैन जस्ता नारा लेखिएको प्ले कार्ड सहित अनसन बसेका छन् ।

तस्वीरहरू : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment