Comments Add Comment

नाइजेरियाको नियती : ११० निर्दाेष किसानको बर्बर हत्या

१५ मंसिर, काठमाडौं । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा कम्तीमा ११० निर्दोष किसानको बर्बर हत्या भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

शनिबार दिउँसो युद्धग्रस्त बोर्नो राज्यको राजधानी मैडुगुरीको नतिजा जेरे क्षेत्रको ग्रामीण कोशोबे र अन्य ग्रामीण क्षेत्रका किसानको हत्या गरिएको हो ।

नाईजेरियास्थित संयुक्त राष्ट्रसंघका मानविय सहायता संयोजक एडवार्ड कालोनले आइतबार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मोटरसाइकलमा आएका हतियारधारीले आफ्नो खेतमा बाली थन्क्याउने काम गरिरहेका पुरुष र महिलाहरुमाथि बर्बर आक्रमण गरेका थिए ।’

उनका अनुसार हतियारधारीले कम्तीमा ११० जना किसानको निर्ममतापूर्वक हत्या गरेका छन् भने आक्रमणमा अन्य धेरै घाइते भएका छन् ।

ठूलो संख्यामा महिलाहरुको अपहरण भएको अनुमान छ । ‘यो घटना यस वर्षको सबैभन्दा हिंसात्मक र प्रत्यक्षरुपमा निर्दोष नागरिकमाथि गरिएको आक्रमण हो ।

म यो जघन्य र विवेकहीन कार्यको लागि अपराधीहरुलाई कानुनी कारबाहीको लागि माग गर्छु,’उनले भनेका छन् ।

अहिलेसम्म यो घटनाको जिम्मेवारी कसैले पनि लिएको छैन । यद्यपि बोको हरामले यो आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ ।

त्यस्तै नाइजेरियामा इस्लामिक स्टेट इन वेस्ट अफ्रिका प्रोभिन्स (आईएसडब्ल्यूएपी)ले पनि ठूला आक्रमण गर्दै आएको छ । दुवै संगठन नाइजेरियामा सक्रिय छन् ।

पछिल्लो दशकमा मात्र ३० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

साथै नाइजेरियामा जारी युद्धको कारण करिब २० लाख मानिस विस्थापित भइसकेका छन् ।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीलेे घटनाको निन्दा गरेका छन् ।

उनी सन् २०१५ मा मुलुकको सुरक्षा संकट समाधानको प्रतिबद्धतासहित राष्ट्रपति बनेका थिए ।

उनले आतंकवादीले बोर्नो राज्यमा गरेको आक्रमणको निन्दा गर्दै उक्त विवेकहीन आक्रमणबाट समग्र मुलुक आहत भएको बताएका छन् ।

सुरक्षा विश्लेषक सुलेक्ष्मान अलेदेह युद्ध रोक्नमा नाइजेरियाको सरकारको असफलताको कारण धेरै मानिसहरुमा निराशा बढ्दो क्रममा रहेको बताउँछन् ।

उनका अनुसार पछिल्लो समय नाइजेरियाको सरकारले यो संकटबाट पार पाउनका लागि उल्लेख्य रुपमा केही गर्न सकेको छैन ।

त्यसैले मानिसहरुको सरकारप्रतिको आक्रोश बढ्दो क्रममा देखिएको छ ।

बोर्नोका गभर्नर बाबाबनगनान जुलुमले संघीय सरकारलाई थप सैनिहरु परिचालन गरी आफ्नो राज्यका किसानहरुको सुरक्षाको लागि माग गरेका छन् ।

उनले मानिसहरुको फरक फरक किसिमको रोजाइको कारण अहिले आफ्नो क्षेत्रमा समस्या उत्पन्न भइरहेको उनको भनाइ छ ।

विश्वव्यापी परिवर्तनबारे अध्ययन गरिरहेका विश्लेषक बुलामा बुकर्टीले बोको हरामलाई रोक्न नसक्दा नाइजेरियाको अर्थतन्त्र धरासायी भइरहेको बताउँछन् ।
उनका अनुसार नाइजेरियाको सेनाले यो युद्ध गुमाइरहेको छ ।

सन् २०१९ मा नाइजेरियामा बोको हरामसँगको युद्धमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको थियो ।

गत वर्ष नाइजेरियामा आठ सय सैनिकको मृत्यु भएको थियो ।

यसको जवाफमा सरकारले भने धेरै सेनाको क्षति कम गर्न भन्दै साना क्याम्पहरु हटाउँदै ठूलो क्याम्प बढाउने नाममा विकट तथा ग्रामीण क्षेत्रहरुबाट सेना हटाउने निर्णय गर्‍यो ।

यस किसिमको नीतिले नाइजेरियामा मारिने सेनाको संख्या त घट्यो तर यो कदम ग्रामीण क्षेत्रमा सरकारले बोको हरामसँग आत्मसमर्पणजस्तो बन्न पुग्यो ।

बुकर्टीका अनुसार अहिले उत्तरपूर्वी र उत्तर पश्चिमी क्षेत्रमा आपराधिक संगठनहरुले आफ्नो शासन चलाइरहेका छन् ।

नाइजेरियाको बोर्नो राज्य खेतीको लागि निकै उपयुक्त मानिन्छ । यहाँ बालीका लागि पर्याप्त मात्रामा पानी पाइन्छ ।

त्यसैले यहाँका नागरिकहरुलाई पनि केही फाइदा पुगिरहेको छ । तर, पछिल्लो समय देखिएको असुरक्षाले भने यहाँको अवसरलाई साँघुरो पार्दै लगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment