Comments Add Comment

मजदुर आन्दोलनले रोकियो नारायणगढ बुटबल सडक विस्तार

१५, मंसिर, चितवन । सेवा सुविधामा असन्तुष्टि जनाउँदै मजदुरले आन्दोलन गरेपछि नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम रोकिएको छ ।

सडक आयोजनाको बुटबल दाउन्ने सडकखण्डका मजदुरहरुले १४ बुँदे माग गरेर काम बन्द गरेका हुन् । उनीहरुले रजहरमा रहेको नारायणगढ बुटबल रोड प्रोजेक्टको कार्यालय गेट अगाडि धर्नासमेत दिएका छन् ।

मजदुरले नेपालका श्रम कानुन अनुसारको सुविधा, बिमा, स्वास्थ्य सुरक्षा, सुरक्षा सामग्रीहरु पाउनुपर्ने लगायतका माग राखेका छन् । दुई सयभन्दा बढी कामदार आन्दोलित हुँदा तीनदिनदेखि काम अवरुद्ध बनेको छ । आयोजनाका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले मदजुर र ठेकेदार पक्षका बीचमा सहजीकरण गरेर समस्या समाधानका लागि पहल भइरहेको बताए ।

गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई ‘प्याकेज–१’ र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई ‘प्याकेज–२’ बनाएर ठेक्का लगाइएको थियो । दुबै खण्डको निर्माणको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सनले पाएको छ ।

चाइना स्टेट कन्स्ट्रक्सनले ठेक्का पाएको उक्त काम कोरियन कम्पनीलाई जिम्मा लगाएको छ । कोरियन कम्पनीले नेपाली कम्पनीसँग कामदार लिएर काम गराउँदै आएको छ ।

अखिल नेपाल ट्रेड यूनियन महासंघ नवलपुरका अध्यक्ष सानुकाजी डंगोलले ठेकेदार कम्पनीले मजदुरलाई न्यूनत्तम सुविधा पनि नदिएर काममा लगाएकोले आन्दोलन गरेको बताए ।

‘मजदुरहरुलाई नेपालको श्रम ऐन अनुसार सुविधा दिएको पनि पाइएन, अपमान गर्ने, हातपात गर्ने, धम्काउनेसम्मका काम गरेको देखेपछि आन्दोलित भएका हौं’ डंगोलले अनलाइनखबरसँग भने, ‘समस्या समाधानका लागि प्रहरी, प्रशासन, आयोजना, श्रम कार्यालयहरुलाई खबर गरेका छौं ।’

नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमाया पंंगेनीले दुबै पक्षलाई वार्तामा बोलाएर सहमतिको प्रयास गरिएको बताइन् । ‘हामीले ठेकेदार पक्ष र मजदुर पक्षलाई बोलाएका छौं, ठूलो समस्या छैन, ठेकेदार पक्ष दुई÷तीन दिनमा आउछौं भनेकाले ढिला भएको हो, मजदुरका मागका बारेमा छलफल हुन्छ, सहमति गरेर काम अघि बढाउँछौं’ प्रजिअ पंगेनीले भनिन् ।

आयोजनाका कन्सल्ट्यान्ट हेम श्रेष्ठले जायज मागलाई तत्कालै पूरा गर्न ठेकेदार कम्पनीलाई पत्र पठाइएको बताए । सडक खण्डमा ५० प्रतिशत स्थानीय र ५० प्रतिशत बाहिरी जिल्लाका मजदुरले काम गर्दै आएका छन् ।

पूर्वी खण्डमा मजदुर आन्दोलनले काम रोकिए पनि पश्चिम खण्डमा भने काम भइरहेको छ । सो खण्डको ७ स्थानबाट दुई सय कामदारले काम गरिरहेका छन् । पश्चिमी खण्डमा साना, मध्यम, ठूला पुल, कल्भर्ट गरी २७६ संरचना बन्छन् । यहाँ ९ ठूला पुल बन्ने छन् ।

एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार गर्न लागिएको सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रूपैयाँ छ । २०८० साउन २२ गतेसम्ममा (साढे तीन बर्षमा) निर्माण सकिसक्नुपर्ने सडकको गैंडाकोट–दाउन्नेखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवलखण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँ छ ।

कोरोना भाइरस महामारीको कारण देखाएर ठेकेदारले काममा ढिलासुस्ती गरेको छ । २०७५ पुसमा ठेक्का सम्झौता भएर सोही बर्ष चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा सडक विस्तारको शिलान्यास गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment