Comments Add Comment

राजतन्त्रको पक्षमा कसले गर्दैछ देशभर श्रृंखलाबद्ध प्रदर्शन ?

१६ मंसिर, काठमाडौं । नेपालमा राजतन्त्रको विधिवत अन्त भएको १२ वर्ष भएको छ । तर, केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । सोमबार काठमाडौंमा पनि राजतन्त्रको माग गर्दै प्रदर्शन भयो ।

संविधान सभाको पहिलो बैठकले २०६४ मा राजतन्त्रको अन्त्यको घोषणा गर्दै विधिवतरुपमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको घोषणा गरेको थियो । त्यहीबेलादेखि असन्तुष्ट राजतन्त्रवादीहरुले राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै आइरहेका छन् । अहिले १२ वर्ष बितिसक्दा पनि राजतन्त्र र हिन्दु राष्ट्रको माग राख्ने क्रम रोकिएको छैन ।

राजावादीहरुले प्रदर्शन गरिरहँदा राजा ज्ञानेन्द्र भने मौन छन् । तर अघिल्लो वर्ष भने उनले देशका विभिन्न भागको भ्रमण गरेका थिए ।

राजतन्त्रको अन्त्य भएपछि मुलुकमा तीनवटा राष्ट्रिय निर्वाचनहरु भए । तर, ती सबै निर्वाचनमा राजतन्त्रको वकालत गर्ने दलहरुले खासै मत पाएनन् । नयाँ संविधान जारी भएपछि भएको संघीय संसदको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेन एकजनाले मात्र निर्वाचन जिते, त्यो पनि नेकपा कार्यकर्ताको भोटले । राजतन्त्रको माग गर्ने राप्रपाका ठूला नेताहरुले नै चुनाव जित्न सकेनन् ।

राजतन्त्रको पक्षमा रहेका समाजका विभिन्न व्यक्ति र विगतमा राजतन्त्रको कार्यकालमा विभिन्न पदमा रहेर काम गरेका व्यक्तिहरुको पहलमा यस्ता प्रदर्शनहरु हुने गरेका छन्

संघ र प्रदेशमा मात्र होइन, स्थानीय सरकारमा पनि राजावादी दलहरुको प्रतिनिधित्व छैन । तर, जनताबाट कटिँदै जाँदा पनि अझैसम्म राजावादी दल र अन्य संस्थाहरुको राजतन्त्र पुनर्स्थापना हुने आश मारिसकेका छैनन् । पछिल्लो समया बढ्दो भ्रष्टाचार र असन्तुष्टिलाई उनीहरु ‘क्यास’ गर्न खोजेको देखिन्छ ।

कसले गर्दैछ प्रदर्शन ?

केही दिनयता देशका प्रमुख शहरहरुमा राजतन्त्रको पक्षमा प्रदर्शनहरु भइरहेका छन् । नेपालमा पछिल्लो समयमा दुई छिमेकी मुलुक भारत र चीनबाट उच्च स्तरमा भएका निरन्तर भ्रमण, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र बढ्दो द्वन्द्व र वर्तमान सरकारले सुशासन कायम राख्न नसकेको भनी तीव्र आलोचना भइरहेको सन्दर्भमा राजावादीहरुले प्रदर्शन अगाडि बढाएका छन् ।

सोमबार राष्ट्रिय शक्ति नेपालको उपत्यका आन्दोलन परिचालन समितिले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरे । सो पार्टीका अध्यक्ष केशरबहादुर विष्ट हुन् । यस अगाडि विभिन्न संस्थाहरुले बुटवल, पोखरा, जनकपुर र नेपालगञ्चमा, धनगढी, विराटनगरमा प्रदर्शन गरेका छन् ।

राजतन्त्रवादी साना दलहरु र हिन्दु राष्ट्र राष्ट्रको माग गरिरहेका विभिन्न संस्थाहरुले स्वस्फूर्त रुपमा यसखाले प्रदर्शन गरिरहेका छन् ।  त्यसबाहेक प्रदर्शनकै लागि केही अस्थायी समूहहरु समेत गठन भएका छन् । जस्तो– धनगढीमा स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिममा स्वतन्त्र देशभक्त नागरिक सुदूरपश्चिम गठन गरिएको थियो । त्यसैगरी, कात्तिक २५ गते काठमाडौंमा भएको प्रदर्शन राष्ट्रवादी  नागरिक समाजको ब्यानरमा भएको थियो ।

अहिलेको प्रदर्शनमा फ्रन्ट लाइनमा रहेकाहरुमा विश्व हिन्दु महासंघ, केशर बहादुर विष्टको राष्ट्रिय शक्ति नेपाल, हरिवोल भट्टराईले नेतृत्व गरेको नेपाली कांग्रग्रेस (वीपी), प्रकाश कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेस (राष्ट्रवादी) र शिवसेना नेपाल लगायतका छन् ।

त्यसैगरी राजतन्त्रको पक्षमा रहेका समाजका विभिन्न व्यक्ति र विगतमा राजतन्त्रको कार्यकालमा विभिन्न पदमा रहेर काम गरेका व्यक्तिहरुको पहलमा यस्ता प्रदर्शनहरु हुने गरेका छन् ।

आगामी २० गते र त्यसपछि पनि विभिन्न समूहले काठमाडौंमा थप प्रदर्शन गर्ने तयारी गरेका छन् । २० गतेको प्रदर्शनको पहल बालकृष्ण न्यौपाने, सुरेन्द्र भण्डारी लगायतले गर्दैछन् ।

अहिले भइरहेका प्रदर्शनमा युवाहरुमा सडकमा ल्याउने पहल भने वीर गोर्खाली नामक संस्थाले गरेको छ । सो संस्था राजतन्त्र र हिन्दु राष्ट्र पुर्नस्थापना गर्न चाहने युवाहरुको संस्था हो । अहिले पछिल्लो समयमा देशका विभिन्न भागमा भइरहेका प्रदर्शनको अगुवाइ सो संस्थाले गरेको छ । आइतबार मकवानपुरमा भएको प्रदर्शनको नेतृत्व पनि यही वीर गोर्खालीले गरेको थियो ।

देशभर भएको प्रदर्शनमा सक्रिय सहभागिता जनाएको विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारी पछिल्लो समयमा जनतामा व्यापक निराशा छाएको र दलहरुले शासन सञ्चालन गर्न नसकेका कारण राजतन्त्रको माग बढ्दै गएको बताउँछिन् । उनी भन्छिन्, ‘अब हामी मोर्चावन्दीको तयारीमा छौं, अब सबै संस्थाले संयुक्त रुपमा आन्दोलन गर्नेछन् ।’

अब हामी पनि प्रदर्शनमा उत्रन्छौँ: राप्रपा

राजतन्त्रको पुर्नस्थापना र हिन्दु राष्ट्रको माग गरिरहेको सबैभन्दा ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी भने सो आन्दोलनमा अहिलेसम्म प्रत्यक्षरुपमा संलग्न छैन । यद्यपि आफ्ना कार्यकर्ताहरु यी प्रदर्शनहरुमा सहभागी भइरहेको सो पार्टीले बताएको छ ।

विभिन्न संघ  संस्थाहरुको ब्यानरमा भएको प्रदर्शनमा जनताको सहभागिता बढ्दै गएपछि राप्रपाले पनि सडकमा आउने तयारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद राजेन्द्र लिङदेनले अब देशव्यापी रुपमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शनमा आउन लागेको जानकारी दिए ।

नेकपाको भोटबाट संसदमा पुगेका लिङदेनले भने, ‘यो आन्दोलनप्रति ऐक्यवद्धता जनाउन आगामी २० गते झापामा वृहत प्रदर्शन गर्दैछांै । त्यसपछि पार्टी आधिकारिक निर्णय गरेर अन्य स्थानमा पनि प्रदर्शन गर्छ ।’

लिङदेनले लामो समयदेखि राजतन्त्र र हिन्दु राज्यको माग उठाउने एकमात्र पार्टी हुनुको नाताले अहिले देशभर भएको प्रदर्शन आफ्नो लागि खुसीको विषय भएको बताए ।

यसै सन्दर्भमा हामीले राजावादीहरुको प्रदर्शनबारे राजनीतिशास्त्री लोकराज बरालको प्रतिक्रिया लिएका छौं ।

यसको जवाफ पार्टीहरुको डेलिभरी नै हो

–राजनीतिशास्त्री लोकराज बराल

राजावादीको प्रदर्शन नकारात्मक उद्देश्यका लागि भएको हो, यसको कुनै सकारात्मक पाटो छैन । उनीहरुले अहिले सत्तारुढ दलभित्र रहेको द्वन्द्व र विपक्षी नेपाली काँङ्ग्रेसको अर्कमण्र्यताको फाइदा उठाउन खोजेका छन् । यसको एउटै जवाफ भनेको सरकारले राम्रोसँग डेलिभरी गर्नु नै हो ।

सरकार र विपक्षीले राम्रोसँग काम गर्ने हो भने उनीहरुले टाउको उठाउन पाउँदैनन । प्रमुख राजनीतिक दलले यस्ता प्रदर्शनको कडा प्रतिक्रिया दिनुपर्छ । उनीहरुले कुनै पनि हालतमा अहिलेको व्यवस्था उल्टाउन दिदैनांै भन्ने सन्देश सार्वजनिकरुपमा दिनुपर्छ । तर, उनीहरु बोलिरहेका छैनन् ।

हरेक राजनीतिक परिवर्तनपछि यस्ता प्रतिगामी राजनीतिक शक्तिहरुले आवाज उठाउने गर्छन् । तर, हाम्रो समाज एकदमै भावना चल्छ र कुनै अकस्मात राजनीतिक परिवर्तन हुन सक्छ । जस्तो– हामीले राजतन्त्र त्यति छिटो जान्छ भन्ने सोचेका थिएनौं ।

युवाहरु हावी हुने र मानिसहरुले भावनामा बगेर उनीहरुलाई समर्थन गर्ने हुन सक्छ । सरकार र विपक्षीका कारण राजतन्त्रवादीहरु उत्साहित भएको देखिन्छ । मुख्य कुरा संघीयता र गणतन्त्रपक्षधर राजनीतिक दलहरु बोल्नुपर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment