Comments Add Comment

पुस्तक अंश : फरक छन् आजका बालबालिका

पछिल्ला वर्ष बालबालिकाको शिक्षा र संरक्षणमा आश्चर्यजनक प्रगति भएको छ । जीवनस्तर र जीवनशैलीमा भएको सुधारले बालबालिकाको शिक्षा र संरक्षणमा प्रगति गरेको तथ्यलाई नकार्न सकिँदैन । यो प्रगतिको सबैभन्दा ठूलो कारण मानिसको अन्तश्चेतनामा आएको जागरुकता ।

हिजोआज बालबालिकाको स्वास्थ्यसँगै उनीहरूको व्यक्तित्वलाई पनि महत्त्व दिनुपर्छ भन्ने नयाँ जागरूकता विकसित भएको छ । बालबालिकाको स्वास्थ्य र व्यक्तित्वप्रति सचेतना जागरूक १९ औं शताब्दीको अन्तिम दशकबाट सुरू भएको हो ।

बालजीवनबारे पर्याप्त जानकारी नभइकन चिकित्साशास्त्र, समाजशास्त्र र दर्शनशास्त्रको गहिरो अध्ययन गर्न सकिँदैन भन्ने मान्यता विकसित भएको छ । बालबालिकाको क्षेत्रमा भ्रूणविज्ञानले शारीरिक र क्रमिक विकासमाथि गरेको अध्ययनको पनि महत्त्व बढ्न थालेको छ । शारीरिक विकासको अध्ययनले मात्र बालबालिकाको सम्पूर्ण अध्ययन गर्न सक्दैन ।

मानव जीवनमा शारीरिक विकास अध्ययनको तुलनामा मनोवैज्ञानिक दृष्टिबाट गरिएको अध्ययनले व्यापक र ठूलो महत्त्व राख्छ । मनोवैज्ञानिक अध्ययनले बालबालिकाको मनको साँचो भेटाउन मद्दत गर्छ । त्यही साँचोले बालबालिकाको मनको ढोका खोलेर सम्पूर्ण मानवतासम्बन्धी अध्ययन गर्न सकिन्छ । यस्तो अध्ययनले निश्चय नै ठूलो प्रभाव र महत्त्व राख्नेछ ।

स्वीडेनका कवि तथा लेखक एलनले १९ औं शताब्दी बालबालिका केन्दि्रत शताब्दी हुने भविष्यवाणी गरेका थिए । यस्तै भविष्यवाणी सन् १९०० मा इटालीका सम्राट् भिक्टर एम्यानुयलले आफ्नो पहिलो राजकीय सम्बोधनमा गरेका थिए ।

नयाँ शताब्दीको उदयसँगै नयाँ युगको सुरुवात हुने भन्दै एमान्युयलले भनेका थिए- ‘र, अबको नयाँ युग बालबालिकाको हुनेछ । नयाँ शताब्दी बालबालिकाको हुनेछ ।’

बालबालिका केन्द्रित रहेको १९ औं शताब्दीको अन्तिम दशकमा विज्ञानले पनि बालबालिकाको क्षेत्रमा काम गर्न सुरु गर्‍यो । विभिन्न वैज्ञानिक र चिकित्साशास्त्रका खोजले बालबालिका वयस्कको तुलनामा अत्यधिक अस्वस्थ छन् भन्ने तथ्य बाहिरियो । संक्रामक रोगले अत्यधिक बालबालिकाको मृत्यु हुने गरेको तथ्य सार्वजनिक भयो । कठोर शिक्षा प्रणाली र विद्यालयका कारण बालबालिकाको जीवनमा गम्भीर असर पर्ने गरेको नयाँ तथ्य पनि यही शताब्दीमा बाहिरियो ।

बालबालिका र मनोविश्लेषण

मनोविश्लेषणले अवचेतनका रहस्यमाथि वर्षौंदेखि लागेको पर्दा हटाएको छ । अज्ञातप्रायः रहेका मानव जीवनका रहस्य पत्ता लगाउने बाटो खुला गरेको छ । तर, मनोविश्लेषणले मानव जीवनको अत्यावश्यक र व्यावहारिक समस्या समाधान भने गर्न सकेको छैन । मानव जीवनका समस्या समाधान गर्न नसके पनि मनोविश्लेषणले बालबालिकाको जीवन र मनलाई बुझ्न भने सहयोग गरेको छ ।

मनोविज्ञानले कुनै समय परम सत्य ठानेको चेतनको आवरणलाई तोड्न मनोविश्लेषण सक्षम भएको छ । मनोविश्लेषणले चेतनको अन्धविश्वास तोडेको छ । मनोविश्लेषणले चेतनलाई नै सर्वोपरि ठान्ने युगको समाप्त गरेको छ ।

मनोविश्लेषणले चेतनभन्दा पर अवचेतन पनि छ भन्ने नयाँ तथ्य खोलेको छ । अवचेतनको गहिरो समुद्र पनि मानव जीवनमा छ भन्ने नयाँ रहस्योद्घाटन गरेको छ ।

मनोविश्लेषणले अवचेतनको खोज नगरेको भए मान जीवन अध्ययनका लागि बालमस्तिष्क सहायकसिद्ध हुन्छ भन्ने ज्ञान हुने थिएन । त्यसो त मनोविश्लेषणको सुरूवात मानसिक रोगको उपचार गर्ने उद्देश्यले भएको थियो । त्यसैले अहिले पनि मनोविश्लेषणलाई मानसिक रोगको उपचार गर्ने एउटा शाखाका रूपमा लिइन्छ ।

मनोचिकित्सकहरूको अध्ययनले गम्भीर मनोरोगको अवस्थामा अवचेतन पनि सतहमा देखा पर्ने गरेको पत्ता लगायो । पृथ्वीको गहिराइमा उम्लिने आगोका लप्काहरू कमजोर ठाउँ पाएपछि ज्वालामुखी बनेर पृथ्वीको सहतमा आएजसरी अवचेतन पनि सतहमा देखिन्छ भन्ने तथ्य मनोचिकित्सकले पत्ता लगाए । अवचेतनका लाभा, र ज्वाला चेतन मनका विरूद्ध प्रयोग हुन्छन् भन्ने पनि मनोचिकित्सकले पत्ता लगाए ।

चेतन मनको विरूद्ध व्यक्त हुने अवचेतनको यो विचित्र प्रक्रियालाई मनोचिकित्सकहरूले एउटा सामान्य रोगको लक्षण मात्र माने । तर, यही विषयलाई सिगमन्ड प|mायडले भने नयाँ बाटोबाट अध्ययन सुरू गरे । उनले कठिन बाटो अपनाएर अवचेतनसम्म पुग्ने प्रयास गरे । यति गर्दा पनि उनले चेतनविरूद्ध प्रयोग हुने अवचेतनको खोजलाई रोग विज्ञानसम्म मात्र सीमित राखे ।

बाल्यकालको रहस्य

मानव आत्मालाई कलुषित र विकृत गर्ने संघर्षको त्रासदीपूर्ण नाटकीय रहस्य बुझ्न अवचेतनको गहिराइ थाहा पाउनुपर्छ । आफ्नो परिवेशसँग कठोर संघर्ष गरेर विकसित भएका बालबालिकाको आत्माको कटु यथार्थ बुझ्न मानिसको जन्मदेखिको अध्ययन आवश्यक छ । यो अध्ययनमा थोरै भए पनि प्रगति भने भएको छ । मनोविश्लेषणले मनोविकारको आरम्भ बाल्यकालको सुरूवातमै हुन्छ भन्ने पत्ता लगाइसकेको छ ।

सामान्यतः बाल्यकाल कष्टकर हुन्छ । बाल्यकालका अधिकांश कष्ट मानिसका लागि स्वीकार्य हुन्छन् । तर, अवचेतनमा देखा पर्ने स्मृतिको अध्ययनले भने बाल्यावस्थामा असामान्य कष्ट बालबालिकाले भोग्ने गरेको पत्ता लगाएको छ । बाल्यकालका यी कष्ट, संघर्ष अवचेतनमा सुषुप्त अवस्थामा रहन्छन् भनेर पत्ता लगाउनु नै मनोविश्लेषणको ठूलो खोज थियो । यही खोजका आधारमा आज मानव जीवनको नयाँ व्याख्या सुरू भएको छ ।

बाल्यकालमा भोगिने मानसिक, शारीरिक कष्ट र संघर्षलाई कहिल्यै पनि मानसिक रोगको कारक ठानिएन । वयस्क व्यक्तिको मनोरोगका पछाडि बाल्यकालका कष्टप्रद स्मृति हुन्छन् भन्ने तथ्यतर्फ कहिल्यै ध्यान दिइएन ।

बालबालिकाका सहज र सामान्य क्रियाकलापमाथिको दमनबाट नै यी कष्टहरू सिर्जना हुन्छन् । जुन वयस्कका लागि मानसिक रोगको कारण बन्छन् । बालबालिकामाथि दमनको सुरूवात उनीहरूमाथि अधिकार राख्ने वयस्कहरूले नै सुरू गर्छन् । निसन्देह बालबालिकामाथि पहिलो अधिकार राख्ने वयस्क व्यक्ति आमा हुन् । आमाबाट नै बालबालिकामाथि दमनको सुरूवात हुन्छ ।

मनोविश्लेषणको जाँचलाई प्रस्टसँग दुई स्तरमा छुट्ट्याउनु जरूरी छ ।

पहिलो पूर्ण सतही : यसले कुनै पनि व्यक्तिको सहज प्रवृत्ति र उसको वातावरणबीचको द्वन्द्वलाई दर्शाउँछ । जुन वातावरणमा व्यक्तिले आफूलाई ढाल्न संघर्ष गरिरहेको हुन्छ । यो संघर्षको समाधान हुन सक्छ । किनभने चेतन मनको ठीक तल, मानिसलाई बेचैन गर्ने कारण सुषुप्त अवस्थामा रहेका हुन्छन् । यी कारणलाई चेतन मनको स्तरमा ल्याउन खासै कठिन हुँदैन ।

दोस्रो गहन कारण : यसमा बाल्यकालका स्मृतिहरू संगृहीत हुन्छन् । बाल्यकालका स्मृतिहरूको चेतन मनभन्दा निकै तल गहिरो गरी गढेका हुन्छन् । मनको गहिराइमा रहेका यी स्मृतिमा व्यक्ति र वातावरणबीचको संघर्ष नभई आमा र बच्चाबीचको संघर्ष लुकेको हुन्छ । बच्चा र वयस्कबीचको संघर्ष लुकेको हुन्छ । यहाँ व्यक्ति, व्यक्तिबीचको द्वन्द्व लुकेको हुन्छ ।

यही संघर्ष र द्वन्द्व नै उपचार असम्भव भएका मानसिक रोगको कारण बन्छ । आधुनिक चिकित्सा पद्धतिले शारीरिक तथा मानसिक रोगका लागि बाल्यकालका कष्ट र संघर्षलाई प्रमुख कारण मानेको छ ।

तर, यसको उपचारका लागि भने मनोविश्लेषणसँगै अन्य पद्धतिको पनि आवश्यकता छ । अवचेतनको अध्ययन गरेर उपचार गरिने पद्धति बालबालिकामा लागू गर्न सकिँदैन । वयस्कमा यो पद्धति अत्यधिक प्रयोग गरिन्छ ।

तर, बालबालिकामा उनीहरूको बाल्य प्रवृत्तिका कारण यो विधि उपयोगी हुँदैन । किनभने कुनै पनि बच्चालाई आफ्नो शैशव याद गर्नुभन्दा बाँच्न सहज हुन्छ । अथवा यसो पनि भन्न सकिन्छ, ‘कुनै पनि बच्चाले आफ्नो शैशव याद गर्दैन । बरू शैशव बाँच्छ ।’

त्यसैले बालबालिकाको मनोविश्लेषण गर्नुको सट्टा उनीहरूलाई मानसिक दृष्टिबाट अवलोकन गर्नु उपयुक्त हुन सक्छ । बालबालिकामाथि मानसिक दृष्टिबाट अवलोकन गरिरहृयो भने उनीहरू आफ्नो सामाजिक वातावरण र वयस्कसँग कस्तो द्वन्द्व र संघर्षबाट गुजि्ररहेका छन् भनेर थाहा पाउन सकिन्छ । उनीहरू आफ्नो विकासको प्रक्रियामा के कस्ता बाधासँग जुधिरहेका छन् भनेर थाहा पाउन सकिन्छ ।

जन्मनेबित्तिकै बालबालिका आफूलाई आफूभन्दा कैयौं गुणा ठूला र शक्तिशाली मानिससँगको द्वन्द्वमा संलग्न भएको फेला पार्छन्

यो प्रक्रियाले स्पष्ट रूपमा मनोविश्लेषणका सिद्धान्त र पद्धतिभन्दा फरक दृष्टिले बालबालिकाको सामाजिक परिवेश अवलोकन गर्ने नयाँ बाटोमा हामीलाई लैजानेछ । यो मनोरोग पत्ता लगाउने तरिका होइन । मनोरोग ठीक पार्ने तरिका पनि होइन ।

यो तरिका त बालबालिकाको मानसिक जीवनको घेरा पहिल्याउने तरिका हो । उनीहरूको मानसिक जीवनको चौघेरामा मानव जीवनको विस्तार गर्ने तरिका हो । उनीहरूको मन निर्माणको प्रक्रिया बुझ्ने माध्यम हो । उनीहरूको विकासको प्रक्रिया अवलोकन गर्ने माध्यम हो ।

जन्मपछि विकसित हुँदै गएको मानिस आफ्नो सम्पूर्ण जीवनमा व्यावहारिक समस्या मात्र ग्रहण गर्छ । चारैतिर समस्याले घेरिन्छ । बालबालिकामाथिको यो अवलोकनको प्रक्रियाले उनीहरू कसरी समस्यामा पर्छन्, कसरी उनीहरू संघर्षमा खरो उत्रिन्छन् भन्ने थाहा पाउन मद्दत गर्नेछ ।

मानवरूपी मनको साहसिक कामबारे बयान गर्ने मानव इतिहासका पानामा अझै पनि बालबालिकाबारे लेखिनै बाँकी छ । पढिन बाँकी छ । बालबालिकाको संवेदनशीलताले जीवनको सुरूआतमै विभिन्न बाधा, अड्चनको सामना गर्नुपर्छ । जन्मनेबित्तिकै बालबालिका आफूलाई आफूभन्दा कैयौं गुणा ठूला र शक्तिशाली मानिससँगको द्वन्द्वमा संलग्न भएको फेला पार्छन् । असहाय अवस्थामा जन्मने बालबालिका अचानक आफूलाई संघर्षको कठोर मैदानमा फेला पार्छन् ।

यी ठूला मानिस भनेका तिनै हुन्, जो बालबालिकाबारे पर्याप्त नजानेर, नबुझेर उनीहरूमाथि आफ्नो स्वामित्व स्थापित गर्छन् । बालबालिकाको सुकुमार आत्मिक अस्तित्वमाथि उथलपुथल मच्चाउँछन् । भर्खरै पृथ्वीमा अवतरित बालबालिकामाथि अपरिचित कष्टको भारी बोकाउँछन् । जसका कारण बालबालिकाको मनमा आफू कमजोर छु भन्ने हीनभावना गहिरोसँग टाँसिन्छ । जीवनको सुरूवातमै आफूप्रति हीनताबोध हुनु प्रकृतिको विपरीत हो ।

बालमनमा समग्र मानवताका सामान्यदेखि जटिल भनिएका मानसिक समस्यालाई समाधान गर्न सक्ने शक्ति छ । ती समस्या उत्पन्न नै हुन नदिने बाटो छ । यो शक्ति र बाटो भनेको बालमनमा प्रभाव पार्ने द्वन्द्व रोक्नु हो । बालबालिकाको मानसिक तथा शारीरिक विकासमा उत्पन्न हुने बाधा र व्यवधानलाई रोक्नु हो । बालमनमा प्रभाव पार्ने र प्रदूषित बनाउने यस्ता द्वन्द्व, बाधा, व्यवधान रोक्न सकिए समग्र मानवतालाई मानसिक रोगबाट रोक्न सकिन्छ । मानव मनमा रहने नैतिक कुसामाज्यबाट मानवतालाई मुक्त गर्न सकिन्छ ।

यसका लागि बालबालिकाको शैशवकालदेखि शिक्षा पद्धतिसम्म सुधार गर्नु आवश्यक छ । विशेषगरी वयस्कमा बालबालिकाप्रति जागरूकता ल्याउनु आवश्यक छ । बालबालिकाप्रति वयस्कको चेतन, अवचेतन मनमा रहेको गलत दृष्टिकोण हटाउनु आवश्यक छ । वयस्कलाई बालबालिका बुझ्न र महसुस गर्न सिकाउनु जरुरी छ ।

(सागर चन्दको अनुवादमा प्रकाशित शैक्षिक दार्शनिक मारिया मन्टेसरीको विश्वप्रसिद्ध पुस्तक ‘सिक्रेट अफ चाइल्डहुल्ड’को अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment