+
+
Shares

इन्द्रेणीमा रमेश र कल्पना दोस्रोपटक आमने-सामने

रमेश भन्छन् : अब लामो समय दोहोरी गाउँदिन

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १७ गते १३:२९

पब्लिक स्पिकरका रुपमा परिचित झापाली युवा रमेश प्रसाई‌ं र लोकगायिका कल्पना दाहाल अहिले ब्यापक चर्चामा छन् । उनीहरुले इन्द्रणीमा गाएको दोहोरीले तहल्का मात्रै पिटेन, बजारमा उनीहरुको निकटतालाई लिएर नानाथरि अनुमानहरु लगाईए ।

तर, सबै अनुमानलाई चिर्दै रमेश प्रसाईंले अर्कै युवतीसँग बिहे गर्न लागेका छन् । समाजसेवामा संलग्न आफूजस्तै दृष्टिविहीन युवती नन्दा सिंहसँग उनले बिहे गर्न लागेको खबर हिजो मात्रै सार्वजनिक भएको थियो । र, हिजै रमेश र कल्पनाबीच इन्द्रेणीमा भएको दोस्रो दोहोरी भिडन्त पनि सार्वजनिक भएको छ । लोकदोहोरीप्रेमी र रमेश-कल्पनाका फ्यानहरुका लागि यो एउटा मज्जाको खुराक हो ।

दोस्रो भिडन्त पनि पहिलोकै निरन्तरताका रुपमा छ । उनीहरु दुवैले उही शैलीमा एक-अर्काको प्रशंसामा शब्द खर्चेका छन् र मायापिरतीको कुरा गरेका छन् । दोहोरीको मर्म उस्तै भएर होला, पहिलोले जति दर्शकलाई लठ्याएको थियो, दोस्रोले त्यति नसक्ला । यद्यपि, भिडियोको भ्यूज आक्रामक छ । अपलोड भएको केही घन्टामै ट्रेन्डिङमा अगाडि आइसकेको यो भिडियोलाई अहिलेसम्म झण्डै ७ लाखले हेरेका छन् भने ८ हजारभन्दा बढी कमेन्ट आएका छन् ।

रमेशको बिहे तय भएपछि दोहोरीमा उनीहरु के-कसरी प्रस्तुत होलान् भन्ने कौतुहल थियो । तर, वास्तविक जीवनमा आएको नयाँ मोडलाई रमेशले दोहोरीमा प्रवेश गराएनन् । कार्यक्रमको अन्त्यसम्म पनि रमेशको विवाहलाई लिएर कुनै चर्चा भएन ।

धेरै दर्शकले रमेश र कल्पनालाई वास्तविक जीवनको जोडीका रुपमा हेर्न चाहेका थिए । यद्यपि, रमेश ३ वर्षदेखि नन्दासँग प्रेममा डुबुल्की मारिरहेका रहेछन् ।

अनलाइनखबरसँगको एक कुराकानीमा रमेशले जन्म, मृत्यू र विवाह ‘माथिबाटै’ तय भएका हून्छन् भन्नेमा आफूले विश्वास गर्ने बताएका थिए ।

इन्द्रेणी दोहोरीमा कल्पनाले रमेशप्रति आफ्नो झुकाव देखाउन कुनै कसर छोडिनन् । उनले बनाएका केही तुक्काहरु यस्ता छन् :

सातै जुनी तपस्या र पर्छ मन्दिर धाउन
तिमीजस्तो सच्चा अनि इमान्दारी पाउन
गर्व गर्छु तिम्रो साथ पाएमा
है सानु पापै लाग्छ छुटाउनी आएमा

०००

यो साल बिहे भएन भने अर्को हिँउदो आउला
भाग्यमानी रैछु भने मैले तिमलाई पाउँला
अब रमेश नबस टोलार
हैसानु आमालाई नि ल्याकीछु बोला’र

०००

बरु झर्ला आकाशको जून फाट्न सक्छ धर्ती
मेरो माया हराउँदैन रमेश तिमी प्रति
तिम्रै हातको सिरानी गर्न पाउँ
सँगै जिउन सँगसँगै मर्न पाउँ

०००

दर्शकले नि गीत नसुनि मन पराका हैनन्
कोइले कोइलाई धोका देको हेर्न चाहँदैनन्
शंकै छैन म तिम्री प्यारी
गरौं अब बिहेको तयारी

०००

मैेल तिमलाई पाको दिन त जित्थेँ ठूलै बाजी
मेरो पनि घरपरिवार भाछन् सबैराजी
भन्थ्यौ छोरा जन्माइदेउ खुबभाको
मेरो दिमाग तिम्रोझैं रुप भाको

अब दोहोरी गाउँदिन : रमेश

कार्यक्रमको अन्त्यमा रमेशले अब लामो समय आफूले दोहोरी गीत नगाउने घोषणा गरे । दोहोरी आफ्नो ‘फिल्ड’ नै नभएको उनको भनाइ छ ।

‘दोहोरी मेरो कर्मभूमि होइन, म यहाँ पाहुना वा पर्यटक मात्र हुँ, के छ भनेर घुम्दै आएको’ उनले भने, ‘मैले त यही इन्द्रेणीको स्टेजबाट नेकपा र कांग्रेसका नेताहरुलाई डाकेर बीपी कोइराला र मदन भण्डारीको याद दिलाउनु छ । फाटेका मनहरु सिलाउनु छ । विप्लव र अन्य तत्वहरुको असन्तुष्टिका कारणहरु खोज्नुछ । ललितानिवासको जग्गा खोज्नु छ । दोहोरी त मेरो सोख मात्र हो । कल्पनाजीको र मेरो गायन मिल्यो, रसायन मिल्यो । यो संयोजनका लागि कृष्ण (कँडेल) दाईलाई धन्यवाद । म अब लामो समय दोहोरी नगाउने घोषणा गर्न चाहन्छु ।’

प्रखर वक्ताको छवि बनाएका रमेश ‘इन्द्रणी बैठक’ नाममा टक शो चलाउने योजनामा छन् । रमेश र नन्दाबीच २२ मंसिरमा विवाह हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?