Comments Add Comment

यस कारण गर्दैछन् चिनियाँ रक्षामन्त्रीले एसियाली मुलुकको भ्रमण

फाइल तस्वीर

१७ मंसिर काठमाडौं । नेपालको एकदिने वर्किङ भ्रमण सकेर चिनियाँ रक्षामन्त्री वेई फेङ्हे सिधै अर्काे दक्षिण एसियाली मुलुक पाकिस्तान पुगे । त्यहाँ उनले चीन र पाकिस्तानबीच सैन्य सहकार्य बढाउने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर गरे ।

रक्षामन्त्री वेई बंगलादेश जाने कार्यक्रम तय भए पनि तत्कालका लागि भ्रमण स्थगित भयो । तर, उनी छिट्टै बंगलादेश भ्रमणमा जाने छन् ।

रक्षामन्त्री वेईको भ्रमणले के स्पष्ट सन्देश दिएको छ भने चीनको अहिलेको मिसन दक्षिण एसियाली मुलुकहरुसँगको सैन्य सहकार्यलाई कसिलो बनाउनु हो ।

अन्य केही विषयमध्ये चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणको महत्वपूर्ण उद्देश्य सैन्य सहकार्यलाई कसिलो बनाउनु थियो ।

आइतबार एक दिने नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्रीले सबैभन्दा बढी समय नेपाली सेनासँगको भेटवार्तामा बिताए ।

आखिर कोभिड–१९ को महामारीकै समयमा चीनले दक्षिण एसियाली मुलुकहरुसँग किन सैन्य सहकार्य बढाउँदै लगेको छ ?

यसका पछाडि यस क्षेत्रमा पछिल्लो सात महिनामा विकास भएका केही घट्नाक्रमहरु कारकका रुपमा रहेका छन् ।

गत जुन महिनादेखि भारत र चीनका बीचमा गलवान उपत्यकामा सैन्य तनावको अवस्था छ । दुवै देशका सैन्य अधिकारीका बीचमा दर्जनौंपटक वार्ता भए पनि सहमतिको कुनै सम्भावना देखिएको छैन ।

सो द्वन्द्वका सम्बन्धमा अहिलेसम्म दुवै मुलुकले दक्षिण एसियाका साना मुलुकलाई आफूलाई समर्थन गर्न औपचारिकरुपमा आग्रह गरेका छैनन् । तर, अप्रत्यक्षरुपमा चाहिँ समर्थन खोजिरहेका छन् । तर, भोलि युद्धको नै अवस्था आयो भने दुवै मुलुकले दक्षिण एसियाली मुलुकलाई आफूलाई समर्थन गर्नका लागि दबाव दिनेछन् ।

त्यसैले, अहिलेको भ्रमणको महत्वपूर्ण उद्देश्य यही हो । नेपालमा होस् अथवा पाकिस्तानमा चिनियाँ पक्षले क्षेत्रीय सुरक्षाको विषय उठाएको छ । नेपाल र पाकिस्तान दुवै मुलुकका अधिकारीहरुसँगको भेटपछि चिनियाँ सञ्चारमाध्यमले जोडका साथ क्षेत्रीय र अन्तर्राष्ट्रिय अवस्थाका बारेमा कुराकानी भएको उल्लेख गरेका छन् ।

यसबीचमा चीनलाई झस्काउने अर्काे महत्वपूर्ण घटनाक्रम चाहिँ भारत र अमेरिकाका बीचमा नोभेम्बरको पहिलो साता भएको रक्षा सम्झौता हो, जसलाई बेका सम्झौताको नामले चिनिन्छ ।

सो सम्झौताअनुसार दुवै मुलुकले रक्षासम्बन्धी महत्वपूर्ण सूचना र तस्वीरहरुको आदान–प्रदान गर्दछन् । सो सम्झौतासँगै भारत र अमेरिका अन्य विभिन्न विषयमा नजिकिए ।

यसले चीन झस्किएको छ र कतै दक्षिण एसियाली मुलुकहरु पनि सो एलायन्समा तानिने त होइनन् भन्ने भय छ । यससँगै जोडिएको अर्काे विषय इन्डोप्यासिफिक रणनीति हो । नोभेम्बरको पहिलो साता एसियाली मुलुकको भ्रमणमा आएमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले सो रणनीतिको पक्षमा लाग्न आग्रह गरे ।

आइपिएसले चिनिने सो रणनीतिलाई चीनले आफू लक्षित भएको भन्दै त्यसमा नलाग्न साना मुलुकहरुलाई आग्रह गरिरहेको छ ।

गत वर्ष चिनियाँ राष्ट्रपति सि जिनपिङ भन्दा अगाडि नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्रीले सो रणनीतिको सम्बन्धमा नेपाली नेताहरुसँग चासो राखेका थिए ।

अमेरिकामा नयाँ राष्ट्रपतिमा निर्वाचित जो वाइडेनले पनि सो रणनीतिलाई अगाडि बढाउने घोषणा गरेका छन् । त्यसैले एसियाली मुलुकहरु सो रणनीतिमा सहभागी नहोउन् भन्ने चिनियाँ चाहना यी मुलुकहरुमा देखिन्छ ।

त्यसैगरी दक्षिण एसियाली मुलुकमा उहीगुर मुस्लिमको पक्षमा भइरहेका प्रर्दशन र भविष्मा हुन सक्ने प्रर्दशन रोक्न आग्रह गर्नु पनि चिनियाँ रक्षामन्त्रीको भ्रमणको उद्देश्य हो ।

नेपाल भ्रमणको समयमा चिनियाँ रक्षामन्त्रीले दुई देशका बीचमा हुम्लालगायतका जिल्लामा चीनले गरेको सीमा अतिक्रमण, नेपाली सेनासँग सहकार्य बढाउने, पछिल्लो दिनमा काठमाडौंमा भइरहेका प्रदर्शनहरु लगायतका विषयमा नेपाली उच्च नेताहरुसँग छलफल गरेका थिए ।

यो पनि पढ्नुहोस चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा दुई घण्टा बिताउनुको अर्थ

यति मात्र होइन, उसले नेपाली सेनासँगको सहकार्यलाई अझ सुदृढ बनाउन चाहेको सम्बन्धमा सेनाको नेतृत्वदेखि राष्ट्रपतिसँग कुराकानी गरेका थिए ।

चीनले स्पष्टरुपमा नै नेपाली सेनासँगको सम्बन्ध सुदृढ बनाउँदा चीनविरोधी गतिविधि नियन्त्रण हुने र आफ्नो सीमानाको रक्षा हुने बताइरहेको छ । तिब्बतको शान्ति र स्थायित्वका लागि नेपाली सेनासँगको सम्बन्धलाई चीनले विशेष चासो दिइरहेको छ ।

पछिल्ला विभिन्न घटनाक्रमका कारण नेपालमा आफूविरोधी गतिविधि बढ्ने हो कि भन्ने आशंका चीनको देखिन्छ । पछिल्लोपटक नेपालमा रहेका मुस्लिमहरुले चीनको उहिगुर मुस्लिमको पक्षमा प्रदर्शन गरिरहेका छन् ।

नेपालसँग मात्र होइन, अन्य मुलुकहरुसँग पनि चीनले सैन्य सहकार्यलाई कसिलो बनाउँदै लगेको देखिन्छ । काठमाडौंबाट पाकिस्तान पुगेका चिनियाँ रक्षामन्त्री वेई फेङ्हेले पाकिस्तानसँग सैन्य सहकार्य बढाउने सम्बन्धमा एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

त्यहाँ चिनियाँ रक्षामन्त्रीले पाकिस्तानका सेना प्रमुख जावेद बजवासँग दुई देशका बीचमा सैन्य सहकार्यलाई थप कसिलो बनाउने सम्बन्धमा छलफल गरेका थिए । सो बैठकमा पारस्परिक हित, क्षेत्रय सुरक्षा र दुईपक्षीय सैन्य सहकार्यका सम्बन्धमा लामो कुराकानी भएको थियो ।

साथै, दुई सेनाको बीचमा चाइना–पाकिस्तान आर्थिक करिडोरको विषयमा पनि विस्तृतमा कुराकानी भएको थियो ।

चीनको दबावमा नै पाकिस्तानले सो करिडोर निर्माणको जिम्मा पाकिस्तान सेनालाई दिनेगरी कानुन संशोधनको तयारी गरिरहेको छ । पाकिस्तानमा हुन लागेको कानुन संशोधनको व्यापक आलोचना भइरहेको छ ।

चिनियाँ रक्षामन्त्री बंगलादेश पनि जाने तयारी थियो । तर, अन्तिम समयमा आएर रद्द गरिएको छ । तर, यस अगाडि नै बंगलादेश चीनको एक महत्वपूर्ण रक्षा साझेदार हो । बंगलादेश सेनाले आफूलाई चाहिले सैन्य सामाग्री चीनबाट खरिद गर्दै आएको छ ।

अर्काे दक्षिण एसियाली मलुक श्रीलंकासँगको सैन्य सहकार्यलाई पनि चीनले विशेष जोड दिइरहेको छ । पछिल्लो समयमा चिनियाँ सैन्य अधिकारीले श्रीलंकाको भ्रमण गरिरहेका छन् ।

दक्षिण एसियाली मुलुकको भ्रमणमा आउनुभन्दा पहिला चिनियाँ रक्षामन्त्रीले विभिन्न दक्षिणपूर्वी एसियाली मुलुकहरुको भ्रमण गरेका थिए ।

अहिलेको भ्रमणलाई केही समय पहिला चीनको पहलमा भएको नेपाल, बंगलादेश,श्रीलंका र पाकिस्तानको सामूहिक बैठकलाई पनि हेर्नुपर्ने हुन्छ । दि फाइभ पार्टीज नामाकरण दिइएको सो बैठकमा कोभिड–१९, वेल्ट एण्ड रोड लगायतका अन्य क्षेत्रिय र अन्तराष्ट्रिय विषयहरुमा कुराकानी भएको थियो ।

चार महिना अगाडि पनि चीनको नेृतत्वमा यस्तै बैठक भएको थियो । त्यसैले पछिल्लो समयमा विकसित क्षेत्रिय र अन्तराष्ट्रिय घटनाक्रमका कारण उत्पन्न हुने सुरक्षा चुनौतीलाई सम्बोधन गर्न चिनियाँ रक्षामन्त्री एसिया भ्रमणमा निस्केका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment